
७ भदौ, काठमाडौं । आख्यान र गैरआख्यान समेत गरी नेपाली साहित्यमा हरेक वर्ष एक हजारजति पुस्तक प्रकाशन हुने अनुमान गरिएको छ । नेपाल, भारत, बर्मासहित विश्वभरि छरिएर रहेका नेपालीभाषीहरुले वर्षभरि प्रकाशन गर्ने पुस्तकहरुको आधारमा यो सङ्ख्या अनुमान गरिएको हो ।
प्रकाशितमध्ये झण्डै आधा पुस्तक नेपाली बजारमा आउँदैनन् । बजारमा आएका मध्ये पनि केही पुस्तकले मात्र पाठकको मन छुने गरेका छन् । यो साता पनि एक दर्जन बढी पुस्तक बजारमा आए ।
यो साता बजारमा आएका बढीजसो पुस्तकले वैवाहिक बलात्कार, वाल यौन हिंसा र ‘मीटु’ जस्ता प्रकृतिका यौनजन्य विषयहरुलाई ठाउँ दिएका छन् । केही पुस्तकहरु विकास, समृद्धि, मनोविज्ञान, समाज र पत्रकारिता लगायतका विषयसँग सम्बन्धित छन् ।
उहिलेको नेपाल
पत्रकार भैरव रिसालको पत्रकारिताको अनुभवसम्बन्धी पुस्तक हो- उहिलेको नेपाल । ९२ औं जन्मदिनको अवसर पारेर प्रकाशन गरिएको यो पुस्तकमा सयवर्षअघिदेखि अहिलेसम्मको नेपालको कथा फरक ढंगले लेखिएको छ ।
पत्रकारिताको आँखाबाट नेपाली समाजलाई हेरिएको यो पुस्तकले सरकारको ध्यान नगएको स-साना विषय कसरी महत्वपूर्ण हुन्छन् भन्ने कुरालाई उठाइएको छ ।
पुस्तकमा आफूले पत्रकारिता थालेदेखिको बन्द समाज र त्यो समाजलाई हेर्दै विश्वसनीय तरिकाले गरिएको पत्रकारिताबारे विस्तृत वर्णन छ । पुस्तकले आजका पत्रकारहरुको कार्यशैलीप्रति असहमति पनि जनाएको छ ।
राजनीतिक पत्रकारिताभन्दा सामाजिक पत्रकारिताको कति ठूलो महत्व छ भन्ने कुराको उठान पुस्तकले गरेको छ । रिसाल अहिले पनि पत्रकारितामै सक्रिय छन् । पछिल्लो समय उनले इच्छा मृत्युको विषयलाई लगातार उठाइरहेका छन् ।
नेपालमा उदारवाद
भानुप्रसाद आचार्य नेपालका प्रशासनिक अनुभव सङ्गालेका अर्थशास्त्री हुन् । पूर्वसचिव र पूर्वमहालेखा परिक्षकसमेत भएका आचार्यले आफ्नो जीवनभरिको अनुभव उदारवाद पुस्तकमा उतारेका छन् ।
नेपालमा उदारवादको सुरुवात कसरी भयो, त्यसमा पूर्व अर्थमन्त्री रामशरण महत र महेश आचार्यको योगदान कस्तो थियो । यो कसरी विकसित हुँदै आयो भन्ने कुरा सिलसिलेवर रुमपा प्रस्तुत गरेका छन् ।
आकाश यात्रा
डीआर निरौला र नेपाल वायु सेवा निगम एक अर्काका पूरक हुन् । वायु सेवा निगम स्थ्ाापना भएपछि त्यसका जहाजहरुलाई अन्तर्राष्ट्रिय उडानमा ल्याउने निरौलाले आफ्नो हवाइयात्राका अनुभवहरुको संगालो प्रकाशन गरेका छन् ।
आत्मकथात्मक शैलीमा उनले आफ्ना विद्यालय रहरलाई कसरी यथार्थमा परिणत गरे र संसारभर घुमे भन्ने रमाइला किस्साहरु पुस्तकमा पढ्न पाइन्छन् । पुस्तकको मुख्य विशेषता नेपालको उड्ययन इतिहास हो ।
५० वर्षअघिको नेपाल र राजनीतिलाई पनि पुस्तकले छोएको छ ।
मान्छेको मन
डा.विश्ववन्धु शर्मा नेपालका चर्चित मनोचिकित्सक हुन् । नेपालमा मनोचिकित्सकका विषयमा राम्रो धारणा नबनेकै बेलामा मनोचिकित्सक हुने निर्णय, डा. अरुणा उप्रेतीसँगको विवाह र चिकित्सकीय सहकार्य एवं रोगीका मनस्थितिका विषयमा पुस्तकले प्रकाश पारेको छ ।
पुस्तकमा सबैभन्दा राम्रो पक्ष नै रोगीहरुको अवस्था, उनीहरुको जीवनमा आएका परिवर्तनहरुको कथाहरु हुन् । यो पुस्तकले मानसिक रोगका विषयमा आम पाठकका लागि नौला लाग्ने धेरै कुरा प्रस्तुत गरिएका छन् ।
सम्पदाको लडाइँ
पत्रकार दामोदर न्यौपाने भुकम्पपछिको पुनर्निर्माणका विषयमा नियमित लेखिरहन्छन् । यही अनुभवलाई उनले पुस्तकमा उतारेका छन् ।
पुस्तकमा सादा सम्पदाका कुरा मात्र छैन । यसको इतिहास, यससँग जोडिएका लोकोक्ति, स्थानीयसँग त्यस सम्पदासँगको हिमचिम र भूकम्पपछि आएको परिवर्तनसमेतलाई पुस्तकमा दस्तावेजीकरण गरिएको छ ।
यसअघि उनले माओवादी प्रभावित क्षेत्रमा रिपोर्टिङ् गर्दा पाएका अप्ठ्यारोका विषयमा पुस्तक लेखेका थिए । उनका बालबालिका र किशोर वयसँग सम्बन्धित पुस्तकहरु पनि प्रकाशन छन् ।
आधि
गीतकार, मुक्तककार, कवि र कथाकार रुपमा आफूलाई स्थापित गरेकी साहित्यकार उषा शेरचनको उपन्यासको नाम हो-आधि । आधिमा नाताभित्रै हुने बलात्कार र त्यसले नारीहरुको समग्र जीवनमा परेको प्रभावका विषय उठाइएको छ ।
उपन्यासले नेपाली समाजभित्र हुने बैवाहिक बलात्कारलाई पनि बिम्बका रुपमा प्रस्तुत गरेको छ । पछिल्लो समयमा आएका मि टुलगायतका महिला हिंसाविरोधी अभियानलाई तात्विक निष्कर्षमा पुर्याउन आधिजस्ता उपन्यासले भूमिका खेल्ने दावी समीक्षकहरुले गरेका छन् ।
म सक्छु, म गर्छु
पुस्तकले कोरा साहित्य मात्र पस्कनुहुन्न, पढ्नेलाई नयाँ चेतना पनि दिन सक्नुपर्छ भन्ने सोचमा लेखिएको पुस्तक हो – म सक्छु, म गर्छु । डा. प्रदीपमान तुलाचनद्वारा लिखित यो पुस्तकले युवा उद्यमशीलतालाई मुख्य केन्द्रमा राखेको छ ।
पुस्तकले समृद्ध नेपाल बनाउन आवश्यक औजारहरुलाई विस्तारमा वर्णन गरेको छ । थोरै पूँजीमा मझौला खालको उद्यम गर्न पुस्तकले हौसला दिएको छ । यसमा संसारका केही मझौला औद्योगिक क्रान्ति र युवाहरुका उदाहरण पनि छन् ।
अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. प्रदीपमान तुलचनाका यसअघि आशा र भोटेखोला पुस्तक प्रकाशन भइसकेका छन् । आश र भोटेखोलामा उनले आख्यानमार्फत युवा पुस्तालाई सकारात्मक सन्देश दिने प्रयास गरेका थिए भने पछिल्लो पुस्तकले सिधै युवा उद्यमशीलताको वकालत गरेको छ ।
उज्यालोको खोजीमा
पूर्वमाओवादी लडाकू खिमा रिजालले जनयुद्धकाल र शान्ति कालका अनुभवहरुलाई समेटेर ‘उज्यालोको खोजीमा’ नामक संस्मरणात्मक पुस्तक लेखेकी छिन् । भुँडीपुराणले प्रकाशन गरेको यो पुस्तकको विमोचन यसै साता प्रज्ञा प्रतिष्ठानमा नेकपाका उपाध्यक्ष वामदेव गौतमले गरेका थिए ।
जनयुद्धकालीन विषयवस्तु समेटेर लेखिएको पुस्तक पठनीय रहेको तर, केही माओवादी नेताले पुस्तक विमोचनमा नजान आफूलाई दबाव दिएको नेता गौतमले बताएका थिए । यसो हुनुको कारण के हो भने पुस्तकमा नेकपाका एक नेताले आफूमाथि यौनजन्य हिंसाको प्रयास गरेको लेखिकाले पुस्तकमा उल्लेख गरेकी छिन् ।
पुस्तकमा रिजालले विभिन्न समयका २२ वटा संस्मरण समेटेकी छिन् । पुस्तकको भूमिका महिला नेतृ शान्ता श्रेष्ठले लेखेकी छिन् भने नेकपा अध्यक्ष प्रचण्डले पनि लिखित शुभकामना दिएका छन् ।
रिजालले जनयुद्धकालीन साहित्य धेरै लेख्न बाँकी रहेको भन्दै आफूले यसमा सानो प्रयासमात्र गरेको बताएकी छिन् ।
आमाले सक्नुहुन्छ र सानीका ज्ञानी कुरा
कम्युनिष्ट कथा संग्रहबाटर नेपाली साहित्यमा प्रवेश गरेकी युवा साहित्यकार आन्विका गिरी अचेल वाल सहित्यमा कलम चलाउन थालेकी छिन् । यसैसाता गिरीद्वारा लिखित दुईवटा बाल साहित्य बजारमा आएका छन् ।
गिरीद्वारा लिखित आमाले सक्नुहुन्छ र सानीका ज्ञानी कुरा नामक दुई पुस्तकहरु सांगि्रला बुक्सले बजारमा ल्याएको हो ।
आमाले सक्नुहुन्छ बाल कथा संग्रह हो भने ‘सानीका ज्ञानी कुरा’ चाहिँ वाल यौन दुव्र्यवहारका बारेमा जानकारी दिने सचित्र पुस्तिका हो ।
यसअघि कम्युनिष्ट कथा संग्रह र मान्छेको रंग उपन्यास लेखेकी गिरी नेपालमा वालवालिकाले पढ्ने साहित्यको अभाव देखिएकाले वाल साहित्यमा कलम चलाउन थालेकी हुन् ।
प्रतिक्रिया 4