Comments Add Comment

बैंक ह्याकिङ प्रकरण : सर्वसाधारणको निक्षेप सुरक्षित

१५ भदौ, काठमाडौं । एटीएम ह्याक गरेर चिनियाँ नागरिकले रकम झिके पनि बैंकहरुमा सर्वसाधारणको निक्षेप सुरक्षित रहेको नेपाल बैंकर्स संघले जनाएको छ ।

चिनियाँ ह्याकरहरुको ह्याक गरेर एटीएमबाट डेढ करोडभन्दा बढी रकम चोरी गरेका छन् । चोरी गर्दागर्दै शनिबार ५ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

एटीएम मेसिनबाटै रकम चोरी भएपछि सर्वसाधारणको निपेक्ष सुरक्षित भए नभएको प्रश्न उठेको थियो ।

चोरीमा संलग्नहरुलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताए । उनले भने, ‘केही रकम चोरी भएको छ तर बैंकहरु त्यो नोक्शान ब्यहोर्न सक्षम छन् । सर्वसाधारण निक्षेपकर्ताको नोक्सान हुँदैन । तपाईहरु डराउनुपर्दैन ।’

चोरी गर्दागर्दा थाहा पाएकाले ठूलो नोक्सानीबाट जोगिएको बैंकर्स संघले बताएको छ । ‘सिस्टममा मालवेयर अट्याक भएको देखिएको छ तर सफ्टवेयरको कुन पार्ट कम्प्रमाइज गरियो भन्ने छानविन भइरहेको छ’ उनले भनेका छन्, ‘भिसा सिस्टमबाटै स्वीकृति लिएर पैसा निकालेको देखिएको छ ।’

रकम चोरिने खतरा भएकोले शनिबार राति केही बैंकहरुको सर्भर डाउन गरिएको उनले जानकारी दिए । आइतबार कार्यालय शुरु भएपछि एटीएम कारोबार शुरु गरिएको ढुगानाले बताए । ‘अहिले हामी सुरक्षित छौं, निक्षेपकर्तालाई नआत्तिन आग्रह गर्दछु´ उनले भने ।

हालसम्म १ करोड ६८ लाख रुपैयाँ क्षति भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए । उनले पनि सर्वसाधारणको खातामा भएको रकममा कुनै जोखिम नरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment