Comments Add Comment

गोठालोबाट लखपति बनेका ‘इलामे राई’

९ भदौ, इलाम । झट्ट हेर्दा सामान्य जस्तो देखिने ‘इलामे राई’ लखपति बनि सकेका छन् । लेकको बसाइ, लगाएका कपडा र उनको हाउभाउले उनलाई हेर्ने जो कोहीले पनि सामान्य नै ठान्नु स्वाभाविक हो । तर, दुई वटा गाडी र दार्जलिङमा घर जोडिसकेका राई हेर्दा देखेजति सामान्य छैनन् ।

हुन त हाम्रो समाजमा राम्रो लगाउने र सामान्य अङ्ग्रेजी मिसाएर बोल्नेलाई इज्जत गरिन्छ । अनि ठूलै हैसियतको भन्ने ठानिन्छ । त्यसै भएर राईलाई नियाल्ने जो कोहीले पनि सामान्य ठान्ने गरेका छन् । अर्को कुरा त पैसाले हैसियत र इज्जत दिन्छ भन्ने मान्यता छ हाम्रो समाजमा ।

राईलाई हालसम्मको दुःख र संघर्षले नै यहाँसम्म ल्याएको छ । इलामको पुवामझुवामा जन्मिएका इलामे राईको वास्तविक नाम जगतबहादुर राई हो । तर, उनको यो नाम धेरैलाई थाहा छैन । धेरैले उनलाई इलामे राई नै भनेर चिन्छन् ।

घरमा दुःख भएपछि करीव १० वर्षकै उमेरदेखि अर्काको घरमा गोठालो बसेका राई विभिन्न ठाउँमा अर्काको काम गर्दागर्दै २०५३ सालबाट मात्र स्थायीरूपमा बसोबास गर्न थालेका हुन् । इलाम सूर्योदय नगरपालिका-१ को लामिधुरामा उनको स्थायी बसोबास छ । लेकको ठाउँमा गोठ पालेर बसेका उनी गाईको आम्दानीबाट नै लखपति बनेका हुन् ।

‘घरमा दुःख थियो, खान लाउन पनि पुग्दैनथ्यो, बाउले आलु व्यापार गर्थे तर १० रुपैयाँमा किनेको आलु आठ रुपैयाँमा बेच्थे, भारतसँगको सीमा मानेभञ्ज्याङबाट प्रतिमन १० रुपैयाँमा खरीद गरेको आलु इलामको चुरेघाँटीमा ८ रुपैयाँमा बिक्री भएपछि तनाव बढेको थियो, आफू त सानै थिएँ, बाउलाई यसो नगरौं भन्दा मानेनन् अनि घर छोडेर हिँडे,’ राईले हाँस्दै भने ।

घर छोडेपछि इलामको सुम्बेकमा पुगेका उनले वर्षको ६० रुपैयाँ पाउने गरी अर्काको घरमा गोठालो गरे । १२/१३ वर्षको उमेरमा गाईवस्तु दोइसकेपछि थला भकारा सोहोर्नु, घाँस काटेर ल्याउनु गर्दै उनको बिहानको कार्य सुरु हुन्थ्यो । दिउँसो पनि मेलाको काम, बेलुका पुनः गाई धन्दा नै गर्नुपर्ने राईले स्मरण गरे । अहिलेका बालबच्चालाई तुलना गर्दै राईले सो बेला आफ्नो मेहनत र दुःखका दिन सम्झिए । करीब दुई वर्ष त्यहाँ बसेपछि पुनः इलामको जस्बिरे भन्ने ठाउँमा सरेका थिए ।

उनले वर्षको १६० रुपैयाँमा गोठालो गरेका थिए । उनको दैनिकी यसैगरी सुरु भयो । करीब १५/१६ वर्षको उमेर भएपछि उनले त्यहाँ पनि छोड्ने निधो गरे । त्यसपछि नेपाल र भारतको सिमाना लामिधुरामा बसाइँ सरे । लेकको ठाउँ सिमसिम पानी परिरहने भए पनि त्यहीं भविष्य खोज्ने निधो गरेर त्यहाँका चुथ्रो फाँड्न सुरु गरे । हालको सूर्योदय नगरपालिका-१ मा पर्ने लामिधुरामा उनले गोठ पालेर नै भविष्य खोज्ने निधो गरे ।

२०५३ सालमा त्यहाँ पुग्दा कुनै बस्ती नभएको उनले बताए । उनले त्यहीं विवाह गरेर घरजम सुरु गरे । पर्यटकीय क्षेत्र र पर्यटकबाट पनि आम्दानी लिन सकिन्छ भन्ने कसैलाई सोच नै नभएको उनी बताउँछन् । लामिधुरा पुगेका राईले आफ्नै जेठीसासूसँग ३ हजार रुपैयाँ ऋण लिएर चारमाउ गाई खरीद गरे । त्यहाँबाट तिनै गाईको सन्तान बढाउँदै लगे । बाच्छाबाच्छी हुर्काउँदै सन्तान फैलिएर करीब २३ माउ गाईसमेत पालेका उनले सो बेला मज्जाले कमाई भएको स्मरण गरे ।

भारतसँग सीमा जोडिएको मानेभञ्ज्याङ इलामको व्यापारिक केन्द्र हो । भारतका व्यापारीले चामल, नून, तेल चिनीलगायत दैनिक उपभोग्य वस्तु सो बजारमा बिक्रीका लागि राख्थे । नेपालतर्फ उत्पादन भएको तरकारी सो बजारमा बिक्री हुन्थ्यो । तरकारी मात्र हैन नेपालको तर्फबाट अलैाची, अदुवा, कुचोलगायत पिठ्यूँ र घोडामा बोकाएर त्यहाँ बिक्रीका लागि लगिन्थ्यो । नेपालका बजारमा भन्दा बढी मूल्य त्यहाँका व्यापारीले दिने भएपछि इलामका विभिन्न क्षेत्रमा उत्पादन भएको बस्तु त्यहाँ पुर्‍याइन्थ्यो ।

राईले पनि उत्पादन भएको घ्यू सोही बजारमा पुर्‍याउँथे । उ बेला छुर्पी खासै बिक्दैनथ्यो । मोही फटाएर बनाएको सेर्गेम भने राम्रो मूल्यमा बिक्री हुन्थ्यो । पछिपछि गएर छुर्पी पनि बिक्न थाल्यो । उनले पनि घरमा नै डेरी सञ्चालन गरे । डेरीमा दूध प्रशोधन हुन थालेपछि सहज पनि हुन थाल्यो । राई परिवारले गाई पालेर घ्यू र छुर्पी बेचेर नै आफ्नो गुजारा चलाउन थाल्यो । आफूले औपचारिक शिक्षा नलिएको बताउने राई हिसाबकिताब गर्न अझै पनि क्यालकुलेटर नचाहिने बताए । तर, गोठालो गर्दा नै काठमा रातो माटोको धुलो छरेर त्यसमा नै औालाले क, ख सिकेको उनले बताए । लामो समयमा मात्र ‘घ’ लेख्न सिकेका उनले हिसाब पनि उसैगरी सिकेको बताए ।

आफ्नो गुजारा जे जसरी चले पनि एक छोरा र एक छोरीलाई राम्रै शिक्षा दिएको उनले बताए । हाल उनका दुवै छोराछोरी जागिरे भइसकेका छन् । छोरा भारतीय सेनामा छन् भने छोरी पनि दार्जलिङमा नोकरी गर्छिन् ।

औपचारिक शिक्षाको महत्व हाल पनि धेरै शिक्षितलाई नहुन सक्छ । तर, उनी औपचारिक शिक्षाको महत्व अरुलाई राम्रोसाग बयान गर्छन् । शिक्षाले नै मानिसलाई विश्व चिनाएको, नयाँ नयाँ कुराको खोजी र आविष्कार भएको भन्ने राईले आफ्ना सन्तानलाई पनि राम्रो शिक्षा गोठमा गाई पालेर नै दिएको बताए । लेकमा अन्य खेती खासै हुँदैनथ्यो उ बेला । आजकल पनि उनको पेसा उही नै हो । तर, पहिला जस्तो धेरै गाई छैनन् राईको गोठमा । पाँच माउ मात्र गाई पालेका छन् । तर, उनले अर्को व्यवसाय भने थपेका छन् ।

राई बसेको लामिधुरा विश्व प्रख्यात पर्यटकीयस्थल सन्दकपुर जाने मूल सडक हो । उनले त्यहाँ आएका पर्यटकलाई सन्दकपुरसम्म लैजाने काम गर्छन् । पर्यटक घुमाउनकै लागि दुई वटा गाडी जोडेको उनले बताए । मौसममा दुई वटा गाडी खाली हुँदैनन् राईका । राईकी श्रीमतीले पर्यटकलाई नै खान र बस्नका लागि होटल र लज सञ्चालन गरेकी छिन् ।

होटल, लज, पर्यटन व्यवसायले गर्दा गाई घटाएको उनले बताए । गाई पाल्दा पनि बिहान बेलुका मात्र खट्नुपर्छ । गोठमा पालिएका गाई बिहान दोहिसकेपछि चरणमा जङ्गल पस्छन् । बेलुका भएपछि मात्र घर आउँछन् । बिहान बेलुका खोले दिन र दुहुन मात्र समय लाग्ने भएकाले केही गाई गोठमा अझै पनि राखेको उनले बताए ।

हाल उत्पादन भएको घ्यू प्रतिकिलो ५ सय ५० र छुर्पी प्रतिकिलो ९ सय देखि १ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनले बताए । राईले आफ्नो मात्र हैन अरुले उत्पादन गरेको घ्यू छुर्पी पनि खरीद गरेर बजार लगेर बेच्ने गर्छन् । पहिला सानो छँदा अर्काको घरमा गोठालो बसेको र हाल आफ्नो व्यवसाय सम्झिएर उनी खुशी देखिन्छन् । तर, दुःखका साथ परिश्रम गरे पैसा कमाउन विदेश जान नपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment