Comments Add Comment

तरुण दलमा खटपट, महासचिवले गरेका निर्णय अध्यक्षद्वारा खारेज

२५ भदौ, काठमाडौं । नेपाल तरुण दलको तीन वर्षे कार्यकाल सकिनै लाग्दा अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीबीच विवाद चुलिएको छ । महासचिव शाहीले गरेको भनिएका दुई वटा निर्णयलाई अध्यक्ष बस्नेतले खारेज गरेको घोषणा गरेपछि विवाद छताछुल्ल भएको हो ।

महासचिव शाहीले तरुण दल सिन्धुपाल्चोकका तत्कालीन उपाध्यक्ष सगुन श्रेष्ठको कारबाही फुकुवा र तरुण दल सप्तरीको अध्यक्षमा सीताप्रसाद यादवलाई नियुक्त गरेका थिए ।

अध्यक्ष बस्नेतले बुधबार सूचना जारी गर्दै शाहीले गरेको भनिएका निर्णय खारेज गरेको जानकारी दिएका छन् । बस्नेतले बुधबार जारी गरेको सूचनामा लेखिएको छ, ‘महासचिव शाहीले आफ्नो पदीय काम, कर्तव्यविपरीत अनाधिकृत रुपमा गरेका निर्णय अस्वीकृत गरिन्छ ।’

अध्यक्ष बस्नेतले सप्तरीको अध्यक्षमा कसैलाई पनि नियुक्त नगरेको र सगुनको निष्कासन यथावत रहेको जानकारी दिएका छन् ।

बस्नेतले महासचिव शाहीलाई पदीय मर्यादामा रहन सचेत पनि गराएका छन् । उनले जारी गरेको सूचनामा लेखिएको छ, ‘नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलाई आफ्नो पदीय जिम्मेवारीको परिधीमा रहन र संगठनको हितविपरीत अशिष्ट व्यवहार र क्रियाकलाप नगर्न यसै सूचनामार्फत सचेत गराइन्छ ।’

तरुण दल अध्यक्ष बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निकट र महासचिव शाही वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका हुन् ।

कांग्रेसले आन्तरिक किचलोका कारण तरुण दलमा अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष बाहेक अन्य जिम्मेवारी बाँडफाँट गर्न सकेको छैन । अध्यक्षमा बस्नेतलाई, महासचिवमा शाहीलाई, उपाध्यक्षमा सिटौला निकटका उत्तम चापागाईंलाई र कोषाध्यक्षमा खुमबहादुर खड्का निकट विद्वान गुरुङलाई नियुक्त गरिएको थियो ।

उनीहरुको तीन वर्षे कार्यकाल आगामी कात्तिकमा सकिँदै छ । यसबीचमा मिलेर काम गरेको जस्तो देखिए पनि कार्यकाल सकिने बेला भने उनीहरुको विवाद सार्वजनिक हुनुलाई अर्थपूर्ण मानिएको छ ।

गत वर्षको दशैंमा महासचिव शाहीलगायतले अध्यक्ष जितजंगको हातबाट टीका लगाएको तस्वीरसमेत सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment