+
+
Shares

चितवनका अस्पताल डेंगुका बिरामीले भरिभराउ

सुवास पण्डित सुवास पण्डित
२०७६ भदौ २३ गते १९:५४

२३ भदौ, चितवन । भरतपुर अस्पतालमा सोमबार मात्र ओपीडीमा १६ सय ५० भन्दा बढी बिरामी उपचारका लागि आए । आकस्मिक कक्षमा २४३ जनाले जचाए । उनीहरुमध्ये आधाभन्दा बढी डेंगुको आशंकामा उपचार गराउन आएका थिए ।

मेडिकल विभागको ओडीपीमा ५ जना कन्सल्ट्यान्ट र ३ जना मेडिकल अफिसरलाई विरामी जाँच्न भ्याइनभ्याइ छ । विभागका प्रमुख डा. प्रकाश खतिवडाले अस्पतालमा ज्वरो र डेंगुका विरामी अधिक आउने गरेको बताए ।

६ सय शैया क्षमताको अस्पतालमा कुनै पनि बेड खाली छैन । ‘अरु बेला पनि बिरामीको संख्या उल्लेख्यै हुन्छ । अहिले भाइरल ज्वरो र डेंगुका बिरामी थपिएपछि व्यवस्थापन अधीक चुनौती भएको छ’ अस्पतालका सूचना अधिकारी लीलाधर पौडेल भन्छन्, ‘अस्पतालले बिरामीको चाप थेग्न सक्ने अवस्था नै छैन ।’

केही दिनअघि त अस्पतालमा डेंगु परीक्षण गर्ने किट पनि अभाव भएको थियो, तर अहिले अभाव छैन ।

भरतपुर मात्र होइन, जिल्लाका दुई मेडिकल कलेज र निजी अस्पतालहरुमा डेंगुको आशंमा उपचार गराउन पुग्नेहरुको संख्या ठूलो छ । चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले दैनिक ५/६ सयसम्म भाइरल ज्वरो र डेंगुका विरामीहरु उपचारका लागि आउने गरेको जानकारी दिए ।

भरतपुर मेडिकल कलेजमा पनि ज्वरोका विरामी दैनिक औसत दुई सय आउने गरेका छन् । निजी अस्पतालहरुमा समेत बिरामीहरुको अधीक चाप छ ।

महामारीको रूप लिन सक्छ

चिकित्सकहरूले चितवनमा डेंगुले महामारीकै रूपमा लिन थालेको बताएका छन् । यही गतिमा डेंगुको प्रभाव बढ्दै गएमा महामारीका रुपमा लिने उनीहरुले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार विभिन्न अस्पतालमा करिब ३४ सयले डेंगुको आशंकामा परीक्षण गराएका छन् । जसमध्ये १ हजार २०६ जना संक्रमित भेटिएका छन् ।

यो संख्या भदौ दोस्रो हप्तासम्म ६२३ थियो । तर, एक सातामै यो संख्या दोब्बर भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार डेंगु संक्रमितमध्ये धेरै अर्थात ९५० जना बढी भरतपुर महानगरपालिकामा छन् ।

चितवनमा भेटिएको डेंगु संक्रमितको संख्या यो अहिलेसम्मकै उच्च मानिएको छ । जिल्लामा झण्डै १० बर्षपछि अहिले डेंगुको संक्रमणको दर ह्वात्तै बढेको चिकित्सक बताउँछन् ।

यसअघि आर्थिक बर्ष ०६७/०६८ मा सबैभन्दा बढी ३ हजार २९८ जनामा गरिएको परीक्षणमा ७३९ जना डेंगु संक्रमित भेटिएका थिए ।

आर्थिक वर्ष ०७०/०७१ मा ३७१ भेटिएका थिए भने आर्थिक वर्ष ०७३/०७४ मा ६८७ जना डेंगुबाट प्रभावित बनेका थिए ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?