Comments Add Comment

जसले अरुण थापालाई चिनाए

१४ भदौ, पोखरा । ‘गायक अरुण थापालाई अरुण थापा बनाउने मान्छे विक्रम गुरुङ हुन्,’ साहित्यकार सरुभक्तले भन्दै थिए, ‘अहिले बाहिर गएर मेरो यत्रो गुणगान किन गाइस् भन्ला, तर उ प्रतिभा भएकै व्यक्ति हो ।’

सरुभक्त यतिमा रोकिएनन् । ‘मलाई लाग्छ संसारमा दुई प्रकृतिका मान्छे हुन्छन् । एउटा कम काम गर्छ र बढी प्रशंसाको भोको हुन्छ । अनि अर्को- काम गर्ने तर प्रशंसादेखि टाढा बस्ने । मलाई विक्रम दोस्रो प्रकृतिको मान्छे लाग्छ ।’

विक्रम गुरुङ अर्थात गीतकार, संगीतकार अनि गायक पनि । पछिल्लो पुस्ता यो नामसँग त्यति परिचित नहोला । तर, एक समय उनले लेखेका र भरेका संगीतले संगीतिक बजार तताएको थियो भन्दा फरक नपर्ला ।

गीतकार विक्रम गुरुङलाई नचिने पनि गायक अरुण थापाको नाम भने नेपाली पुराना आधुनिक गीत मन पराउने स्रोताका लागि नौलो होइन । ‘भूँलूँ लाग्यो मलाई’, आँखाको निद चोरी’ लाने लगायत गीतका गायक हुन् थापा । तर धेरैलाई नहुन सक्छ यी गीत लेख्ने गीतकार हुन्, विक्रम गुरुङ । जो चर्चाबाहिर छन् ।

साहित्यकार सरुभक्त र गुरुङ मिल्ने साथी हुन् । उनीहरुबीच मित्रता गाँसिएकोमात्रै ५२ वर्ष भइसकेको छ । गुरुङ सरुभक्तलाई सरुभक्त होइन, ‘भक्त’ मात्रै भन्न रुचाउँछन् ।

उनीहरुबीच मित्रता गाँसिदा भक्तबहादुर श्रेष्ठ ‘सरुभक्त’ भइसकेका थिएनन् । ‘विक्रम र मेरो भेट आदर्श आवासीय स्कुलको कक्षा ६ मा भएको थियो,’ सरुभक्तले सुनाए, ‘त्यसबेलादेखि युनिभर्सिटीसम्मसँगै यात्रा गर्‍यौं ।’ आर्दश अर्थात अहिलेको गण्डकी बोर्डिङ स्कुल ।

स्कुले जीवनमा दुबैले भोलि कुन क्षेत्रमा लाग्ने निक्र्यौल गरिसकेका थिएनन् । तर जब क्याम्पस आए त्यसपछि भने आफू हिँड्ने बाटो भेट्टाए । सरुभक्त साहित्यमा लागे, विक्रम संगीतमा । सरुभक्त भन्छन्, ‘विक्रम मेरो पहिलो नाटकको पहिलो कलाकार पनि हो ।’

शनिबार पोखरा थियटरले तिनै गीतकार विक्रम गुरुङको जीवन गाथा सुन्ने बन्दोबस्त मिलायो, कार्यक्रम ‘जीवन वृत्तान्त’ मार्फत ।
उमेरको एक किनारमा उभिएर उनले सम्झिए, ‘बालापन, स्कुले जीवन, साथीसंगी, गुरु गुरुआमा, कला, संगीत, भारतदेखि पोखरा र पोखरादेखि हङकङसम्मको यात्रा…’

स्टेजमा उक्लिएर सबैभन्दा पहिले गुरुङले पर्दामा फेवातालको तस्वीर देखाए र भने, ‘यही किनाराबाट टाढाको एउटा पहाड देख्न सक्नुहुन्छ । हो त्यही हो मेरो गाउँ ।’ उनको गाउँ अर्थात अहिलेको पोखरा २३ भदौरे तामाघी । त्यसपछि उनले एउटा पुरोनो घर देखाए र भने, ‘यही हो मेरो घर । तर अहिले त्यो घर छैन ।’

अघि भने, ‘फेरि बनाउँछु भनेको सकिएन ।’

****

विक्रमका हजुरबा र बुवा दुवै भारतीय सेनामा जागिरे । बुवाको जागिरका सिलसिलामा उनको बालापन भारतको देहरादुनमै हुर्कियो । त्यहाँ उनले क्याम्ब्रिन हल स्कुलमा अध्ययन गर्ने मौका पाए । ‘भारतमै मैले नेपाली, अंग्रेजी र हिन्दी भाषा एकैचोटी जान्ने मौका पाएँ,’ उनले बालापन सम्झिए, ‘धेरै भाषा एकैचोटी सिक्दा पनि कुनै समस्या नहुँदो रहेछ ।’ क्याम्ब्रिन हलमा पढाइ ठीकै (उनकै भाषामा) र खेलकुद राम्रै हुँदै थियो तर, त्यहीबेला बुवाको जागिरे जीवन सकियो । जागिर सकिएपछि उनीहरु नेपाल फिर्ता आउनुपर्‍यो ।

२०२३ तिरको कुरा हो, पोखरामा बाटो खुलिसकेको थिएन । जहाँज चढेर पोखरा आए र पोखरामै बास बसेर अर्को दिनमात्रै फेवाताल पारि गाउँ पुगे ।

भारतमा राम्रो मानिने स्कुलमा पढेका विक्रमका बुवाले पोखरामा पनि राम्रै बोर्डिङ स्कुलमा भर्ना गर्ने सोच बनाएछन् । तर, त्यतिबेला बोडिङ स्कुलको नाममा एउटा थियो, आदर्श आवसीय स्कुल । बासँगै हिँडेर पोखरा लामाचौरमा रहेको त्यो स्कुलमा पुगे । शिक्षक गोरो वर्णका थिए अर्थात विदेशी नागरिक ।

भारतमा अंग्रेजी माध्यम पढेका विक्रमलाई अलिअलि बोल्न आउँथ्यो । मास्टरको गोरो छाला देखेर बुवाले पनि तैं आफैं कुरा गर् भनेछन् । त्यसपछि उनी आफैं अघि सरेर अंग्रेजीबाट म यहाँ भर्ना हुन आएको भनेछन् । तर अचम्म ! अंग्रेजीबाट प्रश्न सोधेका सरले प्रष्ट नेपालीमै उत्तर दिएछन् । ‘पहिलो पटक कोही गोरे नेपाली बोलेको सुनें । कस्तो अचम्म लाग्यो,’ उनले सम्झिए, ‘पछि थाहा भो, उनी कोलिन स्मिथ रैछन् ।’

(कोलिन स्मिथ अहिले पुतली बाजेका नामले परिचित छन् ।)

कक्षा ६ मा भर्ना भए । त्यही कक्षामा पहिलो पटक भेटेका हुन् उनले साथी भक्तबहादुर श्रेष्ठलाई । अर्थात साहित्यकार सरुभक्तलाई । त्यही भेट नै उनीहरु बीच गहिरो अटूट मित्रता गाँस्ने माध्यम बन्यो । ‘त्यसपछि हामीले युनिभर्सिटीसम्म सँगै पढयौं । एउटै कोठा, एउटै ओछयान र एउटै भान्सा प्रयोग गर्‍यौं । अहिले पनि हामी एकदमै नजिकका साथी हौं,’ विक्रमबारे प्रकाश पार्न स्टेजमा उक्लिएका सरुभक्तले सम्झिए ।

अरुण थापासँगको त्यो भेट

बिएस्सी पढ्न काठमाडौं गएका विक्रमलाई त्यहाँको वातावरणले स्वीकारेन । गएको १ महिनामै फर्किए । पोखरा फर्किएको ६ महिनामा एक दिन अचानक कसैले एउटा मिठो गीत गाइरहेको सुने, ‘हम दोनो दो प्रेमी….’

गीत मिठो थियो । कसले गाउँदैछ ? विक्रमलाई चिन्न उत्सुकता जागेछ । तर जब नजिक पुगे, गीत बन्द भयो । ‘म नजिक पुग्दा किन गीत गाउन छोडेको होला भनेको त गाउनेले गीतको दोस्रो स्टान्जा नै बिर्सेकोरहेछ,’ उनले सम्झिए ।

चोकमा उभिएर सुमधुर हिन्दी गीत गाउने अरुण थापा थिए । त्यही नै उनले पहिलो पटक अरुणलाई भेटेका थिए ।

अम्बर गुरुङसँग नजिक भएपनि विक्रममा संगीतको भोक जागेको थियो । त्यही भोकले पोखरेली सांस्कृतिक परिवार खोल्न मद्दत गर्‍यो । त्यही भोकले पोखराकै पहिलो ब्यान्ड अन्नपूर्ण ब्यान्ड खोल्न सघाउ पुग्यो । पछिका दिनमा पनि संगीतमा रुचि भएकै कारण अरुण र उनको भेट भइरहन्थ्यो । तर, दुवैको आˆनै सिर्जना भने रेकर्ड भइसकेको थिएन ।

‘अरुण प्राय हिन्दी गीत गाउँथ्यो । जहिल्यै अरुको गाउने । आˆनो गा भन्नेबेला केही छैन । अरुले गीत गाउन रियाज गर्नुपथ्र्यो । तर उसले गायकको भन्दा राम्रो गाउन सक्थ्यो,’ विक्रमले भने, ‘उसो त म पनि गीत लेख्थें, संगीत भर्थें । मेरो पनि रेकर्ड थिएन । उसको र मेरो भेट भएको धेरैपछि मात्रै मेरा गीत गाउन थालेको हो ।’

गीतसंगीतमा जमिरहेकै बेला विक्रम हङकङको एउटा स्कुलमा शिक्षक भएर उडे । त्यहाँ उनले जीवनको लामो समय बिताए । हङकङमा र अवकाश लिइसकेपछि नेपाल फर्किर्एका उनले केही समयअघि काठमाडौंमा पलेंटीमा एकल प्रस्तुती दिइसकेका छन् ।

अहिले उनी भदौ २७ गते पोखरा उद्योग वाणिज्य संघको हलमा हुन लागेको तेस्रो एकल प्रस्तुतिको तयारीमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment