Comments Add Comment

धनीपूर्जा बोकेर जग्गा खोज्दै हिँडेका वृद्ध दिनभरि थुनिए

२९ भदौ, विराटनगर । आफ्नो धनीपूर्जामा रहेको जग्गा खोज्दै हिँडेका एक वृद्धलाई मोरङको पथरी शनिश्चरेका स्थानीबासीले दिनभरि थुनेर प्रहरीको जिम्मा लगाइदिएका छन् । दोहोरो स्वामित्व रहेको जग्गा किनबेचका लागि आएको भन्दै उनलाई गाउँलेले थुनेका हुन् ।

मोरङको पथरी शनिश्चरेमा दोहोरो स्वामित्वको विवाद छ । धनीपूर्जामा एक व्यक्तिका नाममा जग्गा भए पनि भोगचलन भने वर्षाैंदेखि अर्कैले गरिरहेका छन् ।

शनिबार झापाको दमकबाट आफ्नो धनीपूर्जामा रहेको जग्गा खोज्दै पुगेका वृद्ध भरत भट्टराईलाई स्थानीयबासीले दिनभर थुनेर प्रहरीको जिम्मा लगाएका हुन् ।

कल्पना अधिकारी क्षेत्रीका नाममा रहेको एक विगाहा १० कट्ठा जग्गा खोज्दै आइपुगेका करिब ७० वर्षीय वृृद्ध भट्टराईलाई किरात चोकमा रहेको गोलघरमा स्थानीयबासीले थुनेको स्थानीय सुकुम्बासी अगुवा मौसम याक्थुम्बाले अनलाइनखबरलाई बताए ।

दोहोरो स्वामित्वमा रहेको जग्गा हेर्न भट्टराईसँगै अन्य दुईजना पनि पुगेका थिए । आफ्नो जग्गा बिक्रीका लागि देखाउन पुगेका भट्टराईलाई चौकबाट फर्कने क्रममा स्थानीयले छेकेर थुनेका थिए ।

आक्रोशित भीडबाट जोगाउन वृद्धलाई चोकमा प्रहरी बिटका लागि बनाइएको घरमा थुनेर राखेको याक्थुम्बाले बताए ।

स्थानीय बमबहादुर फियाकको घरमा जग्गा खोज्दै पुगेपछि गाउँलेहरु भेला भएका थिए । ‘०३५/०३६ सालमा हामी जंगल फाँडेर बसेका हौं,’ फियाक भन्छन् ‘०४६ सालपछिको धनीपूर्जा लिएर आएपछि हामीले भट्टराईलाई जानुस् भनेर फर्काएका हौं ।’

स्थानीयका अनुसार बेला–बेलामा यसैगरी विवादित जग्गा खरिदका लागि मानिसहरु पथरीमा आउउने गरेका छन् । वर्षौंदेखि बसोबास गरिरहेका स्थानीयबासीका हातमा जग्गा भए पनि पूर्जा अर्कैका हातमा छ । वर्षाैंदेखिको समस्या राज्यले दीर्घकालीनरुपमा समाधान नगर्दा बेला–बेलामा समस्या उत्पन्न भइरहेको छ ।

पथरी शनिश्चरे नगरपालिका–३ का वडाअध्यक्ष डम्बरबहादुर चेम्जोङ भन्छन्, ‘राज्यले समस्या सामधानका लागि पहल भएको बताइरहँदा यसरी जग्गा खोज्न आउने मानिसले जनतालाई आक्रोशित बनाएका छन् ।’

दोहोरो स्वामित्वका कारण सर्वसाधारणले मानसिक तनाव भोग्नुपरेको बताउँदै वडाध्यक्ष चेम्जोङले तत्काल समस्या समाधान गर्नुपर्ने बताए ।
यो पनि पढ्नुहोस कानूनमन्त्रीज्यू, झोडामा फेरि भोट माग्नुपर्दैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment