Comments Add Comment

सौराहामा भवन निमार्ण सम्बन्धी नयाँ मापदण्ड

१२ भदौ, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले पर्यटकीय नगरी सौराहामा भवन निमार्ण सम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ ।

नगरपालिकाका अनुसार सौराहामा बन्ने भवन र रङ्ग एकै प्रकारका हुनेछन् । पर्यटन विकासको लागि नगरपालिकाले रचनात्मक कामको सुरुवात गरेको भन्दै व्यवसायीहरुले त्यसको स्वागत गरेका छन् । सौराहाको प्रकृति सौन्दर्यतालाई जोगाउन नगरपालिकाले व्यवसायीहरुको सहकार्यमा भवन निर्माण र रङ्गमा एकरुपता कायम गर्ने नीति ल्याएको नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए । ६ महिना अघि लागु गरिएको मापदण्डमा साढे २ तल्ला भन्दा माथि निर्माण गर्न नपाउने र सबै भवनहरूमा वातावरणमैत्री रंग लगाउन अनिवार्य गरिएको मेयर वनले बताए ।

भवन निर्माण मापदण्ड कार्यान्वयनको लागि नगरपालिकाले विहीबार सौराहाका व्यवसायीहरुसँग छलफल गरेको छ । सो कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र प्रदेशसभा सांसद कृष्णप्रसाद खनालको समेत सहभागिता रहेको थियो ।

सौराहामा करिब १२० वटा होटल र ८० वटा रेष्टुरेष्ट रहेका छन् । नगरपालिकाले होटल सञ्चालनको लागि बनाउने भवनको जग्गाको क्षेत्रफल र खुल्ला क्षेत्र समेत निर्धारण गरी १ देखि २ कठ्ठामा भवन बनाउदा ६० प्रतिशत खुल्ला क्षेत्र, २ देखि ४ कठ्ठामा भवन निर्माण गर्दा ५० प्रतिशत खुल्ला क्षेत्र र ४ कठ्ठा माथी भवन बनाउदा ४० प्रतिशत खुल्ला क्षेत्र हुनुपर्ने अनिवार्य गरेको छ । रेष्टुरेण्टको हकमा जग्गाको क्षेत्रफल ६ धुरदेखि एक कठ्ठासम्म ६० प्रतिशत खुल्ला क्षेत्र र १ कठ्ठा भन्दा माथी ५० प्रतिशत खुल्ला क्षेत्र हुनुपर्ने छ ।

कार्यक्रममा क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले निर्माण भइसकेका घरको सन्र्दभमा विज्ञ समूह बनाएर निकास निकाल्नु पर्ने बताए ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगानाले सौराहालाई जोगाउन नगरपालिकाले नविनतम कामको सुरुवात गरेको भन्दै व्यवसायीहरूले साथ दिनुपर्ने बताए ।

कार्यक्रममा उपमेयर विमला दुवाडी, चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भरतपुरका प्रमुख नारायण काफ्ले, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल, एसपी दानबहादुर मल्ल लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment