Comments Add Comment

नेपालमा फिल्म छायांकन गर्न किन हच्किन्छन् विदेशी फिल्ममेकर ?

पछिल्लो समय श्रीलंकामा हलिउड र बलिउडका ठूला–ठूला चलचित्र छायांकन हुन थालेका छन् । जसलेगर्दा, श्रीलंका घुम्न जाने पर्यटकको संख्या पनि निकै बढेको छ । तर, नेपालमा फाट्टफुट्ट केही चलचित्र बाहेक बलिउड र हलिउडका ‘ए ग्रेड’का चलचित्रको छायांकन हुन सकेको छैन । नेपालको आम्दानीको प्रमुख श्रोत नै पर्यटन भएपनि विश्व चलचित्र बजारलाई नेपालले किन आकर्षित गर्न सकेको छैन होला ?

नेपालले सन् २०२० लाई पर्यटन बर्षको रुपमा मनाउँदैछ । तर, नेपालमा विश्वका ठूला चलचित्र आएर सहज रुपमै छायांकन गर्ने अवस्था नै छैन । यसको मुख्यकारण भनेको, अनावश्यक नीति नियम र झन्झटिलो व्यवस्था ।

नेपाल पर्यटन बोर्ड, पोखराका प्रबन्धक सूर्य थपलिया भन्छन्–‘नेपालमा कुनै पनि कुरालाई कन्ट्रोल गर्ने नाममा झन्झटिलो नियम बनाइएको छ । यहाँ नियम भन्दा पनि व्यक्ति हाबी छन् । जसकाकारण, नेपालमा चलचित्र सहजै छायांकन गर्न सकिदैन ।’

चलचित्र पत्रकार संघ, नेपालले आयोजना गरेको ‘चलचित्र पत्रकारिता कार्यशाला’मा ‘पर्यटन र चलचित्र’को बिषयमा बोल्ने क्रममा थपलियाले विश्वका थुप्रै देशका उदाहरण दिए । उनी भन्छन्–‘नेपाल सरकारले चलचित्र छायांकनका लागि विदेशीहरुलाई आकर्षित गर्ने हो भने एकद्धार नीति ल्याउन आवश्यक छ । संचार मन्त्रालयले चलचित्र छायांकनका लागि अनुमती दिएपछि पनि लोकेशन अनुसार नै अनुमती लिनुपर्ने झन्झटिलो व्यवस्था छ । जसकाकारण, विदेशीहरु सहजै नेपालमा आएर चलचित्र छायांकन गर्न सक्दैनन् ।

थपलियाका अनुसार, बेलायतका १० मध्ये ८ जना नागरिक चलचित्र हेरिसकेपछि मात्र कुन स्थान घुम्न जाने निर्णय गर्छन् । यसैले पनि चलचित्र पर्यटन विकासका लागि सबैभन्दा शशक्त माध्यम त हो । तर, नेपाल आएपछि सहजै चलचित्र छायांकन गर्न सक्ने अवस्था नभएका कारण पनि हलिउड र बलिउडका ठूला चलचित्र नेपालमा आउन सकेका छैनन् ।

यो कुरालाई सहज बनाउन चलचित्र निर्माणका लागि एकद्धार प्रणाली लागू गर्नुपर्ने उनको तर्क थियो । नेपाली चलचित्र मेकर पनि नेपालमै चलचित्र छायांकन गर्न निकै समस्या भएको गुनासो गर्छन् । यस्तो अवस्थामा राज्यले यो बिषयमा गम्भिर भएर सोच्न आवश्यक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment