Comments Add Comment

हिन्दी फिल्मका थरी-थरीका शिक्षक

बलिउडका फिल्महरुमा शिक्षकहरुलाई सामान्य व्यक्तिको रुपमा निकै कमै देखाइन्छ । शिक्षकको रुपमा कि त उनलाई निकै लाचार तथा कमजोर देखाइन्छ, जो कुर्ता-पाइजामा लगाएर, हातमा छडि समातेर, चश्मा लगाउँदै, बिग्रेको साइकल कुदाउँदै, आदर्शवादी कुरा गर्दै हिँड्ने चरित्रको रुपमा प्रस्तुत गरिन्छ, कि त उनलाई निकै बेवकूफ व्यक्तित्वको रुपमा चित्रण गरिन्छ ।

अधिकांश फिल्मका शिक्षक अथवा प्राध्यापकहरुलाई प्रायः भुलक्कडको रुपमा समेत प्रस्तुत गरिन्छ । उनीहरुलाई विद्यार्थीहरुले बेवकूफ बनाइरहन्छन् भने उनीहरु पनि जोकरजस्तै क्रियाकलापहरु गरिरहन्छन् । फिल्महरुमा हास्यप्रधान दृष्यहरु समावेश गर्नका लागि प्रायः शिक्षकलाई नै सम्झिने गरिन्छ । शिक्षक पनि एउटा सामान्य व्यक्ति हुन्, तर उनको यो रुपको चरित्र-चित्रण निकै कम गरिन्छ ।

एक अध्यापकको भूमिकालाई अभिनेता अमिताभ बच्चनले धेरै वटा फिल्महरुमा निर्वाह गरिसकेका छन् । ‘मोहब्बतें’ मा उनी एक गुरुकुलका प्राचार्यको रुपमा देखिएका छन्, जो निकै कडा र अनुशासनपि्रय छन् । हाँस्न त उनलाई आउँदै आउँदैन भने पनि हुन्छ । शाहरुख खान र अमिताभ बच्चनको अन्तरद्वन्द्वलाई उक्त फिल्ममा चित्रण गरिएको छ ।

‘मेजर साब’मा अमिताभ मेजर जसबीर राणाको रुपमा सेनाका जवानहरुलाई देशका लागि मरिमेट्न प्रशिक्षण दिन्छन् । ‘कसमे वादे’ मा पनि उनले प्रोफेसरको भूमिका निर्वाह गरे, तर उनले सबैभन्दा उत्कृष्ट भूमिका निर्वाह गरे फिल्म ‘ब्ल्याक’ मा ।

देवराज सहायको रुपमा उनले आँखा नदेख्ने, कान नसुन्ने तथा बोल्न नसक्ने युवती मिशेललाई शिक्षित गर्ने भूमिका निर्वाह गरेका छन् । एउटा त्यस्तो शिक्षक, जसको अघिल्तिर अत्यन्त कठिन चुनौतीहरु छन्, तर उनलाई आफूप्रति नै विश्वास छ । उनी मिशेललाई सिकाउनका लागि दिन-रात मेहनत गर्छन् । मिशेलसंग उनको जिन्दगीमा त्यस्ता धेरै वटा क्षणहरु आउँछन्, जतिबेला उनी रिसाउँछन्, कराउँछन्, निराश हुन्छन्, तर हार भने मान्दैनन् । त्यस्ता शिक्षकलाई जो कोहीले सलाम गर्न चाहन्छ ।

ठीक त्यस्तै प्रकारको भूमिका अभिनेता आमिर खानले फिल्म ‘तारे जमिन पर’ मा निर्वाह गरेका छन् । एउटा शिक्षकको काम केवल पढाउनु मात्र होइन, बरु आफ्ना विद्यार्थीहरुलाई सम्झाउनु पनि हो । शिक्षक बनेका आमिर खानले आफ्ना विद्यार्थी दर्शीलमा भएका समस्याहरुको जरा पत्ता लगाउने प्रयास गर्छन्, त्यसलाई समाधान गर्ने प्रयास गर्छन् र त्यसपछि उनका खुशीहरुलाई उजागर गर्ने प्रयास गर्छन् । एक शिक्षक र विद्यार्थीको सम्बन्धमा आधारित एउटा उत्कृष्ट फिल्म हो तारे जमिन पर ।

‘मैं हुँ ना’ मा अभिनेत्री सुष्मिता सेनले एउटी ग्ल्यामरस शिक्षिकाको भूमिका निर्वाह गरेकी छन् । चाँदनी चोपडा बनेर जसरी उनी कक्षमा पढाउँथिन्, त्यसले विद्यार्थीको ध्यान पढाइमा भन्दा उनको हाउभाउमा केन्दि्रत हुन्थ्यो । सबै विद्यार्थीहरु पढ्नमा भन्दा चाँदनीको सौन्दर्यको मज्जा लिन कक्षामा बस्दथे ।

उक्त फिल्ममा अधिकांश शिक्षकहरुलाई नमूनाको रुपमा प्रस्तुत गरिएको छ । कोही थूक उडाउँथे त कोही यति धेरै बोल्थे की चूप लाग्नै बिर्सिन्थे । कोही भुलक्कड थिए ।

सुष्मिताको तुलनामा गायत्री जोशीले फिल्म ‘स्वदेश’ मा गीताको रुपमा एउटी आदर्श शिक्षिकाको भूमिका निर्वाह गरेकी छन् । उनी साधारण तरिकाले नै बस्थिन् र गाउँमा बच्चाहरुलाई पढाउँथिन् । उनलाई आफ्नो मातृभूमिप्रति प्रेम थियो । उक्त चरित्र जिन्दगीको निकै नजिक थियो ।

सञ्जय दत्तको फिल्म ‘मुन्नाभाइ एमबीबीएस’ मा मुन्नाभाइ (सञ्जय दत्त) तथा बोमन इरानीबीचको छेडखानी निकै रोचक छ । जेसी अष्ठानाको रुपमा बोमनले सराहनीय अभिनय गरेका छन् । मुन्नाभाइका चर्तिकलाले अष्ठाना निकै चिन्तित हुन्छन् र उनलाई कलेजबाट निकाल्ने उपायहरु खोजिरहन्छन् ।

फिल्म ‘थ्री इडियट्स’ मा पनि बोमन कलेजको प्रिन्सिपलको भूमिकामा प्रस्तुत भएका छन्, जो निकै बि्रलियन्ट छन् तर विद्यार्थीहरुलाई पाठ्यपुस्तक कण्ठ गर्नका लागि दबाव दिइरहन्छन् । जिन्दगीलाई उनी दौडको अंग मान्छन् र उनको नजरमा डाक्टर अथवा इन्जिनियर बन्नु नै सबै थोक हो । आमिर खानको सोचाइ त्यसको ठीक विपरीत छ । यही कारण बोमन र आमिरको द्वन्द्व चलिरहन्छ ।

फिल्म ‘कल किसने देखा’ मा शिक्षकलाई खलनायकको रुपमा प्रस्तुत गरिएको छ । ऋषि कपुर विज्ञानका शिक्षक हुन् । आफ्नो ज्ञानलाई दुरुपयोग गर्दै उनी खलनायकहरुसँग मिलेर आतंक फैलाउँछन् ।

बलिउडका विगतसम्म पुग्ने हो भने ‘जागृती’ फिल्मको नाम स्मरण गर्न सकिन्छ । सत्येन बोसद्वारा निर्देशित उक्त फिल्ममा विद्यार्थी-शिक्षक सम्बन्धका सकारात्मक पक्षहरुलाई चित्रण गरिएको छ । उक्त फिल्मको एउटा गीत ‘आओ बच्चों तुम्हें दिखाए झाँकी…’ आज पनि गुन्गुनाइन्छ ।

राज कपुरद्वारा निर्देशित ‘मेरा नाम जोकर’ मा टिनएजर विद्यार्थीहरुले आफ्ना शिक्षक सिमी ग्रेवालले लुगा फेरिरहेको देख्छन् र उनैप्रति लोभिन थाल्छन् ।

बिग्रेका विद्यार्थीहरुलाई सुधार्ने जिम्मा बिनोद खन्नाले फिल्म ‘इम्तिहान’ मा उठाएका छन् । उक्त फिल्मका विद्यार्थीहरु यति धेरै बदमास छन् की उनीहरुले आफ्ना शिक्षकको एउटी युवतीसँगको आपत्तिजनक तस्वीर खिच्छन् र उनैलाई ब्ल्याकमेल गर्न थाल्छन् ।

यस्तै शैलीको कथा फिरोज खानको फिल्म ‘अपराध’मा पनि समावेश गरिएको छ । ‘सर’ फिल्मका सर अर्थात नसिरुद्दीन शाहलाई ग्याङ्वारमा फसिरहेको देखाइएको छ ।

‘कोरा कागज’ मा शिक्षकलाई निकै हावादारी शैलीमा प्रस्तुत गरिएको छ । उक्त फिल्ममा प्राध्यापक बनेका विजय आनन्दको विवाह धनाड्य युवती जया भादुरीसँग हुन्छ ।

‘चुपके चुपके’ फिल्ममा अमिताभ बच्चन र धर्मेन्द्र दुवै प्राध्यापक छन् । देव आनन्द ‘हम नौजवान’ तथा राजकुमार ‘बुलन्दी’ मा केटोकटीहरुलाई ज्ञानका कुराहरु पढाइरहेको देख्न सकिन्छ ।

‘कुछ कुछ होता है’ तथा ‘शोला और शबनम’ जस्ता फिल्महरुमा शिक्षकको मजाक उडाइएको छ । ती चलचित्रमा अनुपम खेर तथा अर्चना पुरण सिंह जस्ता प्राध्यापकहरु छन्, जो मूर्खतापूर्ण शैलीले रोमान्स गर्छन् । कलेजको पृष्ठभूमिमा निर्माण भएका प्रायः सबै फिल्महरुमा शिक्षकलाई हास्य पात्रको रुपमा प्रस्तुत गर्ने बलिउडको पुुरानै परम्परा रहँदै आएको छ ।

त्यसो त, हालै मात्र शिक्षक-विद्यार्थीहरुबीचको सम्बन्धमा आधारित केही राम्रा फिल्महरु पनि प्रदर्शन भएका छन् । सन् २०१८ मा प्रदर्शन भएको फिल्म ‘हिचकी’ मा त्यस्ता शिक्षकको कथावस्तु समेटिएको छ, जो ट्यूरेट सिन्ड्रोमबाट पीडित छन् । यो सिन्ड्रोममा दिमागका सबै नशाहरु एक-आपसमा जोडिन पाउँदैनन्, त्यो बेला व्यक्तिलाई लगातार बाडुली लाग्छ । उसले अनौठो आवाज निकाल्छ ।

यो फिल्ममा रानी मुखर्जीले मुख्य भूमिका निर्वाह गरेकी छिन् । उनी शिक्षक बन्ने कोसिस गर्छिन्, तर १८ पटक असफल भएपछि १९ औं पटकमा छनोट हुन्छिन् । कक्षामा उनको बाडुलीले विद्यार्थीहरुलाई निकै हाँसो उठ्छ । कसरी उनले आफ्ना विद्यार्थीहरुको विश्वास हासिल गर्न सफल हुन्छिन् भन्ने कुरा फिल्मको उत्तरार्द्धमा प्रस्तुत गरिएको छ । प्रायः सुनिरहेको कथा भए पनि उक्त फिल्मलाई निकै मन पराइएको थियो ।

२०१९ मा प्रदर्शन भएको ‘सुपर ३०’ वास्तविक जीवनकै शिक्षक आनन्द कुमारको बायोपिक हो । उनी गरिब तथा प्रतिभाशाली विद्यार्थीहरुलाई निःशुल्क कोचिङ पढाएर उनीहरुलाई आईआईटीको परीक्षासम्म पुर्‍याउँछन् । एउटा शिक्षकले आफ्ना विद्यार्थीहरुका लागि कतिसम्म मेहनत गर्न सक्छ भन्ने कुरालाई यो फिल्ममा उत्कृष्ट शैलीमा चित्रण गरिएको छ । ऋतिक रोशन जस्ता सुपरस्टारले आनन्द कुमारको रुपमा शिक्षकको भूमिका निर्वाह गरेका छन् । उक्त फिल्म व्यवसायिक रुपमा समेत सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment