Comments Add Comment

२४ सहकारीलाई एशियाली मापदण्डको एक्सेस ब्राण्ड

१८ भदौ, बुटवल । प्रदेश ५ का चारसहित २४ वटा वचत तथा ऋण सहकारी संस्था (साकोस) ले एशियाली मापदण्डको एक्सेस ब्राण्ड पाएका छन् ।

रजत स्तरको एक्सेस ब्राण्ड पाउनेमा रुपन्देहीका एकसहित आठ वटा र कास्य स्तरको एक्सेस ब्राण्ड पाउने १६ वटा साकोस रहेका छन् । जसमध्ये प्रदेश ५ को रुपन्देहीका जनउत्थानले रजत स्तरको र कोलिय देवदहले कास्य स्तरको एक्सेस ब्राण्ड प्राप्त गरेका छन् ।

यस्तै पश्चिम नवलपरासीको ग्रामीण साकोस र बर्दियाको सिको साकोसले रजत स्तरको एक्सेस ब्राण्ड पाएका छन् । रजत स्तरको एक्सेस ब्राण्ड पाउनेहरुमा काभ्रेपलाञ्चोकका विन्धबासिनी र सामुदायिक, दोलखाका जनसचेतन र मिलिजुली, धादिङको जनकल्याण, सुनसरीको किसान कल्याण र मोरङको मनकामना साकोस रहेका छन् ।

यस्तै कास्य स्तरको एक्सेस ब्राण्ड पाउने नवलपुरका चार वटा, भक्तपुरका तीनवटा, काभ्रेपलान्चोक र मोरङका दुई–दुईवटा तथा सुनसरी र दोलखाको एक–एक वटा सहकारी रहेका छन् ।

नवलपुरका विकु, गैंडाकोट स्वाभिमान, किसान र परोपकार, भक्तपुरका बाराही, सिद्धिगणेश र उपकार,काभ्रेपलाञ्चोकका बुडोल सामुदायिक र चण्डेश्वरी, मोरङको दाम्राभिटा र इटहरा, दोलखाको हाम्रो जनकल्याण र सुनसरीको महिला साकोसले कास्यस्तरको एक्सेस ब्राण्ड पाएका हुन् । यो ब्राण्डको मानयता एक वर्षको हुने छ । २५ वटा साकोसले आवेदन दिएकामा ललितपुर लुभुको कल्याणकारीले ब्राण्ड पाउन नसकेको हो ।

नेपाल वचत तथा ऋण सहकारी संघ (नेफ्स्कून)को अगुवाईमा नेपालमा २०६५ सालदेखि एशियाली स्तरको गुणस्तर सुनिश्चितता कार्यक्रम (एवन कम्पेटिटिभ च्वाइस फर एक्सेलेन्स सर्भिस एण्ड साउन्डनेस–एक्सेस) कार्यक्रम सुरुवात भएको हो ।

सहकारी संस्थालाई सुरक्षित, बलियो, दिगोरुपमा संचालन गर्न एक्सेस ब्राण्डलाई निकै महत्वपूर्ण सूचक मानिन्छ । एक्सेस ब्राण्ड प्राप्त गर्नका लागि एशियाली ऋण महासंघले दिएको ८६ वटा सूचांकहरु पुरा गर्नुपर्ने प्रावधान छ ।

नेपालमा बचत तथा ऋण सहकारी संस्थाहरुको प्रभावकारी अनुगमनको अभावमा जोखिम भएको भन्दै आलोचना भइरहेका बेला एक्सेस ब्राण्डले सहकारीप्रतिको विश्वास बढाउने जनउत्थान साकोसका व्यवस्थापक रनबहादुर थापाले बताए ।

सुरुको वर्ष चार वटा सहकारी मात्र यो ब्राण्ड पाउन आवेदन दिएकामा हरेक वर्ष संख्या बढ्दै गएको नेफ्स्कुनका केन्द्रीय सदस्य कृष्ण नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment