+
+

सेतो पुतलीको प्रकोप : गुम्नसक्छ आँखाको ज्योति !

विकास रोकामगर विकास रोकामगर
२०७६ भदौ १९ गते २०:२८

१९ भदौ, पोखरा । ट्युबलाइटको उज्यालो कोठाभरि थियो । बेडमा सुकमाया (परिवर्तित नाम) की ३८ दिनकी छोरी सुतिरहेकी थिइन् । ट्युबलाइट वरिपरि सेतो पुतली घुमिरहेको थियो । सुकमायाले पुतली धपाउन खोजिन् । पुतली उडेर झन् छोरीको छेउमै आयो । केहीबेरमा सुकमायाकी छोरी असामान्य रुपले रुन, कराउन थालिन् । हेर्दाहेर्दै आँखा रातो हुन थाल्यो । ‘छोरी रोएर आँखा रातो भयो होला’ भन्ठानेर वास्ता गरिनन् ।

तर जब बिहान छोरीको आँखा पूरै सुन्निएको र नानीभित्र केही सेतो दाग देखिन । उनको मनमा चिसो पस्यो । छोरीलाई हिमालयन आँखा अस्पताल पुर्‍याइन् । डाक्टरले नानीको आँखाबाट पुतलीको रौं निकालेर औषधि गरिदिए । तर आँखाको भित्री पर्दामा पिप जमिसकेको थियो । त्यसैले थप उपचारका लागि काठमाडौं रिफर गरे ।

सुकमाया छोरी लिएर काठमाडौं पनि पुगिन्, तर सेतो पुतलीकै कारण उनकी छोरीको एउटा आँखाको दृष्टि गुमिसकेको छ ।

०००

तीज मनाउन माइत गएकी ४० वर्षीया स्वीकृति (परिवर्तित नाम) एक हप्तापछि घर आइन् । ओछ्यानमा अलिअलि धुलो बसेको थियो । ओछ्यान मिलाउँदै गर्दा सेतो पुतली देखियो । केहीबेरपछि आँखा चिलाउन थाल्यो ।

आत्तिँदै अस्पताल पुगिन् । डाक्टरले परीक्षणपश्चात समस्याको कारण सेतो पुतली भएको थाहा भयो । अहिले ककाठमाडौंको तिलगंगा आँखा अस्पतालमा चिकित्सकहरुको निगरानीमा उनको उपचार भइरहेको छ ।

सुकमायाकी ३८ दिनकी छोरी र स्वीकृति सेतो पुतलीका कारण आँखामा गम्भीर समस्या भोग्ने केही प्रतिनिधि पात्र मात्र हुन् ।

पोखरामा फेरि सेतो पुतलीको कारण आँखामा लाग्ने खतरनाक रोग देखा परेको छ । जुन रोग सेतो पुतलीको झुस आँखामा परेपछि लाग्ने सापु (सिजनल हाइपरएक्युट पनुभिआइटिस) भएको डाक्टरको दाबी छ । सेतो पुतलीका कारण आँखामा लाग्ने सापु यस्तो रोग हो, समयमै अस्पताल नगए दृष्टि नै गुम्न सक्छ ।

४४ वर्षअघि पोखराबाटै भेटिएको रोग !

सेतो पुतलीको झुसका कारण लाग्ने यो रोग पोखराबाटै उत्पति भएको चिकित्सकको दाबी छ । नेपालमै पहिलो पटक २०३२ मा १६ वर्षमुनीका बालबालिकामा यो रोग देखिएको थियो । यो रोग पत्ता लगाएका डाक्टर मदनकुमार उपाध्याय भन्छन्, ‘यो रोग पहिले ‘आँखा पाक्ने रोग’मै सिमित थियो । तर पछि आँखा पाक्नेभन्दा गम्भीर प्रकृतिको देखियो ।’

लामो अनुसन्धानपछि उनै डाक्टर उपाध्यायले यो रोगलाई ‘सापु’ नाम दिएका थिए । २ वर्षअघि पोखरामा ५ वर्षको अन्तरालमा यो रोग देखिएको थियो । त्यसको २ वर्षपछि यसपटक सापुको प्रकोप पोखरामै देखिएको छ ।

यसवर्ष भदौ दोस्रो साता फेरि यो रोग देखिएपछि बिहीबार काठमाडौंबाट डा. उपाध्याय नेतृत्वको टोली पोखरा आइपुगेको छ । यो प्रत्येक २ वर्षमा देखा पर्ने खतरानाक रोग भएको टिचिङ अस्पतालका डाक्टर मदनकुमार उपाध्याय बताउँछन् ।

चिकित्सकहरुका अनुसार यो रोग पोखराबाट अन्यत्र पनि फैलिएको छ । वीपी कोइराला नेत्र अध्ययन केन्द्रकी आँखा रोग विशेषज्ञ डा. रञ्जु खरेल सिटौलाकाअनुुसार यकीन  तथ्यांक नभए पनि हालसम्म करिब १५ हजारले सापुकै कारण प्रभावित भएको अनुमान छ । ‘प्रत्येक ५ जनामा एक जना अस्पतालको सम्पर्कमा आउँछ । यो समस्या सहरमा भन्दा गाउँमा बढी भएकाले पनि एकीन तथ्यांक निकाल्न गाह्रो छ,’ उनले भनिन् ।

डा खरेलले पछिल्लो समय सापु रोग महामारीकै रुपमा फैलिँदै गएकोमा चिन्ता व्यक्त गरिन् । ‘यो रोगले छोटो समयमै आँखामा समस्या पार्छ,’ उनले भनिन्, ‘यसलाई थोपा औषधिले काम गर्दैन । इन्जेक्सन वा शल्यक्रिया गर्नुपर्छ ।’ उनले शल्यक्रिया गर्न १५ देखि २० हजारसम्म खर्च लाग्ने जानकारी दिइन् ।

गण्डकी प्रदेशमा धेरै

सेतो पुतलीको झुसका कारण लाग्ने यो रोग पछिल्लो समय गण्डकी प्रदेशमा सबैभन्दा धेरै देखिएका छन् । बिहीबारसम्म हिमालय आँखा अस्पतालमा यही समस्या लिएर ६ जना आइपुगेका छन् । गण्डकीमा पनि कास्की जिल्लालाई यो रोगको धेरै जोखिममा रहेको हिमालय आँखा अस्पतालका डाक्टर हरिमाया गुरुङ बताइन् । उनले अस्पतालको सम्पर्कमा आएका ३५ पीडितमध्ये कास्कीका मात्रै ३० जना विरामी रहेको बताइन् ।

‘पछिल्लो पटक सन् २०१७ मा देखिएको थियो । त्यसको २ वर्षपछि फेरि यो वर्ष देखिएको छ,’ डा गुरुङले भनिन्, ‘यो रोग प्रत्यक २÷२ वर्षमा देखिँदै आएको छ । बुधबारमात्रै एकैदिनमा ४ जना विरामी भर्ना भएका छन् ।’ यस वर्ष भदौ १६ गतेभन्दा अघि १ जना र त्यसपछि ५ जना अस्पतालको सम्पर्कमा आएको उनले सुनाइन् ।

४८ घन्टाभित्रै अस्पताल नपुर्‍याए ज्योति गुम्नसक्छ

धुलोका काणहरु पर्नेदेखि विभिन्न कारणले आँखा चिलाउने, रातो हुने जस्ता समस्या आउँछ । तर सापुकै कारण हो भनेर कसरी छुट्याउने त ? डा. उपाध्याय भन्छन्, ‘आँखा अचानक रातो हुँदै जान्छ, नानीमा सेतो दाग देखिनथाल्छ, उज्यालोमा हेर्न गाह्रो हुन्छ । र कम समयमै आँखाको ज्योति कमजोर भयो भने सापु हो ।’

यस्तो हुँदा आफैं औषधि किनेर हाल्न नहुने भन्दै डा. उपाध्यायले भने, तत्काल अस्पताल पुर्‍याइएन भने ज्योति नै गुम्न सक्छ ।’

४८ घन्टाभित्र उपचार भए निको हुनसक्ने डा. उपाध्याय जानकारी दिए । तत्काल उपचार गर्दा आँखाको ज्योति गुम्ने खतरा कम हुन्छ,’ उनले भने ।

सेतो पुतली उज्यालो बत्तिमा बढी आकर्षित हुने हुनाले त्यसबाट बच्न उनले सुझाए । ‘सेतो पुतलीको सिधा संसर्गबाट मात्रै होइन, पर्दा, सिरक, टाबेल झ्यालबाट पनि समस्या निम्त्याउन सक्छ,’ उनले भनेका छन् ।

पत्ता लागेको छैन कारण

सापु सेतो पुतलीका कारण रोग भए पनि के कारण इन्फेक्सन हुन्छ भन्ने पत्ता लागेको छैन । कारण पत्ता नलाग्दा उपचारमा पनि समस्या भइरहेको छ । ४४ वर्ष भइसक्दा पनि यसको मुख्य कारण किन पत्ता लाग्न सकेन त ? ‘टक्सिन वा अन्य केही कारणले हो भन्ने अझै पत्ता लगाउन सकेका छैनौं । सायद मेरो पालामा नलाग्न पनि सक्छ । तर, यसैको खोज गर्न दोस्रो, तेस्रो पुस्ता आइसकेको छ,’ उपाध्यायले भने ।

कसरी चिन्ने सापु फैलाउने पुतली ?

डाक्टरहरुका अनुसार सेतो पुतली करिब ३ सय प्रजातिका छन् । त्यसमध्ये एक प्रजातिको सेतो पुतलीमा शीरतिर तेर्सो र पखेटातिर ठाडो कालो धर्को हुन्छ ।

यो उज्यालो वस्तु जस्तै बत्ति, पर्दा, कपडा, झ्यालमा बढी आकर्षित हुने चिकित्सक बताउँछन् । पोथी सेतो पुतलीले अण्डा ढाक्न प्रयोग गर्ने झुसका कारण धेरै यो रोग फैलिएको डा. रञ्जुले जानकारी दिइन् ।

यो पुतली पोखरा आसपासमै बढी पाइने अध्ययनले देखाएको छ ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?