Comments Add Comment

इजरायलमा दुई सन्तानसहित नेपाली महिला पक्राउ

Photo Credit : Moti Milrod । आप्रवासी महिलाबाट जन्मिएका आफ्ना सहपाठीको निर्धारित निर्वासन गर्ने निर्णयविरुद्ध गत अगस्ट १९ मा इजरायलका बालबालिकाले गरेको प्रदर्शन ।

१७ भदौ, काठमाडौं । इजरायलमा श्रमिकका रूपमा कार्यरत एक नेपाली महिलालाई तिनका दुई सन्तानसहित त्यहाँको प्रहरीले पक्राउ गरेको छ । अध्यागमनबाट खटिएका प्रहरीले इजरायलको हर्जलियास्थित निवासबाट बिहीबार बिहान बच्चासहित ती महिलालाई नियन्त्रणमा लिएको हो ।

इजरायली सञ्चार माध्यमहरूले ईश्वरा उप्रेती नाम गरेकी महिला पक्राउ परेको जनाएका छन् । उनीसँगै उनका नौ वर्षीय छोरा मिसेल र ५ वर्षीया छोरी सिरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ईश्वराको नेपालको स्थायी ठेगानाबारे भने समाचारमा खुलाइएको छैन ।

प्रहरी नियन्त्रणमा रहेकी ईश्वरा ज्येष्ठ नागरिकको सुसारेका रूपमा इजरायल पुगेकी थिइन् । इजरायलमा रहेका कामदारले आफ्नो अनुमतिपत्र नवीकरण गर्नुपर्ने प्रावधान भए पनि उनले त्यसो नगरिएपछि नियन्त्रणमा लिइएको त्यहाँको हारेज डटकमले उल्लेख गरेको छ । यद्यपि, उनी कति समयदेखि अवैध रूपमा त्यहाँ रहँदै आएकी थिइन् भन्ने खुलाइएको छैन । जन्म दिएका एक छोरा र छोरीका बावुबारे पनि अस्पष्ट छ ।

प्रहरी नियन्त्रणमा रहेका आमासहित दुवै बच्चालाई अहिले गिभन कारागारमा राखेर न्यायिक प्रक्रिया थालिएको छ । सोमबार मात्रै त्यहाँको अभिरक्षा अदालतले प्रक्रिया पूरा नभएसम्म तीनैजना हिरासतमा रहने फैसला सुनाएको छ ।

पक्राउ परेकी नेपाली महिलाबाट जन्मिएका मिसेल त्यहाँको विद्यालयमा अध्ययनरत छात्र हुन् । समाचारमा जनाइएअनुसार उनी आइतबारबाट कक्षा ४ को पढाइ सुरु गर्ने तयारीमा थिए ।

आफ्ना साथीहरूबाट छुटाएर हिरासतमा राखिनुको कारणबारे उनले केही बुझेका छैनन् । हिरासतमा पु¥याइएदेखि नै उनी निरन्तर रोइरहेको समाचारमा उल्लेख छ ।

महिलाको पक्षमा कुनै आवाज नउठे पनि बालकलाई नियमविपरीत नियन्त्रणमा लिइएकाले रिहाइ गर्न माग उठेको छ । इजरायलको आप्रवासीसम्बन्धी कानूनमा कक्षा चलिरहेका बेला आप्रवासी कामदारका सन्ततिलाई डिपोर्ट गर्न नपाइने नियममा टेकेर सरोकारवालाहरूले बालक पक्राउको विरोध गरेका हुन् ।

मानवियताका आधारमा उनीहरूलाई इजरायलमै रहन दिनुपर्ने माग राख्दै ती बालकका तर्फबाट ओर्टल सामी नाम गरेका एक व्यक्तिले प्रक्रिया थालेका छन् । उनले बालकको न्यायका लागि त्यहाँको आन्तरिक मामिला मन्त्रालयमा निवेदन दर्ता गराएको हारेज डटकमलाई बताएका छन् ।

इजरायलले पछिल्लो समय गैरआप्रवासी कामदार फर्काउने अभियान चलाएको छ । यसअन्तर्गत विनाअनुमति कार्यरतहरुलाई स्वदेश फर्काउन थालिएको छ । अभियान सञ्चालनपछि नेपाली फर्काइएको भने यो पहिलो घटना हो ।

लामो समयदेखि नेपालीहरू इजरायलमा श्रमका लागि जाने गरे पनि कतिको संख्यामा छन् भन्ने यकिन तथ्यांक छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment