Comments Add Comment

परदेशीको मुद्दामा ३९ जनाविरुद्व पक्राउ पुर्जी, ‘ऋणी’को भागाभाग

१७ भदौ, सर्लाही । लालबन्दी ४ की गीता चौधरीको परिवारले घर छाडेको ४ महिना भयो । एक छोरा, एक छोरी र पतिसँगै घर छाडेर हिँडेकी गीता सोमबार राति सुटुक्क घर आइन् । मंगलबार मिथिला क्षेत्रमा मनाइएको चौठचन्द पर्व मनाउन छोरा र छोरीसहित घर आएकी उनले भनिन्, ‘पर्व सकिएलगत्तै जान्छु ।’

लालबन्दी ५ की मरणीदेवी साह पनि प्रायः लुकेरै बस्छिन् । ‘कहिलेकाहीँ राति घर जान्छु’ उनी भन्छिन्, ‘कहिले छिमेकीको घर त कहिले अन्यत्र लुकेर बस्नुपरेको छ ।’

गीता र मरणीले कुनै अपराध गरेकी छैनन् । तर घर छाड्नुपर्ने कारण हो, श्यामकृष्ण साह परदेशी ।

यो पनि पढ्नुहोस सर्लाहीका ‘मिटरब्याजी’ श्याम परदेशी पक्राउ

गीताले परदेशीसँग २ लाख रुपैयाँ ऋण लिएकी थिइन् । आफूसँग भएको एक कठ्ठा जग्गा बेचेर रकम बुझाएकी पनि हुन् । तर आफ्नो र श्रीमानको नाममा बनाएको ५/५ लाखको झुटो तमसुक देखाएर परदेशीले मुद्दा गरेपछि पक्राउ पुर्जी जारी भयो ।

परदेशीले हालेकै मुद्दाका कारण मरणीको नाममा पनि तीन महिनअघि पक्राउ पुर्जी जारी भएको छ ।

परदेशीले हालेको मुद्दाका कारण उनीहरु जस्तै सर्लाहीको लालबन्दी, हरिपुर, ईश्वरपुर नगरपालिकाका धेरै महिला र पुरुष लुकेरै जीवन काट्न विवश भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोपालचन्द्र भट्टराईका अनुसार परदेशीले दायर गरेको मुद्दामा ३९ जनाविरुद्व पक्राउ पूर्जी जारी भएको छ ।

यो पनि पढ्नुहोस सर्वस्व गुम्यो तर सकिएन ऋण

२० जना महिला र १९ जना पुरुषविरुद्व सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । रकम बिगोअनुसार ६ महिनादेखि एक बर्षसम्मको कैद सजाय हुनसक्छ ।

परदेशीले ऋण दिँदा आफ्नो मात्र होइन, पत्नी मन्जु, छोरा सुजल, जेठी छोरी निशा, कान्छी छोरी निशा र ज्वाइँ रामबाबुलाई साहु कायम गरेर तमसुक बनाउँथे । ऋण नदिएको भन्दै उनले २०७० सालदेखि अदालतमा मुद्दा हाल्न थाले ।

अदालतका अनुसार परदेशीले जेठ २०७६ सम्म ७५ जना गरीव ऋणीबिरुद्व मुद्दा दायर गरेका छन् । यसमध्ये २ वटा मुद्दाको मात्रै फैसला हुन बाँकी छ ।

हामी कानूनको पालना गर्छौं : एसपी भट्टराई

अदालतबाट पक्राउ पूर्जी जारी भएपछि परदेशीबाट ऋण लिएकाहरुको भागाभाग भएको छ । ईश्वरपुर नगरपालिकाका कारी धामीलाई प्रहरीले पक्राउ गरेपछि धेरैले घर छाडे ।

तर, सर्लाहीका प्रहरी प्रमुख एसपी भट्टराईले आफू र आफ्नो संगठनले अदालतको आदेश मात्र पालना गरेको बताए । पक्राउ पुर्जी जारी भएकाहरु पक्राउ पर्छन् ? भन्ने प्रश्नमा उनले यति मात्र भने, ‘हामी कानूनको पालना गछौं ।’

यो पनि पढ्नुहोस श्याम परदेशीको कर्तुत : महिला ऋणीमाथि गिद्धे नजर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment