Comments Add Comment

नगर प्रमुखको विरोध प्रदर्शनलाई लिएर राजपा पर्सामा विवाद

१३ भदौ, वीरगञ्ज । वीरगञ्जमा नगर प्रमुखको विरोधमा प्रदर्शन गरेपछि राष्ट्रिय जनता पार्टी पर्सा भित्रको किचलो बाहिरिएको छ । विरोध प्रदर्शन पार्टीको आधिकारिक नभएको भनी अध्यक्ष मण्डलका पर्सा संयोजक जगदिश पटेलले विज्ञप्ती जारी गरेपछि आन्तरिक किचलो बाहिरिएको हो ।

बुधबार राजपा वीरगञ्ज महानगरपालिका कमिटिले वीरगञ्जमा वेथिति, अनियमितता र भ्रष्टाचार बढेको भन्दै नगर प्रमुखको विरोधमा प्रदर्शन गरेको थियो । पार्टीको झण्डा समेत प्रयोग भएको कार्यक्रम पार्टीको आधिकारिक कार्यक्रम नभएको भन्दै त्यसको भोलिपल्ट अध्यक्ष मण्डलका संयोजक जगदिश पटेलले विज्ञप्ती जारी गरे । चलानी नम्वर र पार्टीको छाप नलगाई जारी गरिएको विज्ञप्तीमा प्रदर्शन गैर राजनीतिक र भ्रामक भएको उल्लेख छ ।

शुक्रबार प्रदर्शन गर्ने पक्ष विज्ञप्ती नै पार्टीको आधिकारिक विज्ञप्ती नभएको भन्दै जिल्ला प्रशासन कार्यालय पुगेको छ । महासचिव राजेशमान सिंह, महानगरपालिका अध्यक्ष लियाकत अलि लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।

पार्टीको लेटर प्याड प्रयोग गरी जिल्ला संयोजक नरहेका जगदिश पटेललाई जिल्ला संयोजक भनि निजको किर्ते हस्ताक्षर प्रयोग गरी ज्ञापनपत्रकोबारेमा आधिकारिक नरहेको भनी विज्ञप्ती जारी गरिएको उनीहरुको भनाइ छ । पार्टीको छवि वदनाम गर्ने र जनतामा भ्रम सृजना गर्ने मनशायले अमर्यादित गतिविधि गरिएको बताउँदै ज्ञापनपत्रमा दोषी पत्ता लगाई कानुनी कारवाही गर्न उनीहरुले माग गरेका छन् ।

वीरगञ्ज महानगरपालिकाभित्र जन निर्वाचित प्रतिनिधि आईसकेपछि व्यापक भ्रष्टाचार तथा अनियमितता भईरहेको, अनावश्यक कर वृद्धि, छाडा चौपाया नियन्त्रण हुन नसकेको, कमसल र स्तरहीन विकासका कार्य, शिक्षा, स्वास्थ्य लगायतमा चरम लापरवाही भइरहेकोले त्यसलाई रोक्न दवावमुलक कार्यक्रम गरिएको राजपा नगर कमिटिले जनाएको छ । भदौ ७ गते बसेको महानगर स्तरीय बैठकको निर्णय अनुसार नै कार्यक्रम गरिएको दावी उसको छ । शुक्रबार बुझाईएको ज्ञापनपत्रमा पनि यी कुराहरु उल्लेख गरिएका छन् ।

महानगरपालिकाको टोलीसँगै ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका राजपाका महासचिव सिंहले महानगरपालिकाका जिम्मेवार व्यक्तिले नै हस्ताक्षर किर्ते गरेको आरोप लगाए । उनले सत्य तथ्य छानविन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताए । ‘पार्टी भित्र पनि कमीकमजोरी होलान, हाम्रो पार्टीमा दूधले नुहाएका मानिस छन् भनेर म भन्दिन ।’ उनले भने, ‘तर आधिकारिक व्यक्तिले विज्ञप्ति जारी गरेको छैन । पार्टीको लेटर प्याडबाट विज्ञप्ती जारी गरिएको छ । किर्ते हस्ताक्षर गरिएको छ । राजपाको विज्ञप्ति भनेर अरूले नै दावी गरेका छन् । मेल गरेका छन् । यसको छानवीन हुनुपर्छ ।’ प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले घटनाबारे अनुसन्धान गर्ने र हस्ताक्षर किर्ते गरेको पाईए कारबाही गर्ने आश्वासन दिए ।

जगदिश भन्छन्- विज्ञप्ती मैले नै जारी गरेको हुँ

प्रदर्शन गर्ने पक्षले विज्ञप्ती आधिकारिक नभएको दावी गरेपनि अध्यक्ष मण्डलका संयोजक जगदिश पटेलले भदौं १२ गते आफूले नै विज्ञप्ती जारी गरेको बताएका छन् । अहिले जिल्लामा आफू नै अध्यक्ष मण्डलको संयोजक रहेको बताउँदै उनले विज्ञप्तीको हस्ताक्षर पनि आफ्नो नै रहेको बताए ।

‘पार्टीमा आवद्ध भएपछि पार्टीको विधान अनुसार चल्नुपर्छ, जिल्लामा कुनै कार्यक्रम गर्नु छ भने जिल्ला कमिटिसँग सरसल्लाह हुनुपर्छ ।’ उनले भने, ‘त्यसो नगरी पार्टीको झण्डा प्रयोग गरी गैर राजनीतिक चरित्र प्रदर्शन गरेर कार्यक्रम गरियो, त्यसैले जनता भ्रममा नपरुन भनेर विज्ञप्ती जारी गरेको हुँ ।’

उनले पार्टीका कोहि व्यक्ति सहभागी हुँदैमा पार्टीको आधिकारिक कार्यक्रम नहुने बताए । आफू वीरगञ्जमै रहेको बताउँदै उनले पार्टीमा छलफल गरेर नै विज्ञप्ती जारी गरिएको जानकारी दिए ।

नेतृत्वकै लागि विवाद

६ वटा पार्टी मिलेर राजपाको गठन भएपनि तल्लो तहसम्म पार्टीको एकीकृत हुन सकेको छैन । मधेश केन्द्रित दल विगतमा छुट्टा छुट्टै रहँदा पनि आन्तरिक गुटबन्दीबाट ग्रस्त थिए । ६ पार्टी एउटै भएपछि एक अर्काको अस्तित्व स्वीकार्न नसक्दा समस्या उत्पन्न भएको राजपाका समर्थकहरु नै बताउँछन् ।

पर्सामा जगदिश पटेलसँगै, प्रेमबाबु पटेल, विरेन्द्र यादव, कृष्ण पटेल र रमेश पटेल अध्यक्ष मण्डलमा सदस्य छन् । चक्रिय प्रणालीमा संयोजक चुन्ने गरिन्छ । दुई दुई महिनामा संयोजक फेरिन्छन् । जगदिश पटेलको कार्यकाल सकिएपनि अध्यक्ष मण्डलका सदस्य ५ जना सदस्य मध्ये प्रेमबाबु र विरेन्द्र बाहेक तीन जनाले उनैलाई संयोजक स्वीकारेको राजपा पार्टी स्रोतले जनाएको छ ।

प्रजातान्त्रिक पद्धती नबुझेका मानिसहरुका कारण पर्सामा पार्टी बदनाम भईरहेको अध्यक्ष मण्डलका सदस्य एवं प्रदेश सभासद रमेश कुर्मीले बताए । ‘सकेसम्म सहमतिमा संयोजक चयन गर्ने हो, पार्टीको स्थिति अलि त्यस्तै थियो । त्यसैले जगदिश जीलाई नै नेतृत्व सम्हाल्नुस भनेका छौं ।’ उनले भने, ‘ माथिबाट परिपत्र नआउँदासम्म उहाँ नै संयोजक हुनुपर्छ । प्रजातन्त्रलाई नबुझेका, विभिन्न पार्टीबाट आएर पार्टीलाई कमजोर बनाउने षडयन्त्र गर्नेहरुले पार्टीलाई बदनाम गराईरहेका छन् ।’

आफू राजधानी काठमाडौंमा रहेको बताउँदै उनले यी विषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने बताए ।

जगदिश पटेल नै हालसम्म अध्यक्ष मण्डलको जिल्ला संयोजक रहेको पार्टीका महासचिव शिव पटेलले बताए । ‘उहाँको समयअवधि सकिएको हो तर अरुलाई अध्यक्ष बनाएको हामीलाई जानकारी छैन । त्यसो नहुँदासम्म उहाँ नै संयोजक हुनुभयो ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment