Comments Add Comment

सकियो थरुहट सम्मेलन, लक्ष्मण थारुको नेतृत्वमा मोर्चा गठन

९ भदौ, कैलाली । १५ बुँदे टीकापुर घोषणापत्र जारी गर्दै थरुहट थारुवान राष्ट्रिय सम्मेलन सकिएको छ । सम्मेलनले लक्ष्मण थारुको नेतृत्वमा ५१ सदस्यीय थरुहट थारुवान राष्ट्रिय मोर्चा समेत गठन गरेको छ

टीकापुरमा ३ दिनसम्म चलेको भेलाले सम्मेलनले तराई मधेस आन्दोलनका क्रममा भएका घटनाबारे छानविन गर्न बनेको गिरिशचन्द्र लाल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको मोर्चाका प्रवक्ता मीनराज चौधरीले जानकारी दिए ।

७ भदौ २०७२ का दिन कर्फ्यू लागेको अवस्थामा थारु समुदायको घर लगायतका भौतिक संरचनामा आगजनी गर्नेलाई कानूनी कारबाही गर्न, विभिन्न समयमा आफूहरुसँग भएको सहमति कार्यान्वयन गर्न पनि माग गरेको छ । यसैगरी अहिलेको ७ प्रदेशको संरचना नमान्ने उद्घोष गर्दै सम्मेलनमा पहिचान सहितको १० प्लेस १ प्रदेश बनाएर थरुहट थारुवान स्वायत्त प्रदेश सीमांकन र नामांकन गरिनुपर्ने माग गरेको प्रवक्ता चौधरीले बताए ।

थरुहट शहीद परिवार, घाइते, राजबन्दी तथा परिवारको भरणपोषण तथा आश्रित बालबालिकाको शिक्षादीक्षाका लागि मुठीदान अभियान चलाउने घोषणा पत्रमा उल्लेख छ ।
सम्मेलनले ३ चरणको आन्दोलनको कार्यदिशा समेत तय गरेको छ । पहिलो चरणअन्तर्गत तराई जिल्लामा प्रचारात्मक तथा संगठन विस्तारका कार्यक्रम ल्याइनेछ भने दोसो चरणमा कोणसभा, र्‍याली, जनप्रदर्शनका कार्यक्रम हुनेछ ।

मोर्चाले संविधान जारी भएको असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने जनाएको छ । आफूहरुको असहमति रहेको संविधानका धारा र उपधारालाई जलाएर कालो दिन मनाउने र थरुहट युवा दस्ता सार्वजनिक गर्ने प्रवक्ता चौधरीले बताए ।

संयोजक थारु टीकापुर घटनाको अभियोगमा ४२ महिना जेल जीवन बिताएर छुटेका व्यक्ति हुन् । उनीलगायत २७ जनाले आफूहरूमाथि झोटो मुद्दा लगाएको भन्दै जिल्ला अदालत कैलालीको फैसलाविरुद्ध उच्च अदालतमा रिट समेत दायर गरेका छन् भने सांसद रेशम चौधरी जेलमा छन् ।

थरुहट आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप हुँदा ७ भदौ २०७२ मा ८ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो भने त्यसको भोलिपल्ट भदौ ८ गते कर्फ्यू जारी रहेकै अवस्थामा थारु समुदायका ८८ वटा घर, पसल लगायतका संरचनामा आगजनी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment