Comments Add Comment

सुर्खेतमा बेवारिसे छाडिएको गाई नेपालगञ्ज फिर्ता पठाइयो

दैलेख लैजान भन्दै रातारात सुर्खेतको कटकुवा जङ्गलमा बेवारिसे छाडिएका गाईको उद्वार गरी पुनः नेपालगञ्जतर्फ पठाइएको छ ।

स्थानीय प्रशासनको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई शनिबारदेखि नेपालगञ्ज फिर्ता पठाउन थालेको हो । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले १४२ वटा गाई नेपालगञ्ज पठाइसकेको जानकारी दिए । घाइते रहेका कतिपय गाई–गोरुको औषधि उपचार गरी फिर्ता पठाइने उनले बताए ।

नगरपालिकाको पशु स्वास्थ्य शाखाका चिकित्सकको टोलीले शुक्रबार मृत भेटिएका गाईको मुचुल्का तथा शव परीक्षण गर्नुका साथै घाइतेको उपचार गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत गाई–गोरुको सङ्ख्या ३० पुगेको छ । परीक्षण रिर्पोटपछि मात्र गाईको हत्या भए-नभएको यकिन हुने प्रहरीको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको पत्रअनुसार नेपालगञ्ज उप–महानगरपालिकाको काञ्जीहाउसबाट दैलेखको शिरस्थान धार्मिक क्षेत्रमा पठाउने भनी गाईगोरू पठाइएको थियो ।

तर शिरस्थान क्षेत्र पर्ने दैलेखको भैरवी गाउँपालिकाले भने आफ्नो तर्फबाट लिखित मौखिक कुनै माग नगरेको प्रतिक्रिया दिएको छ ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले आफू वडा कार्यालय र मन्दिर व्यवस्थापन समितिले नेपालगञ्ज उपमहानगरपालिकासँग त्यस्तो कुनै माग नगरेको प्रष्ट पारे । ‘यहाँ त्यति ठूलो सङ्ख्यामा गाई–गोरु पाल्न सकिने ठाउँ छैन्, भ्रमपूर्ण प्रचार गरिएको छ, शिरस्थान क्षेत्रका लागि कुनै माग भएको छैन्’ उनले भनेका छन् ।

भैरवी गाउँपालिका–१ को कार्यालय र शिरस्थान मन्दिर व्यवस्थापन समितिले पनि आफूहरुले गाई–गोरुको माग नगरेको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।

शुक्रबार बिहान ३ बजेतिर वीरेन्द्रनगर वडा नं– १४ पर्ने कटकुवा जङ्गलमा २९१ गाई–गोरु अलपत्र अवस्थामा छाडिएको थियो । कतिपय गाई–गोरु भीरबाट खसालिएको अवस्थामा भेटिएकाले स्थानीयवासीले ‘गौहत्या’ भन्दै घटनामा संलग्नलाई कानूनी कारवाहीको माग गरेका छन् ।

घटनाको विरोधमा शनिबार मङ्गलगढी चोकबाट शुरु भएको र्याली वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले गाईलाई दानवीय हिसाबले भीरबाट खसालिएको भन्दै घटनाको निन्दा गरे ।

‘एउटा प्रदेशका छाडा पशु चौपाया अर्को प्रदेशको अनुमति बेगर ल्याएर छाडियो, नेपालगञ्ज उपमहानगरपालिकाको गम्भीर लापरबाही हो । दोषी जुनसुकै भए पनि कारवाही गर्न सरकारले हिम्मत गरोस्, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment