Comments Add Comment

पिपी प्रसाईं राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार डा. कँडेललाई  

१९ भदौ, काठमाडौं । पिपी प्रसाईं फाउन्डेशनले शिक्षा र पर्यटन क्षेत्रमा विशिष्ट योगदान पु¥याउने सामुदायिक विद्यालयका शिक्षक तथा पर्यटन व्यवसायीलाई पुरस्कृत गरेको छ ।

फाउन्डेशनद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘पिपी प्रसाईं राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार, २०७६’ चितवनको श्री भीमोदय माध्यमिक विद्यालयका शिक्षक डा हरिप्रसाद कँडेललाई प्रदान गरेका हुन् । सो पुरस्कारको राशि रु एक लाख रहेको छ । ‘पिपी प्रसाईं टुरिज्म लाईफटाइम अचिभमेन्ट अवार्ड २०१९’ बाट पर्यटन व्यवसायी रवीन्द्रराज पाण्डेलाई पुरस्कृत गरियो ।

यसैगरी ‘उत्कृष्ट शिक्षक पुरस्कार–२०७६’ प्रदेश नं १ बाट श्री बाल सुबोधेनी आधारभूत विद्यालय मेचीनगर झापाका शिक्षक विश्व थापा, प्रदेश नं २ बाट श्री देउराली माध्यमिक विद्यालय महोत्तरीका शिक्षक केदारबहादुर कोइराला र प्रदेश नं ३ बाट ज्ञानोदय मावि बाफल कालीमाटीका शिक्षिका अन्जु लामालाई प्रदान गरियो ।

यस्तै गण्डकी प्रदेशबाट अमरसिंह माध्यमिक विद्यालय र केफ मावि कास्कीका शिक्षक केशवप्रसाद पराजुली, प्रदेश नं ५ बाट श्री सिद्धबाबा माध्यमिक विद्यालय गुल्मीका शिक्षक डोरविक्रम श्रीस, कर्णाली प्रदेशबाट श्री हिमज्योति आधारभूत विद्यालय डोल्पाका शिक्षक तुलबहादुर विष्ट र सुदूरपश्चिम प्रदेशबाट श्री महेन्द्रनगर नमूना माध्यमिक विद्यालय कञ्चनपुरका शिक्षक ललितसिंह साउदलाई प्रदान गरियो । यो पुरस्कारको राशि जनही रु ५०/५० हजार रहेको छ । विजयी शिक्षकले अध्ययन गराउने सबै विद्यालयलाई रु १०/१० हजार बराबरको शैक्षिक सामग्री प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

सो अवसरमा शिक्षामन्त्री पोखरेलले सामुदायिक विद्यालयको गुणस्तर सुधार अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्दै सरकारले २०७५–०८५ लाई सामुदायिक विद्यालय सवलीकरण दशक घोषणा गरेर विद्यालय क्षेत्र सुधारको प्रयत्न अगाडि बढाएको बताए । सबैको सामूहिक प्रयत्नबाट मात्र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने प्रष्टयाउँदै उनले गुणस्तर सुधारमा शिक्षक, अभिभावक तथा विद्यार्थी सबैको सहयोगको खाँचो औँल्याए ।

सम्मानित शिक्षक डा कँडेलले आफूलाई गरिएको सम्मानले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन थप प्रेरणा दिएको बताए  । शिक्षकको पढाउने शैली, बाल मनोविज्ञान, विद्यार्थीको आवश्यकताप्रति उनीहरुको बुझाइ, शिक्षाप्रतिको प्रतिबद्धता, सिर्जनशीलता, अभिभावक तथा समाजसँगको सम्बन्ध र स्थानीय अभिभावक तथा समुदायको सिफारिसलगायत आधारमा पुरस्कारका लागि सिफारिश गरिएको छनोट समितिका संयोजक धनन्जय शर्माले जानकारी दिए । पुरस्कारका लागि सार्वजनिक रुपमा आह्वान गरेर देशभरका सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकसँग आवेदन माग गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष शिखर प्रसाईंले विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकलाई उचित सम्मान र हौसला प्रदान गर्न तथा शिक्षण पेशामा आकर्षित गर्ने उद्देश्यले पुरस्कारको स्थापना गरिएको बताए ।

गतवर्षसम्म पाँच विकास क्षेत्रका आधारमा शिक्षकको छनोट गर्ने गरिएको भए पनि यसवर्षदेखि मुलुकको सङ्घीय संरचनाका आधारमा सातै प्रदेशबाट एक/एक जना उत्कृष्ठ शिक्षक छनोट गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले हालसम्म ४५ शिक्षक र पाँच पर्यटन व्यवसायीलाई पुरस्कृत गर्दै आएको छ ।

पर्यटन व्यवसायी प्रजापति प्रसाईंको ग्रामीण क्षेत्रसम्म शिक्षा र पर्यटनको विकास गर्ने सपनालाई मूर्त रुप दिन २०६७ साल फागुन ६ गते फाउन्डेशनको स्थापना गरिएको थियो । प्रसाईंको आजकै दिन विसं २०५६ भदौ १९ गते दहचोकमा भएको हवाई दुर्घटनामा परी निधन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment