Comments Add Comment

आमा ! बुवालाई पनि गयो भनिदिनू है

२० भदौ, काठमाडौं । हुर्किँदै गरेको अशोकाका विरुवाहरुले छेकिएको अधुरो घर । घरको अगाडिपट्टि बालुवा चाल्न ठिक्क पारिएको तारजाली छ । शुक्रबार विहानको कलिलो घाममा त्यही घरको पिँढीको डिलमा सुस्ताइरहेकी आमा छिन् । घरभित्र टाउकोमा सेतो कपडा बेरेर पति वियोगमा छट्पटाइरहेकी लक्ष्मी । अनि निन्याउरो मुख लगाएर कुनातिर उभिरहेका दुई छोरा ।

अफगानिस्तानको कावुल सोमबार भएको बम विस्फोटमा मारिएका कृष्णबहादुर थापाको घर पुग्दा यस्तै दृश्यहरु देखियो । जिल्ला सदरमुकाम भरतपुरदेखि करिब १४ किमी पश्चिममा रहेको पार्वतीपुर बजार पुगिन्छ । त्यहाँबाट केही दक्षिणमा पर्ने कालिका चोक नजिकै कृष्णबहादुरको अधुरो घर छ ।

अधुरो घरको अधुरो सपना पूरा गर्न कावुल पुगेका कृष्णबहादुरले फेरि कहिल्यै टेक्ने छैनन् यो घरको दैलो । डाँडामाथिको जूनजस्तै बनेका वृद्ध वुवाआमासँग छोरो जन्माएको, हुर्काएको, पढाएको र बढाएको स्मृति मात्र बाँकी छन् ।

श्रीमती लक्ष्मीसँग बितेका मिठा यादहरु मात्र । तीजको दिन राति पौने १० बजे अफगानिस्तानको राजधानी काबुलस्थित ग्रिन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा कृष्णबहादुरसहित रोल्पाका चन्द्र पुनले ज्यान गुमाए ।

ग्रीन भिलेज क्याम्प विदेशीहरू बस्ने भवन हो । ‘गार्दा वर्ल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा उनीहरु कार्यरत थिए । ४५ दिनको विदा सकेर काबुल फर्किएको १२ औं दिनमा कृष्णबहादुरले आत्मघाती आतंकवादीको हमला परे । विगत १० बर्षदेखि क्यानेडियन सुरक्षा कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत उनी ३ भदौमा अन्तिम पटकका लागि भन्दै काबुल गएका थिए । बाँकी हरहिसाब मिलाएर चाँडै फर्कने उनको वाचा थियो, परिवारसँग । तर ५१ वर्षकै उमेरमा विदेशी भूमिमा अस्ताए ।

परिवारका सबै सदस्यको जोड थियो, भयो अब नजाऊ । पत्नी लक्ष्मीले त रोक्न निकै प्रयास पनि गरेकी थिइन् । श्रीमानको राहदानी पनि लुकाइदिएकी हुन् । तर विदा थपेर आउँछु भन्दै काठमाडौं हिँडेका कृष्ण काबुल पुगे । घरबाट निस्किएका कृष्णबहादुरले नत आमाबाबुलाई जान्छु भने नत छरछिमेकलाई ।

नाताले भिनाजु पर्ने कमल थापा मगर भन्छन्, ‘अघिल्लो दिनसम्म सँगै थियौं, एक वचन जान्छु भिनाजु पनि भनेन । विदेश अब नजाऊ भन्दा चुप लाग्थ्यो, बोल्दैनथ्यो ।’

काबुल जानुअघि जहाज चढ्ने बेलामा आमालाई फोन गरे । ‘आमा म काबुल जान लागे, छिट्टै फर्किन्छु । आफ्नो ख्याल गर्नु, बुवालाई पनि गयो भनिदिनू ।’

छोरासँग भएको कुराकानी सम्झिँदै चित्रकुमारी भक्कानिइन्, ‘छिट्टै आउँछु आमा भनेर गएको छोराको यस्तो हालत भयो । हे दैव हामीले के पाप गरेका थियौं यो सजाय दियौं ?’

कृष्णबहादुरका बहिनी, आमा, भाइ र छिमेकी ।

कृष्णबहादुर परिवारका जेठा छोरा हुन् । उनका तीन भाइ र एउटी बहिनी छन् । थापा परिवारको पूख्र्यौली थलो गोरखाको ताकु हो । वि.स. २०२२ सालतिर कृष्णका बुवा गुञ्जबहादुर चितवन झरेका थिए । गुञ्जबहादुर सेनाका जागिरे थिए । बुवाको बिँडो थाम्दै कृष्णबहादुर पनि सेनामा भर्ती भए । १४ वर्षअघि सेनाको जमदार पदमा अवकाश लिए । परिवारका सदस्यहरुका अनुसार घर बनाउँदा करिव ३५ लाख रुपैयाँ ऋण लागेको थियो । त्यही ऋण तिर्ने उपायको खोजीमा जोखिमयुक्त मानिने अफगानिस्तान पुगेका थिए ।

कृष्णका दुई छोरा छन् रमेश (२६) र रञ्जित (२४) रमेश पनि बैदेशिक रोजगारीका लागि दुई बर्ष अघि दुवई गएका थिए । रमेशको ३० अगष्टमा अन्तिम पटक बुवासँग कुराकानी भएको थियो । त्यतिबेला रमेशले आफू १९ सेप्टेम्बरमा घर जाने बताएका थिए । तर बुवाको निधनपछि रमेश नेपाल फर्किए ।

आईसीयूमा छन् बुवा

काबुलमा भएको विस्फोटमा छोराको मृत्यु भएको खबरले विक्षिप्त बनेका ७८ बर्षीय बुबा गुञ्जबहादुर थापा भरतपुरको एक अस्पताललको आईसीयूमा छन् । कृष्णबहादुरका जेठा छोरा रमेश दुवईबाट शनिबार राति चितवन आएका हुन् । रमेश बुवाको फोटोकपी जस्तै छन् ।

नाति रमेशलाई देख्नेवित्तिकै गर्लम्म अंगालो हालेर रोएका वृद्ध गुञ्जबहादुर त्यही बेहोस भएर लडेका थिए । उनलाई राति तीन बजेतिर एम्बुलेन्समा राखेर भरतपुरको चौंविसकोठीस्थित पुष्पाञ्जली अस्पताल लगिएको थियो ।

गुञ्जबहादुरको आईसीयूमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर रहेको चिकित्सक डा. भोजराज अधिकारीले जानकारी दिए । गुञ्जबहादुरका छोरा कृष्ण पनि नेपाल आउँदा डा. अधिकारी कहाँ चेकजाँच गराएर औषधि लिएर जान्थे ।

सरकारले शव चाँडै नेपाल ल्याइदियोस्

१६ भदौमा भएको विस्फोटमा ज्यान गुमाएका कृष्णबहादुरको शव अझै काबुलमा छ । शोकमा रहेको परवारले शवलाई नेपाल ल्याउन आवश्यक पहल गरिदिने सरकारसँग अपिल गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनमार्फत परराष्ट्र मन्त्रालय र सम्बन्धित देशको दूतावासमा अनुरोध गरिएको कृष्णका भाइले बताए ।

अफगानिस्तानलाई दिल्लीस्थित नेपाली दूतावासले हेर्ने गरेको छ । दिल्लीस्थित नेपाली दूतावासले घटनामा मृत्यु भएका कृष्णबहादुर र चन्द्र पुनको शव स्वदेश ल्याउने प्रक्रिया सुरु भइसकेको बताएको छ ।

कृष्णका जेठा छोरा रमेशले भने छिटो शव ल्याउन पहल गरिदिन सरकारसँग अपिल गरे । ‘हामी कहाँ जाऔं के गरौं’ रमेशले भने, ‘सरकारले नै चाँडो पहल गरिदियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment