+
+
Shares

प्रधानमन्त्री र मन्त्रीबीच दोस्रोपटक भिडियो कन्फरेन्स

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १७ गते १३:५१

१७ भदौ, काठमाडौं । सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रोपटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गरेका छन् ।

कुनै एजेण्डामा निर्णय नभए पनि आ-आफ्नो मन्त्रालयमा भएका काम कारवाहीबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको एक मन्त्रीले बताए ।

मन्त्रालयका समस्याहरु र मन्त्रिपरिषद बैठक नबस्दा रोकिएका कामबारे समेत प्रधानमन्त्रीले चासो राखेका छन् । यसअघि प्रधानमन्त्रीले संसदीय काम कारवाहीका बारेमा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँग छलफल गरेका थिए ।

मिर्गौलाको उपचार गर्न सिंगापुर गएका प्रधानमन्त्री ओलीले पहिलो पटक ९ भदौमा मन्त्रिपरिषदका सदस्यहरुसँग भिडियो कन्फरेन्स गरेका थिए । सो भिडियो कन्फरेन्सलाई स्वयं प्रधानमन्त्री ओली र उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘मन्त्रिपरिषद बैठक’ भनेपछि वैधानिकतामा प्रश्नमात्र उठेन, संसदमा समेत सरकारको आलोचना भएको थियो ।

प्रमुख प्रतिपक्षी कांग्रेसले आधुनिक प्रविधिको उपयोग गर्नु राम्रो भए पनि भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गर्दा सूचना चुहिने भन्दै विरोध गरेको थियो ।

तर, सरकारका प्रवक्ता एवं सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भने सो बैठकलाई ‘भिडियो कन्फरेन्सिङको पहिलो अभ्यास’ मात्र भनेका थिए । उनले प्रधानमन्त्रीले ‘हेलो’ मात्र भनेको र आफूहरुले नमस्कार मात्र गरेको जवाफ संसदमा दिएका थिए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल सिंगापुर प्रस्थान गरेका छन् । नेकपा उपाध्यक्ष वामदेव गौतम पनि जाने भनिएकोमा पौडेलमात्र सिंगापुर गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?