Comments Add Comment

अवसर देशभित्रै छ, कुदाकुद किन ?

२० भादौ, काठमाडौं । पदयात्रा र साहसिक पर्यटन नेपालमा निकै लोभलाग्दो गरी फस्टाएको छ । आजभन्दा ४१ वर्ष अगाडी हामीले ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) स्थापना गर्दा मुस्किलले एक दर्जन व्यवसायी यसमा आवद्ध थिए । आज यो संख्या १९ सय पुगेछ । यसबाट पनि नेपालमा साहसिक पर्यटक कति फस्टाएछ भन्ने प्रष्ट हुन्छ ।

हामी भ्रमण वर्ष २०२० को संघारमा छौं । भ्रमण वर्ष मनाइरहँदा नेपाल आउने पर्यटकले पटक–पटक आउने वातावरण कसरी बनाउने भन्ने सन्दर्भमा काम गर्नु आवश्यक छ । किनकी नेपालको समृद्धिको आधार नै पर्यटन उद्योग हो । पर्यटनको सन्दर्भमा वहस गर्दा निजी क्षेत्रको योगदानलाई बिर्सेर हामी अगाडी बढ्न सक्दैनौं । नेपालमा ट्रेकिङ होस या टूर, हरेक प्रकारका प्रडक्टमा निजी क्षेत्रले उल्लेख्य योगदान गरेको छ । त्यसैले तपाई (व्यवसायी) निकै महत्वपूर्ण हुनुहुन्छ ।

हामी आफ्नो काम गर्दा पहिले नेपाल र त्यसपछि म भन्ने भावनाले काम गरौं । हामी इमानदार भई काम ग¥यौं भने आफ्नो त उन्नती हुन्छ नै, देशको पनि शीर उच्च हुन्छ ।

साहसिक पर्यटनको नेपालमा जति सम्भावना रहेको छ, पछिल्लो समय भएको परिवर्तनले उत्तिकै चूनौति पनि थपिएको छ । सडक यातायातका कारण परम्परागत पदयात्रा मार्ग लोप हुने अवस्थामा पुगेका छन् । त्यसकारण अब नयाँ–नयाँ विकल्प खोज्नेतर्फ अग्रसर हुनु जरुरी रहेको छ । यसको नेतृत्व टानले गर्न सकोस् ।

नेपाल संसारको एक सुन्दर मुलुक हो । हामीले गर्व मान्नुपर्छ, कि हामी यस देशका नागरिक हौं । हामीसँग के छैन ? सबथोक छ । तर, हामी आफैले आफ्नो क्षमता चिन्न सकिरहेका छैनौं । हामी गरिब छैनौं, हाम्रो मानसिकता मात्र गरिब हो । नेपालमा काम छैन भन्दै दैनिक हजारौं युवा बाहिरिएका छन् । यो बिडम्बना हो । हामीसँग धेरै काम छ । अवसर छ, त्यो चिन्न सकिरहेका छैनौं । एउटा पदयात्रा पर्यटनबाट मात्रै लाखौं यूवाले स्वदेशमा रोजगारी पाउन सक्ने सम्भावना छ । यो सम्भावनालाई व्यवहारमा उतार्ने प्रयत्न गरौं ।

अब हामी सबै मिलेर नेपाल बनाउने हो । नेपालमा काम गर्ने मानिसले आज न्यूनतम १ हजार रुपैयाँदेखि माथि आम्दानी गर्छ । विदेशको प्रतिकूल वातावरणमा के त्यो भन्दा आकर्षक कमाई छ त ? त्यसो भए हामी किन विदेश जान लालायीत छौं ? बाहिर गएर पाउने सास्तीभन्दा मुलुकभित्र आत्मसम्मानका साथ काम गर्ने अवसर छ, त्यसलाई खेर नफालौं ।

अवसरलाई आफू अनुकूल प्रयोग गरौं । पदयात्रामा जाने मानिसले अब खाना बोकेर जान सक्दैन । त्यसकारण उसका लागि आयातित खाना होइन, गाउघरँमै उत्पादन भएको खाना खुवाऔं, त्यसका लागि पनि त युवा गाउँमा बस्नु प¥यो । पैसा गाउँमै आइपुग्नेछ । त्यसो हुन सक्यो भने हामी सबैको प्रगति हुन्छ ।

हाम्रो दायित्व पर्यटन उद्योगका माध्यमबाट सबै नेपाली लाभान्वित बनाउने हो । सबैजना मिल्यौं भने असम्भव केही छैन । सामूहिक प्रयास गरौं, अवश्य सफल हुनेछौं ।

(ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)को ४१ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा टानकी संस्थापक अध्यक्ष श्रेष्ठले व्यक्त गरेको बिचारको सम्पादित अंश )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment