
१७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल सिंगापुर प्रस्थान गरेका छन् । नेकपा उपाध्यक्ष वामदेव गौतम पनि जाने भनिएकोमा पौडेलमात्र सिंगापुर गएका हुन् ।
सिंगापुर उड्नुअघि पौडेलले आफू प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न जान लागेको र सँगै फर्किने तय भएको बताए । उनले प्रधानमन्त्री स्वस्थ रहेको र नेतृत्वसँग नियमित सम्पर्कमा रहेको समेत जानकारी दिए ।
प्रधानमन्त्रीको छैटौं चरणको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार प्रक्रिया सोमबार भएको थियो । बुधवार अन्तिम चरणको उपचार प्रक्रिया सकिएपछि भदौ २० गते स्वदेश फर्किने बताइएको छ ।
यसैबीच सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रोपटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गरेका छन् । कुनै एजेण्डामा निर्णय नभए पनि आ-आफ्नो मन्त्रालयमा भएका काम कारवाहीबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको एक मन्त्रीले बताए ।
प्रतिक्रिया 4