Comments Add Comment

बैंकमा खाता खोल्न थाले ग्रामीण क्षेत्रका महिलाहरु

१२ भदौ, डोटी । शिखर नगरपालिका-५, धामीगाउँकी २५ वर्षीया ईश्वरी बिकका श्रीमान् खेमराज बिक रोजगारीको लागि भारतको मुम्बईमा छन् । खेमराजसँग ईश्वरीले ११ वर्ष पहिले १४ वर्षकै उमेरमा बिहे गरेकी थिइन् ।

उहिले खेमराजले आफुले कमाएको पैसा घर पठाउँदा कुनै व्यक्तिसँग पठाउँथे । आफू घर आउँदा उनले आफै पनि नगद बोकेर आउने गरेका थिए ।

दुःख गरी कमाएको पैसा आफूले बोकेर ल्याउँदा होस् वा अरु कसैसँग पठाउँदा, बाटोमा डाँका लाग्छन्, पैसा लुट्छन् भन्ने डर लागिरहन्थ्यो खेमराजलाई ।

अचेल भने खेमराज ढुक्कसँग पैसा पठाउँछन् । ईश्वरीले करिब एक वर्ष पहिले एभरेष्ट बैङ्कमा खाता खोलेपछि खेमराजले न त पैसा बोकेर ल्याउनु पर्छ न बाटोमा लुटिने डर छ । ‘पैसा खातामै पठाइरहनु हुन्छ अचेल, उहाँले चैते दशैंमा घर आउँदा पनि बोकेर ल्याउनु भएन,’ ईश्वरी भन्छिन्, ‘उहाँले पठाएको पैसा मलाई चाहिएको जति झिक्छु, बाँकी खातामै रहन्छ ।’

सोही गाउँकी ३० वर्षीया उषा बोहराले पनि बैङ्कमा खाता खोलेकी छन् । रोजगारीका लागि मलेसियामा रहेका उनका श्रीमान्ले मलेसियाबाट पैसा पठाउँदा खातामै पठाउँछन् । आईएमई गर्नु पर्ने, अर्काको खातामा पैसा मगाउनु पर्ने झण्झटबाट अहिले उषा मुक्त भएकी छिन् ।

ईश्वरी र उसाजस्तै ३५ वर्षीया पवित्रा बोहराले पनि बैङ्कमा खाता खोलेकी छिन् । पवित्राका श्रीमान्-श्रीमती खेतीपातीकै काममा व्यक्त हुन्छन् । तरकारी, कुखुरा-बाख्रा बिक्रीबाट आएको सानोतिनो कमाई घरखर्चबाट बचेपछि बैङ्क खातामा जम्मा गर्ने गरेका छन् उनीहरुले ।

बिगतको तुलनामा गाउँतिरका महिलाहरु बैङ्क खाता खोल्नतिर आकषिर्त भएका छन् । धामीगाउँमा रहेको ३० सदस्यीय महिला समूहमा सबैले बैङ्कमा खाता खोलेका छन् । ‘कुनै सदस्यको आफ्नो नाममा नभएर श्रीमानको नाममा होला, कुनैको आफ्नै नाममा होला’ समूहकी सदस्य पवित्रा बोहरा भन्छिन् ‘प्रत्येक घरका एक जनाको नाममा खाता छ ।’

सुरक्षित वैदेशिक रोजगार र बचतको बारेमा छलफल गर्नका लागि गठन भएको एकता सुरक्षित आप्रवासन समूह गठन भएपछि सवैले बैंक खाता खोलेको पवित्रा बताउँछिन् । उनले भनिन्, ‘करिब तीन वर्ष भयो हामीले समूह गठन गरेको, यसअघि गाउँभरीमा चार/पाँच जनाको मात्रै खाता थियो होला तर अहिले समूहका सबै सदस्यहरुको नाममा खाता छ ।’

कञ्चनपुरको निड्स नेपाल नामक गैरसरकारी संस्थाले बित्तीय साक्षरता सम्वन्धि अभिमूखीकरणमा बैंक खाताको महत्वको बारे जानकारी गराएपछि आफूहरुले खाता खोलेको समूहकी अध्यक्ष उषा बताउँछिन् । उनी थप्छिन्, ‘हामी मुख्यरुपमा सुरक्षित वैदेशिक रोजगारको विषयमा छलफल गर्ने गछौं । त्यसका साथसाथै वचतको बिषयमा पनि छलफल गर्ने गर्छौं ।’

नेपाल सरकारले प्रत्येक नागरिकको बैंक खाता खोल्न प्रोत्साहन गर्ने निजीसमेत लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment