Comments Add Comment

होस्टेल एशोसिएसनमा पाठक समूहको प्यानल विजयी

९ भदौ, काठमाडौं । नेपाल होस्टेल एशोसिएसनको नयाँ नेतृत्वमा भक्ति पाठक समूह निर्वाचित भएको छ । काठमाडौँमा सम्पन्न सातौं वाषिर्क साधारणसभामा भएको निर्वाचनमा पाठक समूह विजयी भएको हो ।

पाठकका प्रतिस्पर्धी गोबिन्द गिरी मात्रै ३ मतको अन्तरले पराजित भए । निर्वाचन समितिका संयोजक सुवास कोइरालाका अनुसार कुल ६९२ जना मतदाता मध्ये ५४१ जनाले मतदान गरेका थिए । जसमा भक्ति पाठकले २६३ मत प्राप्त गरे भने गोबिन्द गिरीले २६० मत प्राप्त गरेका थिए ।

त्यसैगरी, वरिष्ट उपाध्यक्षमा अरुण पराजुली बिजयी भएका छन् । उनले केदार चम्लागाईलाई ४९ मत अन्तरले पराजित गरेका हुन् ।

महिला उपाध्यक्षमा ७३ मतान्तरले निवर्तमान कोषाध्यक्ष उर्मिला भट्टराई (बराल)ले ज्ञानु जोशीलाई पराजित गरेकी छिन् ।

महासचिवमा निवर्तमान काठमाडौँ जिल्ला अध्यक्ष रुपाली गुरागाईं (पौडेल)ले ६४ मतान्तरका साथ ललितपुरका निवर्तमान जिल्ला अध्यक्ष सुनिता बटाजुलाई पराजित गरेकी छन् ।

सचिवमा डण्डीप्रसाद गौतमले भीम भण्डारीलाई ५२ मत अन्तरले हराएका छन् भने कोषाध्यक्षमा पूजा जोशीले ६८ मतको अन्तरले बिभय पौडेललाई पराजित गरेकी छिन् ।

६ जना केन्द्रीय सदस्यहरुमा कल्पना आचार्य, राजकुमार केसी, घनश्याम रिसाल, गणेश आचार्य, राधिका घिमिरे र हरिप्रसाद भेटवाल रहेका छन् ।

नेपाल होस्टल एशोसिएसनमा नेपालभरका लगभग ७ सय होस्टेल सदस्य रहेका छन् । यसका काठमाडौं, ललितपुर, काभ्रे, चितवन र मोरङ जिल्ला समितिहरु समेत बिस्तार भइसकेको छ ।

सातौं अधिवेशनले केन्द्रीय कार्यसमितिमा जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहने गरी बिधान संशोधन प्रस्ताव समेत पास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment