Comments Add Comment

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. श्रीकृष्ण गिरी नियुक्त

२६ भदौ, काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. श्रीकृष्ण गिरीलाई नियुक्त गरेको छ । अन्तिम तीन जना प्रतिस्पर्धीमध्ये तेस्रो नम्बरमा परेका गिरी उपाध्यक्ष बन्न सफल भएका हुन् ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न नौ जनाले आवेदन दिएकामा प्रा.डा. सुरेन्द्र शेरचन, प्रा.डा. शम्भु कुमार पहारी र प्रा.डा. श्रीकृष्ण गिरी अन्तिम तीनको सूचीमा परेका थिए । उनीहरुमध्ये सरकारले गिरीलाई छनोट गरेको हो ।

प्रा.डा. गिरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्व रजिष्ट्रार हुन् । विगत ३७ वर्षदेखि स्वास्थ्य सेवामा सक्रिय छन् । उनी हाल राष्ट्रिय ट्रमा सेन्टरमा वरिष्ठ अर्थोपेडिक सर्जनको कार्यरत छन् । डा. गिरीले त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट एमबीबीएस र एमएस गरेका छन् ।

गिरिराजमणि पोखरेल स्वास्थ्य तथा जनसंख्यामन्त्री हुँदा मन्त्रालयको महत्वपूर्ण मानिने अन्तर्राष्ट्रिय समन्वय महाशाखाको प्रमुख रहेर उनले काम गरेका थिए । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सम्भाव्यता अध्ययन समितिको संयोजकको रुपमा पनि रहेका छन् । चिकित्सा शिक्षा ऐन शुल्क निर्धारण समितिमा रहेर गरेको अनुभव पनि उनीसँग छ ।

चिकित्सा शिक्षा ऐन प्रमाणीकरण भएको ६ महिनापछि आयोगले नेतृत्व पाएको हो । आयोगको कार्यकारी भूमिकामा उपाध्यक्ष रहने कानुनी व्यवस्था छ । उपाध्यक्षको पदावधि बढिमा चार वर्षको हुनेछ। प्रधानमन्त्री आयोगको अध्यक्ष हुन्छन् ।

आयोगले चिकित्सा शिक्षाको क्षेत्रमा अवलम्बन गर्नु पर्ने राष्ट्रिय नीति तय गर्ने, संघ तथा प्रदेश तहका चिकित्सा शिक्षाको सबै तह एवं विधाको मापदण्ड र स्तर सम्बन्धी नीति तथा मापदण्ड निर्धारण गर्ने, एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) सञ्चालनका लागि नीति तथा मापदण्ड निर्धारण गर्ने, चिकित्सा शिक्षाको विषयमा विश्वविद्यालय, प्रतिष्ठान र परिषद्लाई आवश्यकता अनुसार निर्देशन दिनेलगायतका काम गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment