Comments Add Comment

पाकिस्तानको सान्त्वना जित, कुवेत अंकविहीन

२३ भदौ, काठमाडौं । पाकिस्तानले श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा जित हासिल गर्दै यात्रा  टुंग्याएको छ ।

सोमबार समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा कुवेतलाई पाकिस्तानले १६३ रनले पराजित गर्‍यो । तर पाकिस्तान यसअघि भएको दुबै खेलमा हार ब्यहोर्दै एसीसी यू–१९ एसिया कप क्रिकेटबाट बाहिरीसकेको छ ।

पाकिस्तानले तीन खेलमध्ये एक खेलमा जित हात पार्दै दुई अंक बटुलेर यात्रालाई समाप्त गरेको छ । यसअघि भएको आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग ८५ रन र भारतसँग ६० रनले हार ब्यहोरेको थियो ।

यता, कुवेत भने  कुनै खेल नजिती अंकविहीन बन्यो । कुवेतले खेलेको कुनै पनि खेल जित्न सकेन । पहिलो खेलमा भारतसँग सात विकेटले हारेको कुवेतले दोस्रो खेलमा भने अफगानिस्तानसँग सात विकेटले नै पराजित भएको थियो । यो समूहबाट भारत विजेता र अफगानिस्तान उपविजेता हुदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबारको खेलमा ३३६ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको कुवेतले ४३.४ ओभरमा सबै विकेटको क्षतिमा १७२ रन मात्रै बनाउन सक्यो । कुवेतका लागि अब्दुल सदिकले ६० र गोविन्द कुमारले ४५ रन बनाए ।

बलिङतर्फ पाकिस्तान क्वासिम अक्रमले चार विकेट लिदा मोहम्मद वासिमले तीन र अबु हुरइराले दुई विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३३५ रन बनाएको थियो । पाकिस्तानका लागि इर्फान खानले ६३, मोहम्मद वासिमले अविजित ५५ रन बनाए ।

वासिमले आक्रमक ब्याटिङ गर्दै मात्र २० बलमा ६ छक्का र दुई चौका प्रहार गर्दै ५५ रन बनाए ।  जारी प्रतियोगितामा उनी सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी पनि बने । त्यस्तै, हरिस खानले ५३ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment