Comments Add Comment

वीरगञ्जको जिएचपी स्कुलबाट तीन दिनदेखि बालक बेपत्ता

१५ भदौं, वीरगञ्ज । वीरगञ्ज पावर हाउसस्थित जिएचपी स्कुलबाट एक जना विद्यार्थी तीन दिनदेखि बेपत्ता भएका छन् ।

जिएचपी स्कुलको कक्षा ६ सेक्सन ‘बी’ मा अध्ययनरत १३ वर्षीय विद्यार्थी अमित कुमार चौरसिया बेपत्ता भएका हुन् । बिहीबार अपरान्ह ३ बजेदेखि नै अमित सम्पर्कबिहिन भएपछि अभिभावक चिन्तित भएका छन् ।

अमित, पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारी घर भएका पन्नालाल चौरसियाको कान्छो छोरा हुन् । पन्नालालको परिवार वीरगञ्ज महानगरपालिका–१३ राधेमाईमा बस्दै आएका छन् । मासिक १२ हजार रुपैयाँ शुल्क तिर्ने गरी अमितलाई गत वैशाखदेखि जिएचपी स्कुलको होस्टलमा राखिएको थियो ।

छोरा हराएको तीन दिन वितिसक्दा पनि फेला नपरेको बालकका बुवा पन्नालाल चौरसियाले बताए । ‘छोरालाई जिएचपीमा बोडर्स गरेर राखेकोले हामी ढुक्क थियौं, स्कुलबाटै बिहीबार ५ बजेतिर अचानक बच्चा घर आएको हो ? स्कुलमा छैन भनेर फोन आयो ।’ उनले भने, ‘राम्रोसँग केयर हुन्छ भनेर होस्टल राखियो, तर होस्टलबाटै छोरो हरायो ।’

विद्यालयको सीसीटीभीमा दिउँसो ३ बजेर ७ मिनेटमा विद्यार्थीको छुट्टी हुँदा दुई जना विद्यार्थीको पछि लागेर अमित पनि बाहिर निस्केको देखिएको छ । विद्यालयको लापरवाहीले नै छोरो हराएको आरोप बालकका बुवा पन्नालालको छ । ‘बोडर्स गरेको विद्यार्थी गेट पास नभई कसैलाई दिँदैन । होस्टलमा भएको विद्यार्थीकाबारेमा विद्यालयले ध्यान दिनुपर्ने हो, लापरबाही गरेको देखियो ।’ उनले भने ।

सबैतिर खोजतलास गर्दा पनि फेला नपरेपछि परिवार तनावमा रहेको उनको भनाई छ । ‘तीन दिन भईसक्यो, अहिलेसम्म छोरा फेला परेको छैन । आफन्त सबैतिर खोजतलास गरिसक्यौँ । परिवारका सबै सदस्य छोरा हराएको पीडामा छन् ।’ उनले भने, ‘बच्चाले केही पनि नभनी हिँडेकोले चिन्ता बढेको छ ।’

छोराको खोजीका लागि प्रहरीकोमा खबर भइसकेको अमितका काका पन्नालाल चौरसियाले बताए । जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी गौतम थापाले बालक हराएको जानकारी आएको र त्यसबारे अनुसन्धान सुरु भइसकको बताए । ‘बालक स्कुलबाट हराएको भन्ने जानकारी आएको छ ।’ उनले भने, स्कुल र परिवारका सदस्यसँग समन्वय गरेर खोजी कार्य अघि बढाइ सकेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment