Comments Add Comment

भारतीय सीमा क्षेत्रमा आकाशे पुल निर्माणको तयारी, लागत साढे सात करोड

२६ भदौ, विराटनगर । विराटनगरको सीमावर्ती बजार रानीमा आकाशे पुल निर्माण गरिने भएको छ ।

भारतीय जोगवनी बजार प्रवेशद्वार नजिकै स्वागत गेटसहितको आकाशे पुल निर्माण गर्न लागिएको हो । सात करोड ३७ लाख रुपैयाँ लागत अनुमान गरिएको पुलको निर्माण प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाले गर्नेछन् ।

विराटनगर महानगरपालिकाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा लागत सात करोड ३७ लाख रुपैयाँ लाग्ने प्रस्ताव गरिएको छ । आकाशे पुल निर्माणका विराटनगरको निजी क्षेत्र पनि साझेदारको रुपमा रहने विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिए ।

महानगरले तयार पारेको डीपीआर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको अधिकारीले बताए । निजी क्षेत्र, प्रदेश सरकार र महानगरपालकाबीच समझदारी गरी निर्माणको काम अघि बढ्ने उनले बताए ।

आकाशे पुलकालागि प्रदेश सरकारले बजेट भने विजियोजन गरेको छैन । महानगरबाट औपचारिक रुपमा आयोजक हस्तान्त्रण भएपछि निर्माणको काम अघि बढ्ने सहरी विकास तथा भवन निर्माण कार्यालय मोरङका प्रमुख दिगम्बर ठाकुरले बताए ।

बजारमा तीनवटा पुल

विराटनगर महानगरपालिले मुख्य बजारभित्र तीनवटा आकाशे पुल निर्माण गर्ने भएको छ । महानगरपालिकाले आफ्नै लागतमा बरगाछी, कञ्चनबारी र बुधहाट चोकमा पुल निर्माणको तयारी थालेको अधिकारीले जानकारी दिए ।

उनका अनुसार विराटनगरको मुख्य बजारमा निर्माण हुने आकाशे पुल स्टिल स्टक्चरमा हुनेछ । उनले मुख्य बजारमा निर्माण गरिने आकाशे पुलको डिजाइन तयार गर्ने काम सुरु गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment