Comments Add Comment

भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक प्रविधिको दुरुपयोग : कांग्रेस

१० भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गरेकोमा आपत्ति जनाएको छ ।

सरकारले हालै मात्र मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधन गरेर प्रधानमन्त्री देश बाहिर रहँदा भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था गरेको थियो । त्यसअनुसार प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा रहेका बेला सोमबार भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बसेको थियो ।

मंगलबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधनको विरोध गरे । आधुनिक प्रविधिको उपयोग गर्नु राम्रो भए पनि भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गर्दा सूचनाबाट पनि चुहिने र गोपनीयता नरहने उनको तर्क छ ।

प्रधानमन्त्री विदेश गएका बेला उपप्रधानमन्त्रीलाई कार्यबाहकको जिम्मेवारी दिएको स्मरण गर्दै उनले भने, ‘भिडियो कन्फरेन्सबाट हेर्दा प्रधानमन्त्री कार्यरत नै हुनुहुन्छ । अर्कोतर्फ कार्यबाहक प्रधानमन्त्री पनि तोक्नुभएको छ । यो आफैंमा नमिल्ने देखियो । यस्ता गम्भीर गल्ती गर्नु हुँदैन ।’

प्रधानमन्त्री नहुँदा भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गर्ने हो भने सभामुख नहुँदा पनि प्रतिनिधिसभाको बैठक बस्न सक्छ भनेर नेता खाँडले प्रश्न गरे ।

‘राष्ट्रियसभाको अध्यक्ष अमेरिका गएको बेला त्यहीबाट भिडियो कन्फरेन्सबाट बैठक चलाउन मिल्छ कि मिल्दैन ? प्रधानन्यायाधीश विदेश जानु होला । उहाँले न्यायपालिकाको बैठक पनि भिडियो कन्फरेन्सबाटै गरिदिनु होला’ उनले भने ।

यो अनुचित रहेको भन्दै खाँडले भिडियो कन्फरेन्सबाट बैठक बस्न सक्ने गरी मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधन तत्काल हटाउन माग गरेका छन् । ‘यसले उच्च प्रविधिको सदुपयोग हुँदैन, दुरुपयोग हुन्छ’ उनले भने, ‘जग हसाउने काम भयो, भिडियो कन्फरेन्सको माध्यमबाट मन्त्रिपरिषद् बैठक हुन सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment