Comments Add Comment

घाइते छोरा लिएर अस्पताल जाँदै गरेकी आमाको एम्बुलेन्स दुर्घटनामा मृत्यु

२२ भदौ, महोत्तरी । शनिबार साँझ आपसी झगडामा घाइते छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको एम्बुलेन्स दुर्घटनामा परी ज्यान गएको छ ।

महोत्तरीको बर्दिवास–३ पाटुका दाजुभाइ २१ वर्षीय गङ्गा वादी र १८ वर्षीय उमेश वादी आपसमै कुटपिट मच्चाउँदा घाइते भएपछि छोराहरु लिएर अस्पताल आउँदै गरेकी ५० वर्षीया आमा तारा वादीको एम्बुलेन्स पल्टँदा मृत्यु भएको हो । बा२च ४४४१ नंको एम्बुलेन्स शनिबार साँझ ८ बजेतिर विपी राजमार्गको बर्दिवास–३ गौरीडाँडामा पल्टिदा पैदलयात्री छिमेकको धनुषा जिल्लाको मिथिला नगरपालिका–४ का २१ वर्षीय रोशन बराइली, मृतकका दुवै छोरा र एम्बुलेन्स चालक बर्दिवास–३ का चित्रबहादुर बुढाथोकी घाइते भएका छन् ।

घटनालगत्तै प्रहरीले उद्धार गरी बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पुर्याउनासाथै तारा वादीलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

घाइतेमध्ये पैदलयात्री रसाइलीको दाँया खुट्टा भाँच्चिएको, चालक बुढाथोकीको अनुहारमा चोट लागेको र दुवै दाजुभाइ वादीका हातगोडामा सामान्य चोट लागेको छ । घाइते सबैको शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोककुमार साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment