+
+
Shares

अविरल वर्षापछि डोटीका ग्रामीण सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २९ गते ११:०२

२९ भदौ, डोटी । तीन दिनदेखिको लगातारको वर्र्षाले डोटीका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् ।

वर्षाले जिल्लाका ग्रामीण सडकहरुमा पहिरो खस्दा यातायात आवागमनमा कठिनाइ भएको शैलेश्वरी यातायात व्यवसायी समिति दीपायल डोटीले जनाएको छ ।

ग्रामीण सडकमा पहिरो आउँदा उक्त सडकमा चल्ने सार्वजनिक यातायातका यात्रुले कष्टकर यात्रा गर्न बाध्य भएका छन् । पहिरोका कारण केआइसिंह गाउँपालिकाबाट बोगटान फुड्सिलसम्म जाने कच्ची मार्गमा समेत दुई दिनदेखि यातायात सञ्चालन हुननसकेको स्थानीयवासी सुमन भट्टले बताए । ‘केआइसिंह बोगटान फुड्सिल सडकको काफली भन्ने ठाउँमा पहिरो आउँदा सडक अवरुद्ध भएको छ, पानी परिरहेकाले सडक खुलाउन सकिरहेको छैन’, उनले भने ।

त्यस्तै जिल्लाको मौवा मेल्लेक सडकखण्डका विभिन्न ठाउँहरुमा पनि वर्षाले पहिरो आउँदा यातायातका साधन चलाउन समस्या भएको शैलेश्वरी यातायात समितिका रुट इन्चार्ज प्रेमबहादुर रावलले बताए ।

त्यसैगरी, दीपायलदेखि गडसेरा जोड्ने सडकमा पनि पहिरो आउँदा उक्त सडकमा यातयातका साधन चल्न बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलले जनाएको छ । जिल्लाका अन्य बीपीनगर–गड्सेरा, सिलगढी–झिग्राना, शान्तिनगर–नारी–दाङ, मौवा–सायल, तल्कोट–धुर्कोट सडकमा समेत पहिरो र पानीले गर्दा यातायात सञ्चालनमा कठिनाइ भएको यातायात व्यवसायी बताउँछन् ।

अधिकांश ग्रामीण सडकमा पानी निकास हुने नालासमेत नहुँदा सडकबाटै भल बग्ने गरेका कारण पनि सडक भासिने र भत्किने बढी सम्भावना भएको डिभिजन सडक कार्यालय दीपायल कुल्पातेका डम्बर विष्टले बताए ।

बुडर–जोरायल, बिपीनगर–सुवाखान, अत्तरकाडा, बागछेडालगायतका सडकको यात्रा पनि भगवान् भरोसा हुँदै आएको छ । साघुँरा सडक तथा डोजर सञ्चालकको सनकका भरमा काटिएका यहाँका ग्रामीण सडकमा यातयातका साधन चलाउन निकै समस्या हुँदै आएको महाकाली यातायत समितिका दिपायल प्रमुख धनबहादुर बोहराले बताउँछन् ।

पहिरोले अवरुद्ध भएको सडकमा पहिरो पन्छाएर सवारी साधन गुड्ने बनाउनेतर्फ आफूहरूले पहल गरिरहेको केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए ।

वर्षा लागेपछि बर्सेनि यहाँका ग्रामीण क्षेत्रका अधिकांश सडकमा सवारी साधन सञ्चालन गर्न कठिनाइ हुने भए पनि त्यसको समस्या समाधानका लागि कसैले पनि ठोस कदम नचालेको बडीकेदार गाउँपालिकाका स्थानीयवासी रोजबहादुर कलेलले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?