Comments Add Comment

कांग्रेस कुट्नेलाई कारवाही हुन्छ– गृहमन्त्री

कांग्रेस भन्छ – कम्युनिष्टको चरित्र उदांगियो

२७ भदौ, काठमाडौं । बाँकेको खजुरामा नेपाली कांग्रेसका नेता–कार्यकर्तामाथि कुटपिट गर्ने दोषीलाई कारवाही गरिने गृहमन्त्री रामबहादुर थापाले प्रतिवद्धता जनाएका छन् । साथै, यो घटनालाई लिएर कम्युनिष्टले कांग्रेसलाई पिटेको भन्ने अर्थमा फेसबुकबाट प्रचारबाजी गरेर चरित्र हत्या नगर्न गृहमन्त्रीले विपक्षीलाई आग्रह गरेका छन् ।

बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नं. २ सीतापुरस्थित नेपाल रेडक्रस सोसाइटीको हलमा वीपी जयन्ती मनाउने क्रममा विहीबार कांग्रेसका नेता कार्यकर्ताहरु कुटिएका थिए ।

घटनामा बाँकेकी कांग्रेस सभापति किरण कोइरालाको हात भाँचिएको थियो भने विद्याप्रसाद खनाल लगायत केही कार्यकर्ता घाइते भएका कांग्रेसले जनाएको छ । यो घटनालाई लिएर कांग्रेसले विरोध प्रदर्शनका कार्यक्रमसमेत घोषणा गरिसकेको छ । माइतीघर मण्डलामा प्रदर्शन गर्नेदेखि गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेसम्मका कार्यक्रम कांग्रेसले सार्वजनिक गरेको छ ।

यसैवीच, सिंहदरबारमा शुक्रबार आयोजित राज्य व्यवस्था सुशासन समितिको बैठकमा कांग्रेस सांसद डीला संग्रौलाले बाँके घटनाबारे गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराइन् । त्यसअघि नै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गर्दै घटनाबारे सरकार मौन बसेको आरोप लगाए ।

घटनाबारे स्पष्टीकरण दिँदै गृहमन्त्री थापाले दोषीलाई कारवाही गरिने आश्वासन दिए । उनले सो घटनामा संलग्न केहीलाई पक्राउसमेत गरिसकिएको र कावाहीसमेत भइसकेको संसदीय समितिमा जानकारी दिए ।

गृहमन्त्री थापाले भने, ‘यसबारेमा हाम्रो हिजो नै ध्यानाकर्षण भएको हो । विषय आइसकेको छ । यहाँहरुले जो दोषीमाथि कारबाही गर्ने माग गर्नुभयो, कारवाही पनि भइसकेको छ । तीनजना पक्राउ परिसकेका छन् र अरुलाई खोजी जारी छ ।’

कांग्रेस भन्छ– कम्युनिष्टले सभाहलभित्र पसेर कुटे

आफूहरुमाथि नेकपाका कार्यकर्ताले कुटपिट गरेको कांग्रेसको आरोप छ । वीपी जयन्तीको कार्यक्रम सञ्चालन भइरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध अपराधिक मानसिकता भएका ५०/६० जनाको समूह सभा हलभित्र प्रवेश गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँडले बताएका छन् ।

यति ठूलो घटना हुँदासम्म पनि सुरक्षा निकाय, स्थानीय प्रशासन एवं सरकार मौन बस्नु अन्यन्त दुःखदायी भएको भन्दै कांग्रेस नेता खाँडले दोषीलाई कारवाहीको माग गरेका छन् ।

कांग्रेस नेतृ डिला संग्रौलाले पार्टीको कार्यक्रम चलिरहेका बेला नेकपाका कार्यकर्ताले हलमा प्रवेश गरेर सत्ता र शक्तिको उन्मादमा गुण्डागर्दी शैलीमा सांघातिक आक्रमण गरेको बताइन् । यो घटनाबाट कम्युनिष्टको चरित्र उदांगिएको उनले बताइन् ।

गृहमन्त्री भन्छन्– राजनीतिकरण र चरित्रहत्या नगरौं

गृहमन्त्री रामबहादुर थापा बादलले भने खजुराको घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । यो घटनालाई लिएर कम्युनिष्टले कांग्रेसलाई पिटेको भन्ने ढंगबाट फेसबुकमार्फत चरित्र हत्या गर्ने काम भइरहेको गृहमन्त्री थापाको तर्क छ ।

गृहमन्त्री थापाले जुनखालको घटना भयो, त्यो दुःखद भएको बताए । मन्त्री थापाले शुक्रबार संसदीय समितिमा भने, ‘घटना भयो । झडप हुँदा छुटाउने क्रममा सभापतिज्यूको हात फ्याक्चर भएको भन्ने कुरा आएको छ । घटना दुःखदै हो । यतातिर हामीले प्रशसनतिरबाट गर्ने कारबाहीलाई अगाडि बढाइसकेका छौं । दोषीमाथि कारवाही हुन्छ ।’

तर, यो घटनालाई कम्युनिष्टले कांग्रेस पिटेको अर्थमा नबुझ्न गृहमन्त्री थापाले आग्रह गरे । गृहमन्त्री थापाले भने, ‘त्यो कुनै राजनीतिक नभएर, नेकपा र कांग्रेस भएर नगरेको हुनाले केही विषयहरु जुन फेसबुकमा आएको र चरित्र हत्या गर्न… त्यस्तै घटनालाई लिएर यो घटना भएको देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment