Comments Add Comment

डेंगु नियन्त्रणका लागि प्रदेशसभामा जरुरी महत्वको प्रस्ताव

प्रदेश ३ मा २ हजार बिरामी

२३ भदौ, हेटौंडा । प्रदेश ३ को प्रदेशसभामा सोमबार डेंगु रोगको विषयले प्रवेश पाएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा पेश भएको डेंगुसम्बन्धी जरुरी महत्वको प्रस्तावमाथि छलफल गर्दै प्रदेशसभा सदस्यहरुले प्रकोपको रुपमा फैलिएको डेंगु नियन्त्रणको प्रभावकारी काम गर्नुपर्ने बताएका हुन् ।

स्थानीय तहहरुमा नै डेंगुको उपचार गर्ने ब्यवस्था हुनुपर्ने र त्यसको लागि आवश्यक औषधी र बजेटको ब्यवस्था प्रदेश सरकारले गर्नुपर्ने उनीहरुको माग छ । बैठकमा प्रदेशसभा सदस्यहरु नेकपाका राजेन्द्र पाण्डे, जीवन खड्का, नेपाली कांग्रेसकी राधा घले, गीता वाग्ले, बलराम पोखरेल, विवेकशील साझा पार्टीकी शोभा शाक्य लगायत २० जना प्रदेशसभा सदस्यहरुले डेंगुु नियन्त्रणसम्बन्धी प्रस्तावमा छलफल गरेका थिए ।

सांसदहरुले डेंगु नियन्त्रण गर्न सरकारलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । लामखुट्टेको टोकाईको कारण हुने डेंगुको नियन्त्रण संगै सरकारले अस्पतालहरुले डेंगु परीक्षण गर्ने क्रममा किटको मनलाग्दी रकम उठाएको प्रति ध्यान दिनुपर्ने बताएका थिए । प्रदेशसभा सदस्यहरुले डेंगुबाट जोगिन  सर्वसाधारण पनि सचेत हुनुपर्ने धारणा राखे ।

छलफलमा सांसदहरुको छलफल पछि जवाफ दिदै सामाजिक विकास मन्त्री युवराज दुलालले डेंगु नियन्त्रणको लागि प्रदेश सरकारले काम गरिरहेको बताए । उनले चितवनमा प्रचारात्मक भएता पनि क्रियात्मक हुन नसकेको भन्दै अब भरतपुर महानगरपालिकासँग छलफल गरेर प्रभावकारी बनाइने बताए ।

हेटौंडामा सुरुमा देखिएको डेंगु अन्य जिल्लामा देखिए पनि हेटौंडामा प्रभावकारी रुपमा नियन्त्रण भइरहेको बताए ।

प्रदेश ३ मा डेंगुको प्रकोप बढेको भन्दै सत्तारुढ दल नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँलले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका हुन् । प्रस्तावमा नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घले र नेकपाकी सांसद कञ्चन खनालले समर्थन गरेका थिए । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश मुख्य न्यायाधीवक्ताको आर्थिक वर्ष २०७५/७६ को प्रतिवेदन सभामा पेश गरेका छन् ।

प्रदेश ३ मा २ हजारलाई डेंगु

छलफलमा उठेको विषयको जवाफ दिँदै प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश ३ मा आइतबार साँझसम्म २ हजार १० जनालाई डेंगुको संक्रमण भएको जानकारी गराएका छन् ।

उनले प्रदेश ३ को सबैभन्दा धेरै चितवनामा १ हजार ३६ जना, मकवानपुरमा ६ सय २४, काठमाडौंमा २ सय ५४, ललितपुरमा ३२ जना, काभ्रेमा ४ जना, भक्तपुरमा ३३ जना, धादिङमा १८ जना सिन्धुपाल्चोकमा २ जना, रामेछापमा २ जना, दोलखामा २ जना, सिन्धुली र नुवाकोटमा १ जनालाई डेंगुको संक्रमण देखिएको मन्त्री दुलालले बताएका छन् । यस्तै प्रदेश ३ को रसुवामा भने हाल सम्म डेंगु नदेखिएको मन्त्री दुलालले बताएका छन् ।

सरकार जिम्मेवार बन्नुपर्‍यो : नेता बानियाँ

सोमबारको प्रदेश सभाको वैठकमा प्रदेश ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले विषेश समयमा बोल्दै डेंगु नियन्त्रणमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताएका छन् । यस्तै उनले राजधानी र नामाकरणको विषय पनि चाँडो ल्याउन आग्रह गरेका छन् ।

वैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेलले प्रदेश लोक सेवा आयोगको गठन, काम कर्तव्य अधिकार र कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेकमाथि समितिको प्रतिवेदन पनि पेश गरेका छन् । यस्तै मुख्यमन्त्री डोरमणि पौडेलले मुख्य न्यायाधीवक्ताको आर्थिक वर्ष २०७५/०७६को वार्षिक प्रतिवेदन पनि संसदमा पेश गरेका छन् । वैठक मंगलबार विहान ११ बजे सम्मको लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment