Comments Add Comment

चीनमा बुहारी बनाउने भन्दै नेपाली चेलीको तस्करी

१३ भदौ, काठमाडौं । कास्कीमा ब्युटी पार्लर चलाइरहेकी २७ वर्षीया सुमित्रा (नाम परिवर्तन) लाई प्रस्ताव आयो, चिनियाँ युवकसँग बिहे उतै जाने र राम्रो जागिर खाने ।’

काठमाडौं, नैकापमा बस्दै आएकी उषा घिमिरेको प्रस्तावले उनको मथिंगल नराम्ररी हल्लायो । दिनरात काम गर्दा पनि महिनाभरको खर्च कटाउन मुस्लिक भएको सम्झिइन्, डेढ महिनाअघि मात्र चिनिया युवकसँग बिहे गरेर गएकी अस्मिता सम्झिइन् ।

र, चिनियाँ युवकको बेहुली बन्ने योजनासहित १५ दिनअघि राजधानी पसिन् । ‘सुरुमा हामीलाई टोखास्थित एउटा फ्याल्टमा राखिएको थियो’, सुमित्रा भन्छिन्, ‘त्यहीँ हामीले विवाह गर्नुपर्ने चिनियाँ केटालाई देखेका थियौं ।’

चीन पुर्‍याउने समूहले उनलाई ज्याङ डोङ हुइसँग जोडी बाँधिदियो । जिल्ला अदालत, काठमाडौंमा कोर्ट म्यारिज भयो । विवाह दर्ता प्रमाण पत्रसँगै राहदानी हात पारिन् । उनले चीन जाने र त्यही रमाउने सपना देख्न थालिन् ।

बुधबार चीन जाने फ्लाइट थियो । उनी चिनियाँ श्रीमानसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगिन् । तर अध्यागन विभागले केरकार गर्न थालेपछि झस्किइन् ।

प्रहरीले उनीसहित अर्की एक युवतीलाई पनि रोक्यो । मानव बेचबिखन अनुसन्धान ब्युरो (एचटीबी) का अधिकृतले सोधपुछ र परामर्श गरेपछि मात्र उनले पाइन्, ‘विवाहको बहानामा यौन दासी बनाउन लागिएको रहेछ, धन्न नेपालमै रोकिएँ ।’

सुरुमा त उनले विश्वासै गरिनन् । तर प्रहरीले काउन्सिलिङसँगै यस्ता थुप्रै घटनाबारे जानकारी गरायो । त्यसपछि आफू गम्भीर संकटबाट बचेको महसुस गरिन् । ‘दिदीसँग वीच्याटमा कुरा हुन्त्यो, कमाइ राम्रै छ बाहेक अरु केही भन्नु हुन्नथ्यो’, उनी स्मरण गर्छिन्, ‘पछिल्लो समय त त्यही कुराकानी पनि भएको थिएन ।’

सुमित्राका ‘श्रीमान्’ उषासँग लिभिङ टुगेदरमा

सुमित्राको बयानपछि प्रहरीले लमजुङको साबिक गाउँशहर–४ घर भई सानेपा बस्दै आएकी उषालाई पक्राउ गर्‍यो । यससँगै अर्को रहस्य खुल्यो, सुमित्राले जोसँग कोर्ट म्यारिज गरेका थिए, उनी त उषासँग लिभिङ टुगेदरमा रहेछन् ।

अनुसन्धान अधिकृतका अनुसार उषाको सोल्टी होटल अगाडि ब्यूटी पार्लर छ । एक वर्षदेखि नेपालमा बसिरहेका ज्याङ सोल्टीको क्यासिनो जाने क्रममा पार्लर छिरेका थिए । ‘स्पा र मसाजका लागि उनी पार्लरमा जाने गरेका रहेछन् । त्यही क्रममा चिनियाँ नागरिकले उषालाई प्रभावमा पारेको देखिन्छ’ एक अधिकृत भन्छन् ।

त्यही क्रममा उनले नेपाली केटीलाई विवाह गराइदिएर चीन जैलाने उषालाई प्रयोग गरे । उनीहरको सम्बन्ध थप झाँगियो । श्रीमान विदेश भएका कारण उषा दुई महिनादेखि सँगै बस्न थालिसकेको अनुसन्धान अधिकृत बताउँछन् ।

त्यसपछि उषाले महिलालाई खोजेर ज्याङ डोङ हुइका लागि काठमाडौंसम्म ल्याइदिने गरेकी थिइन् । जसवापत उनले प्रतियुवती दुई लाख रुपैयाँसम्म पाउँथिन् भने पीडितका परिवारलाई ६० हजार रुपैयाँसम्म वा नयाँ फोन वा जिन्सी सामान दिने गरिएको ब्युरोका प्रमुख एसएसपी ईश्वरबाबु कार्की बताउँछन् ।

जसको केटा नपाएर बिहे रोकियो

लमजुङकी अस्मिता (नाम परिवर्तन) ले एसएसली पास गरेपछि अध्ययनलाई निरन्तरता दिन सकिनन् । वेसीशहरमा आफन्तको होटलमा बसेका वेला स्थानीय भरत गुरुङले चीनमा रोजगारी पाइनेबारे जानकारी गराए ।

तर विवाह गरेर जानुपर्ने कुरा त्यति चित्त बुझेको थिएन । त्यसैले गुरुङको कुरामा त्यति ध्यान दिइनन् । तर त्यही क्षेत्रमा होटल चलाउने अमृता गुरुङले चीन जाँदा परिवार र आफू दुवैलाई फाइदा हुने बताएपछि भने उनी लोभिइन् । ‘भिषा र चीनको नागरिकता लिनका लागि मात्रै हो भने किन बिहे नगर्ने ?’, उनले सोचिन् ।

अमृताले नै उनलाई काठमाडौम्म ल्याइन् । तर केटा नभएको भन्दै उनलाई केही दिन पर्खिन भनियो । अध्यागमनबाट सुमित्रा पक्राउ गरेपछि प्रहरीले उनीहरुलाई राखेको फ्ल्याटमा छापा मारेपछि भने उनले चीन लैजान खोज्नुका कारण थाहा पाइन् ।

‘एक/दुई दिनमा फिक्स हुन्छ भनिएको थियो’, २२ वर्षकी उनले प्रहरीलाई भनेकी छन् ।

गिरोहका १० जना पक्राउ

ब्युरोका एसपी गोविन्द थपलियाका अनुसार युवतीको उद्दारपछि घटनामा संलग्न गिरोहको खोजी सुरु भएको थियो ।

त्यसक्रममा ६ जना नेपाली र ४ जना चिनियाँ नागरिक गरी १० जना पक्राउ परेको उनी बताउँछन् । पक्राउ पर्ने सिन्धुपाल्चोककी रिना भनिने बिबिरानी तामाङ, नुवाकाटका रोज तामाङ, लमजुङकी पार्वती गुरुङ, अमृता गुरुङ, भरत तामाङ र उषा घिमिरे छन् । रिना भाषा अनुवादक हुन् भने रोजले विवाहको कागजपत्र बनाउने कार्यमा सहयोग गरेको देखिन्छ । ‘अन्य नेपाली चाहिँ गाउँबाट युवती ल्याउने कार्यमा संलग्न देखिएका छन्’, थपिलयाले अनलाइनखबरसँग भने ।

पक्राउ पर्ने चिनियाँ नागरिकमध्ये जेङ सियाङ डोङ र ज्याङ डोङ हुइ चिनियाँ दलाल हुन् भने क्वान ग्याङ पिङ र क्वीन लियाङ नेपाली युवतीसँग बिहे गर्न आएका थिए । उनीहरुले अदालती विवाह गरेर विवाह दर्ता गरेर सहजै चीन लाने गरेको देखिएको अनुसन्धान अधिकृत बताउँछन् । प्रहरीका अनुसार अभियुक्तको साथबाट १२ वटा मोबाइल, करिब २२ लाख नेपाली रुपैयाँ, चिनियाँ यूआन २ हजार ३ सय र अमेरिकी डलर १ सय ९० बरामद भएको छ ।

यसअघि ०७१ सालमा नेपाली युवतीलाई यही शैलीबाट विवाह गरेर चीन र दक्षिण कोरिया पठाउने समूहलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समातेको थियो । यो प्रकृतिको मानव तस्करीलाई ‘ब्राइड बाइङ’ भनिने ब्युरोका अधिकृत बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment