Comments Add Comment

परिवार चिकित्सा : स्वस्थ्य र मधुर सम्बन्धका लागि

परिवारमा धेरैजना सदस्य एकसाथ बस्छन् । सबैको आ-आफ्नै मत, शैली, ढंग, बुद्धि हुन्छ । परिवारमा केही चलाख हुन्छन्, कोही सोझा । कोही सक्रिय हुन्छन्, कोही निस्क्रिय । कोही बुद्धिजीवि हुन्छन्, कोही मूर्ख । कसैले राम्रो आयआर्जन गर्छन् भने कसैले खर्च । यस किसिमको बेमेल हुनु समस्या होइन । यद्यपि यस्ता कुराले बेलाबखत परिवारको सन्तुलन बिग्रने गर्छ ।

पारिवारिक जीवन चलाउने क्रममा कतिपय मतभेद हुन्छ । झगडा पनि हुन्छ । त्यसैगरी परिवारका सदस्यबीच कतिपय कुरामा मतान्तर हुन्छ । उनीहरुमा खटपट आउँछ । यसरी परिवार नै समस्याग्रस्त भएपछि त्यहाँ रहेका सदस्यहरुको अनुहारमा खुसी छाउने कुरै भएन । उनीहरुको ऊर्जा पनि हराउँछ । यस्तो अवस्थामा परिवार चिकित्साको जरुरत पर्छ ।

परिवार र प्रणालीगत मनोचिकित्सालाई नै परिवार चिकित्सा भनिन्छ । परिवारका सदस्यमा एकअर्कालाई राम्ररी सम्झने र सहारा दिनका लागि परिवार चिकित्सा उपयोगी हुन्छ । फेमिली थेरापी परिवारका सदस्यालाई सुरक्षित रुपले आफ्नो विचार र भावना व्यक्त गर्ने एवं सम्झने, एकअर्काको अनुभव र मत बुझ्ने, एकअर्काको आवश्यक्ता र सम्मान सम्झने, परिवारलाई बलियो बनाउनका र उनीहरुको जीवनमा उपयोगी परिवर्तन ल्याउनका लागि आवश्यक हुन्छ ।

परिवार चिकित्सा 

मानौ परिवारका कुनै सदस्य जेल चलान भए । कुनै सदस्य दुर्घटना परे । कुनै सदस्य लागुऔषधमा फसे । यसैगरी आपसी झै-झगडा बढ्यो । यस्तो अवस्थामा परिवारका सबै सदस्य विक्षिप्त हुने गर्छन् । उनीहरुको पारिवारिक संरचना नै कमजोर हुन थाल्छ । हो, यही चरणमा परिवार चिकित्साको आवश्यकता पर्छ ।

फेमिली थेरापी अर्थात परिवार चिकित्सा मनोचिकित्साको एक प्रकार हो । यसमा परिवारका सदस्यवीच आपसी संवादबाट उनीहरुको झगडा र तनाव व्यवस्थापन गर्ने गरिन्छ ।

परिवारका सदस्यहरु एकआपसमा घुलनशील भएरै परिवार सुखमय बन्ने हो । उक्त सदस्यमध्ये कुनै एक जना मात्र खराब भए पनि परिवारको सन्तुलन बिग्रन्छ । परिवारका हरेक सदस्य परिवारका लागि उत्तिकै महत्वपूर्ण र विशेष हुन्छन् । उनीहरुले जीवनभर एकअर्काको साथ र सहयोगबाटै आफ्नो जीवन अगाडि बढाउँछन् ।

परिवारको सम्बन्ध सुमधुर हुनु भनेको परिवारको सदस्यवीच राम्रो तालमेल मिल्नु हो । उनीहरु भावनात्मक रुपमा एकाकार हुनु हो । यसका लागि उनीहरुमा मानसिक स्वास्थ्य पनि ठीक हुन जरुरी छ । आपसी द्वेष, इर्ष्या, दम्भ आदि यस्ता मानसिक विकार हुन्, जसले परिवारमा फाटो ल्याउँछ ।

परिवार चिकित्साको जरुरत त्यही बेला पर्छ, जब परिवारको सन्तुलन बिग्रन थाल्छ । कहिलेकाहीँ परिवारको कुनै सदस्यको कारण सम्पूर्ण परिवार नै विक्षिप्त बन्न पुग्छन् । यस्तो अवस्थामा पनि उनीहरुलाई कसरी एकढिक्का भएर अगाडि बढ्ने भन्ने बाटो पहिल्याउन परिवार चिकित्साको आवश्यक हुन्छ । जस्तो परिवारका कुनै सदस्यले कुनै गैरजिम्मेवारी काम गर्‍यो, परिवारको बदनाम गरायो यस्तो अवस्थामा परिवारलाई परिवार चिकित्साको आवश्यकता पर्छ । परिवारका सदस्यवीच तीव्र मनमुटाव भएमा, आपसी झगडा बढेमा, घरेलु हिंसा भएमा पनि परिवार चिकित्सा चाहिन्छ ।

परिवार चिकित्सा धेरै किसिमका हुन्छन् । स्ट्रक्चरल फेमिली थेरापी, स्ट्रेटेजिक फेमिली थेरापी, फङ्सनल फेमिली थेरापी, सिस्टमिक फेमिली थेरापी, न्यारेटिभ फेमिली थेरापी आदि । परिवार चिकित्साबारे बारे चिकित्सकले परिवारको अवलोकन गरेर, परिवारका सदस्यहरुको प्रवृत्ति औंल्याएर समस्या समाधानको बाटो पहिल्याउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment