Comments Add Comment

११ वटा मोटरसाइकलमा साढे ५ सय अवैध कुखुरा

२४ भदौ, विराटनगर । मध्यरातमा भारतबाट तस्करी हुँदै नेपाल भित्रिएको ५७२ वटा कुखुरासहित ११ वटा मोटरसाइकल सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार भारतबाट अवैध रुपमा भित्रिएको बोइलर कुखुरा सुनसरीको दुहबी र छिटाहाबाट नियन्त्रणमा लिएको हो ।

मध्यरातमा सुनसरीको हरिनगर गाउँपालिकास्थित घुस्की नाका हुँदै भित्रिएको ५ सय ७२ वटा जिउँदो कुखुरा स्थानीय कृषकको सहयोगमा इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको हो ।

मंगलबार नियन्त्रणमा लिएको कुखुराको बजार मूल्य पाँच लाख रुपैयाँ भन्दा बढी छ । तस्करहरुले मध्यरातमा आयात गरेको कुखुरा मोरङ सुनसरीको बजार हुदै काठमाडौंसम्म पु¥याउने नियन्त्रणमा लिएको सुनसरी खनारका कृषक प्रकाशकुमार माझीले बताए ।

भारतबाट अबैध बाटो हुँदै भित्रिएको कुखुराका कारण स्थानीय कृषकको कुखुरा बिक्री नभएपछि कृषकले प्रशासनलाई भारतबाट भित्रिएको कुखुरा रोक्न दबाब दिएका थिए । प्रहरी र कृषकले केही दिनयता गस्ती गर्दै आएको कुखुरा पालक कृषक गणेश कुँवरले बताए ।

मंगलबार बिहानको राति मात्र ११ वटा मोटरसाइकलबाट ५ लाख मुल्य बरावरको १५ सय किलो बोइलर कुखुरा नियन्त्रण लिएपनि केही भागेको उनको दाबी छ ।

मोरङ र सनसरीमा बर्ड फ्लू देखिएका कारण स्थानीय प्रशासनले कुखुराको जिल्ला निकासीमा पनि कडाइ गरेको छ । खुला सीमा नाका हुँदै भित्रिएका कुखुरा स्थानीय बजार इटहरी, इनरुवा, झुम्का खनरा हुँदै मोरङको पथरीसम्म पुग्ने गरेको कुँवरले बताए ।

पशु क्वारेन्टाइन कार्यालय विराटनगरका निमित्त प्रमुख केशवकुमार सिंहका अनुसार बर्डफ्लूका कारण अनुमति बिना कुखुरा जिल्ला निकासीमा रोक लगाइएको छ । तर खुला सीमा हुँदै भारतबाट भित्रिएको अवैध कुखुरा प्रहरीले बुझाएपछि नष्ट गरिएको बताए ।

सुनसरीका व्यवसायीका अनुसार कुखुरा तस्करहरुले सीमावर्ती क्षेत्रमा खोर बनाएका छन् । दर्ता गरेका खोरमा भारतबाट आयत गरिएको कुखुरा नेपालको उत्पादन भन्दै बिल बनाएर बिक्री गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment