Comments Add Comment

युएईस्थित नेपाली दूतावासबाटै घरेलु कामदारलाई पुनः श्रमस्वीकृतिको सिफारिस

युएई । युएईमा कार्यरत घरेलु कामदारले पुनः श्रमस्वीकृतिका लागि दूतावासमार्फत सिफारिसपत्र पाउन थालेका छन् । दूतावासले आइतबार एक सूचना जारी गर्दै घरेलु कामदारको श्रमस्वीकृतिका लागि आवश्यक सिफारिसपत्र बनाउन सुरु गरेको जनाएको छ । त्यसका लागि अवधि कायम भएको भिसा, राहदानी र करार सम्झौतामा उल्लेख भएको प्रमाण आवश्यक पर्नेछ ।

यस्तै रोजगारदाताको राहदानीको प्रतिलिपी, घरेलु कामको रुपमा श्रमस्वीकृति लिइ युएई आएको प्रमाण र विदामा नेपाल गई पुनः रोजगारीमा फर्कँदा यसअघि काम गरेकै रोजगारदाताकोमा जाने सुनिश्चित हुने कागजात खुल्नपर्ने दूतावासले जनाएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत भदौ १७ मा गरेको निर्णयअनुसार विदेशमा कार्यरत घरेलु कामदारले स्वदेश फर्किएर पुन: श्रमस्वीकृति लिन पाउने भएका हुन् । त्यसका लागि उनीहरुले कार्यस्थल देशमा रहेको नेपाली दूतावासमार्फत सिफारिसपत्र बनाउन पर्छ ।

श्रमस्वीकृतिको पर्खाइमा रहेका घरेलु कामदारलाई सरकारको यो निर्णय कार्यान्वयनमा आएपछि राहत मिलेको छ । तर, नेपालमा पहिलो पटक श्रमस्वीकृत नलिएको र भिजिटमा आएर घरको काम गरिरहेकाहरुको हकमा भने यो लागू नहुने दूतावासका श्रमसहचारी मोतिराम भुसालले जनाए । उनले भने, ‘नेपालमा पहिलोपटक श्रम गरेर आएको र लामो समय श्रम हुन नपाएकाहरुले यसको लाभ लिन सक्छन् ।’

दूतावासले सिफारिसपत्र खुलाएपछि अहिले सम्म १५ जनाभन्दा बढीले यो सेवा लिइसकेका छन् ।

नेपालको बाटो प्रयोग गरी युएई आएका करिब १० हजार घरेलु कामदार यहाँ रहेको अनुमान छ। तर, भिजिट भिसामा तथा तेस्रो देश हुँदै आउनेको सख्या भने एकिन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment