Comments Add Comment

मेयर–उपमेयरद्वारा एकअर्काविरुद्व प्रहरीमा जाहेरी

२२ भदौ, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयरबीचको विवादका कारण एक जनालाई ज्यान नै गुमाउनुपरेको छ भने धेरै घाइते समेत भए । तर आफ्नो कारण ती व्यक्तिको मृत्यु नभएको दुबै पक्षको दावी छ । दुबै पक्षले एकअर्काबिरुद्व जाहेरी दर्ता गराउँदै आफू उम्किन खोजेका छन् ।

गत साउन २२१ मा नगरपालिकाको केन्द्र सार्ने बिषयमा मेयर र उप–मेयर पक्षधरबीच झडप हुँदा घाइते भएका हंसपुर नगरपालिका २ बस्ने तपेश्वर मण्डलको १८ भदौमा मृत्यु भयो ।

मण्डलको मृत्यु भएको भोलिपल्टै उपमेयर रेणु झाले मेयर रामाज्ञान मण्डलले नै उनलाई मारेको आरोप लगाउँदै प्रदर्शनसहित उनीमाथि कारबाहीको माग गरिन् । सोही दिन मेयर मण्डलसहित चार जनाबिरुद्व मृतकको परिवारद्वारा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन लगाइन् ।

उपमेयरले मेयरसहित तीन जनाविरुद्व जाहेरी दर्ता गराएको चार दिनपछि मेयर पक्षधरहरुले पनि उपमेयरविरुद्व सोही घटनामा जाहेरी दर्ता गराएका छन् । आइतबार जनकपुरधाममा शक्ति प्रदर्शन गर्दै मेयर पक्षधर मनोजकुमार सिंह, शशी कापड र सदैय यादवले उपमेयर रेणु कुमारी झा, वडा नम्बर २ का अध्यक्ष उदय साह र वडा नम्बर २ बस्ने किशोरी यादवबिरुद्व जाहेरी दर्ता गराएका छन् ।

मेयरको पक्षमा प्रदर्शनमा उत्रेकाहरुले मेयरविरुद्वको मुद्दा खारेज हुनुपर्ने, उप मेयरलाई कार्वाही गर्नुपर्ने माग समेत राखेका छन् ।

मेयर मण्डल र उपमेयर झा राष्ट्रिय जनता पार्टी (राजपा) बाट मेयर र उप मेयरमा निर्वाचित भएका हुन् । तर शुरुदेखि नै दुईबीच खटपट हुँदै आएको छ । पछिल्लो समयमा यी दुईले छुट्टाछुट्टै ठाउँमा नगरपालिकाको कार्यालय सचालन गर्दै आएका थिए ।

मेयर मण्डलले हंसपुरको बेल्ही चोकमा र उपमेयर झाले बघचौडास्थित साविकको कार्यालयमा बसेर कामकाज गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले दुबै पक्षबाट जाहेरी दर्ता भएको बताए । ‘मुद्दालाई राजनीतिकरण गरिएको छ’ उनले भने, ‘हामी चाँडै अनुसन्धान गरेर यो केसलाई सेटल गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment