Comments Add Comment

साताका १० पुस्तक : बीपी र प्रचण्डदेखि मधेससम्म

दशैंलाई लक्षित गर्दै पुस्तक प्रकाशनको बाढी आउन थालेको छ । यो साता पनि नेपाली बजारमा दर्जन बढी पुस्तक प्रकाशित भएका छन् ।

किशोर र बालबालिकालाई लक्षित गरेर पनि बजारमा नयाँ-नयाँ पुस्तक आइरहेका छन् । केही किताबहरु राजनीतिक विषयमा आएका छन् भने केही भाषा साहित्यका विषयहरु समेटिएका पुस्तक बजारमा निस्केका छन् ।

यो साता प्रकाशित १० वटा पुस्तकबारे यहाँ छोटो चर्चा गरिएको छ ।

नेपाली मिथक कोश

लामो समयको अनुसन्धानपछि नेपाल प्रज्ञा प्रतिष्ठानले ‘नेपाली मिथक कोश’ प्रकाशन गरेको छ । पुस्तकमा अवधी, किरात राई, टोटेली, तमु, ताजपुरिया, तामाङ्, थारु, धिमाल, नेवारी बज्जिका, भोजपुरी, मगर, मैथली, लिम्बु, सुनुवार जाति, भाषा र परिवेशमा प्रयोग हुने मिथकहरुलाई सङ्कलन गरिएको छ ।

पुस्तकले नेपालमा बोलिने मुख्य भाषाहरुमा प्रचलित जातिका आदिम पूर्खासँग जोडिएका किम्बदन्तीहरुलाई शुत्रबद्ध गरेको छ । पुस्तकमा सम्बन्धित जातिका धर्म, संस्कार र रीतिथितिसँग सम्बन्धित कथाहरुलाई पनि ठाउँ दिएको छ ।

पुस्तकलाई प्राज्ञ श्रवण मुकारुङले संयोजन गरेका हुन् । मुकारुङलाई विप्लव ढकाल, धर्मेन्द्र झा, राजन मुकारुङ र धर्मेन्द्रविक्रम नेम्वाङले सम्पादनमा साथ दिएका थिए ।

स्मृतिमा छाडेर जानेहरु

नेपाली साहित्यलाई विशेष योगदान दिने साहित्यकारहरुको स्मृतिपरक अभिलेख हो स्मृतिमा छाडेर जानेहरु । साहित्यिक अन्वेषक एवं साहित्यिक पत्रकार जयदेव भट्टराईले यो कृतिमा नेपाली साहित्यका महत्वपूर्ण व्यक्तिहरुको अभिलेखलाई उतारेका छन् ।

पुस्तकमा डायमनशम्सेर राणा, गोविन्द गोठाले, बालकृष्ण पोखरेल, फणीन्द्रराज खेताला, कमलमणि दीक्षित, कृष्णचन्द्रसिंह प्रधान, पुण्यरश्मि खतिवडा, बुलु शर्मा, देवी शर्मा, सुन्दरप्रसाद शाह दुखी, शिव रेग्मी, जगदीशसमशेर राणा, शिव रेग्मी, जगदीश घिमिरे, दैवज्ञराज न्यौपाने, प्रेमा शाह, मनु ब्राजाकी, कृष्णभूषण बल आदिसँगका संस्मरण र उनीहरुका शब्दचित्र प्रस्तुत गरिएको छ ।

इतिहासकार एवं दुई दर्जनभन्दा बढी कृतिका लेखक गुणदेव भट्टराईको एघारौं वाषिर्कीको अवसरमा छोराले दिएको यो महत्वपूर्ण कृतिलाई आधुनिक श्राद्ध नाम दिइएको छ ।

लेखक भट्टराईका मौलिक र सम्पादित गरी एक दर्जन कृति प्रकाशमा आइसकेका छन् । मधुपर्क मासिकका सम्पादक भट्टराई विगत ३३ वर्षदेखि लेखन क्षेत्रमा क्रियाशील छन् ।

नेपालका राष्ट्रिय चाडपर्व

नेपालीको घर आँगनमा दशैं, तिहार, छठ, माघी जस्ता पर्व आएपछि पत्रपत्रिकामा यससम्बन्धी लेखहरु पनि प्रकाशित हुन्छन् । ती लेखहरुमध्ये अधिकांश लेख डा. ऋषिप्रसाद शर्माका हुने गरेका छन् । यिनै लेखहरुको सङ्ग्रह हो, नेपालका राष्ट्रिय चाडपर्व नामक पुस्तक ।

पुस्तकमा नेपालमा सार्वजनिक विदा दिइने धेरैजसो पर्वका बारेमा विवरणहरु दिइएको छ । पत्रपत्रिकामा स्थान अभावले स-सानो लेख लेख्नुपरेका कारण पुस्तक लेख्नु परेको लेखक शर्माले बताएका छन् ।

प्रत्येक पर्वका मिथक र सामाजिक रीतिथितिलाई सत्यको नजिक ल्याएर पुस्तकलाई आधिकारिता दिने प्रयास गरिएको छ ।

लोकतन्त्र र आजको मार्क्सवाद

प्राध्यापक चैतन्य मिश्र कहलिएका विद्वान हुन् । पूँजीवादको सुधारमा निरन्तर कलम चलाउने उनी मार्क्सवादी दर्शनका कमजोरी खोतल्न पनि माहिर छन् । उनका हरेक लेख नेपाली लेखकका लागि सन्दर्भ ग्रन्थ मानिन्छन् ।

यिनै लेखकको नयाँ पुस्तक बजारमा आएको छ । दुई दशक यता नेपाली कम्युनिस्ट आन्दोलनका जगमा उभिन थालेको नेपाली समाजका बारेमा लेखिएको यो पुस्तकमा मार्क्सवादका कमजोरी पनि केलाइएको छ । चैतन्यको यो पुस्तक राजेन्द्र महर्जनले संकलन तथा सम्पादन गरेका हुन् । पुस्तकले नेपाली पूँजीवाद र खुला अर्थतन्त्रमा मिसिएको मार्क्सवादी राजनीतिलाई राम्रोसँग प्रस्तुत गरेका कारण पनि यो पुस्तक सङ्ग्रहणीय बनेको छ ।

बीपी कोइरालाको डायरी

प्रतिभाशाली व्यक्तिहरु दैनिक डायरी लेख्छन् । आफूले गरेका गल्तीहरु त्यसमा उल्लेख गर्छन् । यस्ता गल्तीहरुलाई पछिल्लो अवधिमा सच्याउँछन् । साहित्यकार एवं राजनीतिज्ञ बीपी कोइराला पनि नियमित डायरी लेख्थे ।

जेल जीवनका धेरैजसो डायरीहरु पुस्तकका रुपमा प्रकाशन भइसकेका छन् । २००८ देखि २०१३ सम्म लेखिएका प्रकाशन हुन बाँकी डायरीलाई यसपटक शिखा बुक्सले प्रकाशन गरेको छ ।

पुस्तकमा राजनीतिक, साहित्य र कतिपय ठाउँमा नितान्त व्यक्तिगत कुराहरु उल्लेख गरिएका छन् । यसमा दाजु मातृकाप्रसाद कोइरालसँगको राजनीतिक द्वन्द्वलाई गम्भीर रुपमा उल्लेख गरिएको छ ।

अंग्रेजी भाषामा लखिएका डायरीहरुलाई कोइराला परिवारका नजिकका मित्र पदमबहादुर थापाले सङ्कलन गरेको बताइएको छ । यसलाई महेश पौडेलले नेपाली भाषामा अनुवाद गरेका हुन् ।

प्रचण्ड : जनयुद्धका नायक

रामप्रसाद खरेल पूर्वी नेपालको सुनसरीलाई कर्मथलो बनाएर साहित्य र राजनीतिमा सक्रिय लेखक हुन् । उनी कम्युनिस्ट आन्दोलनलाई विभिन्न हिसावले लेखनको विषयमा बनाउँछन् ।

‘प्रचण्ड : जनयुद्धका नायक’ पुस्तकमा नेपालको कम्युनिस्ट आन्दोलनका विभिन्न चरणहरुका विवरणहरु छन् । तीमध्ये जनयुद्धलाई केन्द्रमा राखेर पुस्तक लेखिएको छ ।
जनयुद्ध गर्न किन आवश्यक थियो भन्ने विषयमा लेखकले त्यसभित्रका हिंसाको अनिवार्यताका विभिन्न उदाहरण प्रस्तुत गरेका छन् । पुस्तकमा प्रचण्डको राजनीति गर्ने कार्यकौशलको प्रसंसा गरेका छन् ।

मधेस र मधेसी आन्दोलन

कृष्णराज वर्मा नेपाली कम्युनिस्ट आन्दोलनका पुराना कार्यकर्ता हुन् । मधेशमैं सात दशकभन्दा बढी राजनीति गरेका वर्मा मधेशी समाज र मधेशी व्यवहारका जानकार पनि हुन् । आफूले बाँचेको समाजलाई माक्र्सवादी दृष्टिकोणबाट ब्याख्या गर्दै बर्माले लेखेको पुस्तक ‘मधेस र मधेसी आन्दोलन’ ले एकसाथ समाज र यसको क्रान्तिकारी चरित्र प्रस्तुत गरेको छ ।

पुस्तकमा राज्यले मधेसीमाथि गरेको विभेदको चिरफार गरेको छ । यसमा मधेसी आन्दोलनका सकारात्मक पाटो र कमजोरी पक्ष पनि केलाइएको छ । मधेस आन्दोलनका बेला पहाडे समुदायमाथि गरिएको अत्यचारलाई पनि पुस्तकले राम्रै ठाउँ दिएको छ । मधेस आन्दोलनका आएका पुस्तकमध्ये यो केही फरक देखिन्छ ।

सन्नाटाको लय

सन्नाटाको लय कवि नरेन्द्रकुमार नगरकोटीको आख्यानको झलक आउने कविता सङ्ग्रह हो । सङ्ग्रहमा भूईं मान्छेका पीडाहरुलाई लयात्मक ढंगले प्रस्तुत गरिएको छ । पुस्तकमा २८ कविताहरु सङ्ग्रहित छन् । कविताका प्रत्येक हरफले पुराना कुरालाई नयाँ ढङ्गले प्रस्तुत राख्ने क्षमता राख्छन् ।

पुस्तकका सन्नाटाको लय, ढुकढुकीको आवाज र मार्च ८ मा बाको सम्झना विशेष छन् ।

परिवर्तनका लागि विवेकशीलता

गैरआख्यानमा पनि फरक-फरक विषयवस्तु अटाउन सक्छन् । यो पुस्तकमा मानिस हुनुको अर्थलाई विभिन्न तरिकाले बुझाउने प्रयास गरिएको छ ।

मानिस बाँच्नु भनेको बेहोसीमा समय बिताउनु होइन, विवेकशील र चेतनशील भएर जीवनलाई अनुभव गर्नु हो । यस्ता चेतनशील मानिसले नै समाज र देशलाई योगदान दिन सक्छन् भन्ने कुरा पुस्तकमा उल्लेख गरिएको छ ।

समाजशास्त्री शेखर ढुंगेलले विवेकशील मानिस हुनुका केही उदाहरण दिएका छन् । जसले पुस्तकलाई ओजिलो बनाएको छ ।

डेड शुक्रबीर

उपन्यास लेखनमा नयाँ नयाँ शैली आइरहेका छन् । डेड शुक्रबीर नयाँ शैलीमा आएको उपन्यास हो । यसमा राजनीतिक, सामाजिक विषयमा प्रेम, यौन र युद्धलाई एकै ठाउँमा मिसाइएको छ । समाज मनोविज्ञानलाई आधारित बनाएर लेखिएको यो पुस्तक टि एन भट्टले लेखेका हुन् ।

यो पनि पढ्नुहोस साताका दर्जन पुस्तक  :  प्राथमिकतामा विकास र यौनहिंसा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment