Comments Add Comment

नेकपा सांसदले भने : चितवनको ‘जात्रा’मा श्रम र गृह मन्त्रालय दोषी

९ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गजेन्द्रबहादुर महतले चितवनमा सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई जात्राको संज्ञा दिएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले चितवनमा चलेको ‘जात्रा’बारे श्रम मन्त्रालय र गृह मन्त्रालय बढी सचेत हुनुपर्ने पनि बताए । ‘यो जात्राका बारेमा सरकार गम्भीर हुनुपर्छ । त्यसमा पनि श्रम मन्त्रालय र गृह मन्त्रालय जिम्मेवार र गम्भीर हुनुपर्छ’ उनले भने ।

देशमा धेरै व्यक्ति बेरोजगार भएकाले चितवनमा भइरहेको प्रदर्शनमा प्रदर्शनकारीको संख्या बढेको सांसद महतको भनाइ छ । ‘श्रम मन्त्रालय अहिले रोजगारीमा जान पनि नदिने रोजगारी भएकालाई पनि फिर्ता ल्याएर बेरोजगार बनाइदिने । अनि रोजगारी दिन पनि नसक्ने । त्यसैले या हुलको जत्था जम्मा भएको छ,’ उनले भने ।

त्यस्तै गृह मन्त्रालयले सामान्य व्यक्तिको समस्या, गुनासो सम्बोधन नगर्दा पनि यो समस्या आएको उनलेल बताए । ‘गृह मन्त्रालयले जनताको मुद्दा हेर्दैन । हाम्रो गाउँका मान्छे कुखुरा च्यापेर धजा फूलचामल लिएर मन्दिर मन्दिरमा जान्छन् । शहरका मान्छे टीभी च्यानलमा पुग्छन् आफ्नो मुद्दा बोकेर । जसका कारण अहिले यो जात्रा भएको कुरा थाहा पाउनुपर्छ गृह मन्त्रालयले । यही कुरा श्रम मन्त्रालयले पनि थाहा पाउनुपर्छ,’ सांसद महतले भने ।

गृह मन्त्रालयले हेर्नुपर्ने मुद्दा नहेरेर नहेर्नु पर्ने मुद्दा हेरिरहेको पनि उनले आरोप लगाए । उमेर पुगेका युवक युवती होटलमा बसेको विषयमा निगरानी गर्ने गृह मन्त्रालयले सर्वसाधारणको जायज गुनासो सम्बोधन नगर्दा यो अवस्था आएको सांसद महतले बताए ।

‘हेर्नुपर्ने मुद्दा हेर्दैन नहेर्नु पर्ने मुद्दा हेर्छ, त्यसैले यो जात्रा बढी चलिरहेको छ । यो बारेमा गृह मन्त्रालय र श्रम मन्न्त्रालय चनाखो हुनुपर्छ । होइन भने यो मुद्दा कहाँसम्म पुग्छ म भन्न सक्दिन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment