
१७ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष ०७६/७७ को पहिलो महिना नौ वटा भन्सार कार्यालयहरुले एक रुपैयाँको वस्तु पनि निर्यात गर्न सकेनन् ।
साउनमा नेपालले ८ अर्ब ८३ करोड ७० लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेकोमा नौ भन्सार कार्यालय शून्यमा रहेका हुन् ।
भन्सार विभागले जारी गरेको विवरणअनुसार कुल २४ भन्सार कार्यालयमध्ये भद्रपुर, जलेश्वर, जनकपुर, महेशपुर, सर्लाही, सति, सिराहा, तातोपानी र तादी भन्सार कार्यालयबाट कुनै पनि वस्तु निर्यात भएनन् । आयात भने सबै भन्सार कार्यालयबाट भएका छन् ।
सबैभन्दा धेरै वीरगञ्ज भन्सारबाट २ अर्ब ५७ करोड ९४ लाख ७५ हजार बराबरको वस्तु निर्यात भएको छ । यो कुल निर्यातको २९.१९ प्रतिशत हो ।
निर्यात व्यापारमा विराटनगर भन्सार दोस्रो स्थानमा छ । कुल निर्यातको २८.१६ प्रतिशत अर्थात २ अर्ब ४८ करोड ८४ लाख १७ हजारको निर्यात यो भन्सार कार्यालयबाट भएको छ ।
तेस्रो धेरै निर्यात गर्ने भन्सार कार्यालय त्रिभूवन विमानस्थल भन्सार कार्यालय हो । निर्यातको २१.८१ प्रतिशत अर्थात् एक अर्ब ९२ करोड ७० लाख ३५ हजारको बराबरको वस्तु निर्यात विमानस्थल भन्सारले गरेको छ ।
त्यसपछि मेची भन्सार कार्यालयले कुल निर्यातको ११.८४ प्रतिशत हिस्सा ओगटेको छ । यहाँबाट १ अर्ब ४ करोड ६४ लाख १३ हजार रुपैयाँ बराबरको वस्तु निकासी भएको छ ।
भैरहवा भन्सारबाट २७ करोड ४५ लाख, रसुवाको टिम्मुरे भन्सारबाट १३ करोड ८७ लाख, नेपालगन्ज भन्सारबाट ७ करोड ४८ लाख, कैलालीबाट ४ करोड ३५ लाख, कञ्चनपुर भन्सारबाट एक करोड ६० लाख, कृष्णनगर भन्सारबाट १ करोड २२ लाख बराबरको निर्यात भएको छ ।
यस्तै सुथौली भन्सारले ४१ लाख, सुनसरी भन्सारले ८१ हजार, राजविराज भन्सारले ३ लाख र गौर भन्सारले ११ लाख बराबरको निर्यात गरेका छन् ।
आर्थिक वर्षको पहिलो महिना नेपालले एक खर्ब ६ अर्ब ७२ करोड ५३ लाख १८ हजारको आयात गरेको थियो ।
आयातको तुलनामा निर्यातदर न्यून हुँदा चालू आर्थिक वर्षको पहिलो महिनाको ब्यापार घाटा नै ९७ अर्ब ८८ करोड ८२ लख ३२ हजार पुगेको छ ।
प्रतिक्रिया 4