Comments Add Comment

नेपाली फुटबल टिमलाई बिदाइ, कुवेतविरुद्ध अंक खोस्ने नेपालको लक्ष्य

१३ भदौ, काठमाडौं । विश्वकप फुटबलको दोस्रो चरणअन्तर्गत कुवेतसँग खेल्ने नेपाली टिमलाई बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सादोबाटोमा आयोजित एक कार्यक्रमबीच आज खेलाडीलाई बिदाइ गरेको हो ।

बिदाइका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायत सातदोबाटो पुगेका थिए ।

बिदाइ कार्यक्रममा सदस्यसचिव सिलवालले खेलाडीलाई राष्ट्रका लागि जितेर आउन शुभकामना दिए । त्यस्तै, एन्फा अध्यक्ष शेर्पाले नेपालले कुवेतलाई पराजित गरे उचित पुरस्कार राशि खेलाडीलाई दिइने बताए । उनले भने, ‘हामी ऐतिहासिक दिनमा छौं । तपाईंंहरूले राम्रो नतिजा ल्याउनु हुन्छ भन्नेमा विश्वस्त छु । सबैले राम्रो खेलेर आउनु होला । कुवेतलाई जितेमा हामी पुरस्कारको घोषणा गर्नेछौं ।’

यता, प्रशिक्षक योहान कालिनले तयारी राम्रो भएको बताउँदै त्यसै अनुसारको नतिजा निकाल्ने दाबी गरे । उनले भने, ‘हामिले लामो समय अभ्यास गरेका छौं । यो अवधिमा राम्रो तयारी भएको छ । हामीले हाम्रो कमी–कमजोरीलाई सुधारेका छांै । कुवेतसँग केही महिनाअघि मैत्रीपूर्ण खेल खेलेका छौं । त्यसले पनि ऊर्जा थपेको छ ।’

योपटक नियमित कप्तान विराज महर्जन भने टिममा छैनन् । उनी फिटनेसकै कारणले टिम बाहिर रहेको हो या अरू कारण छन् ? भन्ने प्रश्नमा मुख्य प्रशिक्षक कालिनले भने, ‘विराज निकै राम्रा खेलाडी हुन् । तर योपटक उनलाई टिममा राख्न सकिएन । नयाँ खेलाडी निकै राम्रा छन् ।’
नेपाली फुटबल टिम आइतबार कुवेत प्रस्थान गर्ने छ । मुख्य प्रशिक्षक कालिनले बिहीबार २३ सदस्यीय नेपाली फुटबल टिमको घोषणा गरेका थिए ।

विश्वकप फुटबलको दोस्रो चरणमा नेपाल रहेको समूह ‘बी’ मा अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपे र कुवेत छन् । नेपालले कुवेतसँग उसकै भूमिमा भदौ १९ गते प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, २४ गते नेपालले चाइनिज ताइपेसँग उसैको भूमिमा खेल्दैछ ।

नेपाली फुटबल टिम

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, रजिन धिमाल ।

मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, सन्तोष तामाङ, सुनिल बल, अञ्जन विष्ट, हेमन गुरुङ, तेज तामाङ, रोहित चन्द र रवि पासवान ।

फरवार्ड : विमल घर्तिमगर, नवयुग श्रेष्ठ र अभिशेक रिजाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment