Comments Add Comment

प्रचण्डको गृहजिल्लामा वडा कमिटीसम्म भागबन्डा, ओली पक्षको ‘नोट अफ डिसेन्ट’

२० भदौ, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको दोस्रो बैठकले जिल्लाका ७ स्थानीय तहका ९८ वडा कमिटीको नेतृत्वमा भागबन्डा गरेको छ । साविक नेकपा एमालेले र माओवादी केन्द्रवीच वडाको नेतृत्वमा भागबन्डा गरिएको हो ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह भरतपुर महानगरपालिकाका २९ वडामध्ये १५ वटा वडामा पूर्वएमाले र १४ वटामा पूर्वमाओवादीले नेतृत्व लिने सहमति गरेका छन् ।

पूर्वी चितवनको राप्ती नगरपालिकाका १३ वडामध्ये ७ वटा पूर्वएमाले र ६ वडा पूर्वमाओवादीको भागमा परेको छ ।

यस्तै, खैरहनी नगरपालिकाका १३ मध्ये ७ वटा पूर्वएमाले र ६ पूर्वमाओवादीको भागमा परेको छ ।

रत्ननगर नगरपालिकाका १६ वडामध्ये पूर्वएमाले र पूर्व माओवादीको भागमा ८/८ वडा परेका छन् ।

कालिका नगरपालिकाका ११ वडामध्ये ६ वटा पूर्वएमाले र ५ वटा पूर्वमाओवादीको भागमा परेको नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिए ।

चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाका ७ वडामध्ये ४ वटा पूर्वएमाले र ३ वटा पूर्वमाओवादी केन्द्रको भागमा परेको अध्यक्ष परियारले जानकारी दिए ।

यस्तै, माडी नगरपालिकाका ९ वडा मध्ये ५ वटामा पूर्वएमालेले र ४ वटा वडा कमिटीको नेतृत्व पूर्वमाओवादीले गर्ने भएका छन् ।

कमिटीमा यसरी भयो सहमति

स्थानीय तहका कमिटीहरुमा कसै ६०/४० को हाराहारीमा त कतै एकाध अंकले तलमाथि हुने गरी पूर्वएमाले र पूर्वमाओवादीवीच एकता टुंगो लगाइएको छ ।

कुल १२५ सदस्यीय भरतपुर महानगर कमिटीमा पूर्वएमालेका भागमा ६५ र पूर्वमाओवादीको भागमा ६० जना सदस्य रहने सहमति भएको छ ।

महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो नलाग्दै नगर कमिटीका सदस्यहरुको भागवण्डा गरिएको छ । महानगरपालिकाको इञ्चार्ज भने महानगरपालिकाकी मेयर रेनु दाहाल छिन् ।

इच्छाकामना गाउँ कमिटीमा ४० जना पूर्वएमालेका र ३५ जना पूर्वमाओवादी केन्द्रका सदस्य रहने छन् । यस्तै, माडी नगरपालिकामा ४० जना पूर्व एमाले र ४१ जना पूर्वमाओवादीका सदस्य नगरकमिटिमा रहने छन् ।

पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा पूर्वएमालेका तर्फबाट ४३ र पूर्वमाओवादीबाट ३८ जना रहने गरी नगर कमिटी गठन गर्ने निर्णय भएको अध्यक्ष परियारले जानकारी दिए ।

बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति पनि टुंगो लगाएको छ ।

क्षेत्र नम्बर १ र २ को प्रतिनिधि सभा क्षेत्र समन्वय समितिको संयोजक पूर्वएमालेको भागमा र क्षेत्र नम्वर ३ पूर्व माओवादी केन्द्रको भागमा परेको छ ।

प्रदेश सभा क्षेत्र समन्वय समिति अन्तर्गत चितवन १ (क) मा पूर्वमाओवादी केन्द्र, १ (ख) मा पूर्वएमालेबाट संयोजक रहने पक्का भएको छ ।

यस्तै क्षेत्र नं २ (क) मा पूर्वमाओवादी, २ (ख) मा पूर्वएमालेले नेतृत्व गर्ने सहमति भएको छ ।

क्षेत्र नं ३ (क) मा पूर्वएमाले र ३ (ख) मा पूर्वमाओवादीले नेतृत्व लिने सहमति भएको नेकपाले जनाएको छ ।

नेकपा चितवनले अझै ७ वटा स्थानीय तहका इञ्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सचिव, जिल्ला पार्टी कार्यालय, सचिवालय, विभिन्न विभाग, र जनवर्गीय संगठनको टुंगो लगाउन बाँकी छ ।

ओली समूहको ‘नोट अफ डिसेन्ट’

नेकपा चितवनको दोस्रो बैठकका निर्णयप्रति केपी ओली समूहले असहमति जनाएको छ ।

पूर्वएमालेका जिल्ला अध्यक्षसमेत रहेका हालका पार्टी सचिव कृष्णभक्त पोखरेल र जिल्ला इञ्चार्ज कृष्ण खनालले पूर्वएमाले खेमालाई सिध्याउने गरी वडा विभाजनमा सहमति गरेको आरोप केपी ओली पक्षको छ ।

बैठकमा पूर्वएमाले चितवनकी सचिव एवं राष्ट्रिय सभा राष्ट्रिय हित सरोकार समिति सभापति पार्वती रावलले बैठकका निर्णयमा असहमति जाहेर गर्दै ‘नोट अफ डिसेन्ट’ लेखेकी छिन् ।

रावलले पार्टीको महत्वपूर्ण निर्णयका लागि हुने छलफलमा सहभागी नगराई एकलौटी ढंगबाट हचुवाका भरमा निर्णय गर्न खोजिएको भन्दै आपत्ति जनाएकी हुन् ।

दोस्रो जिल्ला कमिटी बैठकमा उनले फरक मत पेश गर्दै पार्टीलाई योगदान दिने नेता–कार्यकर्तालाई जिम्मेवारीमा ल्याउनुपर्ने धारणा राखेकी थिइन् ।

पार्टीभित्रका इमान्दार र क्रियाशील नेता– कार्यकर्तालाई पाखा लगाउने र क्रियाशीलता टुटाउने हिसावले एकलौटी सहमति गरिएको भन्दै नेतृ रावलले बैठकका निर्णयमा सहमत हुन नसकिने जनाइन् ।

पार्टीका केन्द्रीय सदस्य, पूर्व जिल्ला अध्यक्षहरुसँग एकपटक पनि सरसल्लाह नगरी बैठकमा नबोलाएर अपमानजनक निर्णय गरिएको नेतृ रावलको धारणा छ ।

स्थानीय तहका कमिटीको नेतृत्व नै चयन नभएको सन्दर्भमा वडा– वडा भागवण्डा गर्नु सम्वन्धित कमिटीमाथिको हस्तक्षेप हुन जाने ओली समूहका अर्का नेता रामप्रसाद न्यौपानेले बताए ।

ओली पक्षले जिल्लामा पूर्वमाओवादी केन्द्रको वास्तविक हैसियतभन्दा पनि बढी वडाहरुमा नेतृत्व दिएको भन्दै माधव नेपाल पक्षको आलोचना गरेको छ ।

गत स्थानीय तहको निर्वाचनमा पूर्वमाओवादी केन्द्रले भरतपुर महानगरपालिकाका २९ वडा मध्ये ३, माडी नगरपालिकामा ९ मध्ये ३ र इच्छाकामना गाउँपालिकामा एउटा गरी कुल ७ वटा वटामा मात्रै जितेको हुनाले उसले थोरै वडाको मात्रै नेतृत्व पाउनुपर्ने ओली पक्षको भनाइ छ ।

उता, रावलको भनाइको खण्डन गर्दै जिल्ला कमिटीको बैठकमा अध्यक्षका तर्फबाट आफूले गरेको प्रस्ताव केही असहमतिका बीच बहुमतले पारित भएको नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले बताए ।

नेकपाको जिल्ला कमिटीमा साविक एमालेका तर्फबाट माधव नेपाल समूहको बहुमत छ । केपी ओली समूहको झिनो उपस्थिति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment