Comments Add Comment

दशैंदेखि छठसम्म हवाई भाडामा १० प्रतिशत छुट

२९ भदौ, काठमाडौं । आगामी १२ असोज २०७६ देखि १७ कात्तिकसम्म उड्ने जहाजमा यात्रुले १० प्रतिशत छुट पाउने भएका छन् । दशैंलाई लक्षित गर्दै वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) ले छुट दिने निर्णय लिएको हो ।

आयोनको आइतबार बसेको बैठकले नियमित उडान सञ्चालन गर्ने सबै वायुसेवा कम्पनीले काउन्टरबाटै टिकट खरीद गरे १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

‘टिकट आजै खरीद गरे पनि उड्ने दिन १२ असोजदेखि १७ कात्तिकभित्र पर्नु पर्‍यो, टिकटमा १० प्रतिशत छुट पाइन्छ,’ आयोनका सदस्य प्रज्ववल थापाले भने । १२ असोज देखि १७ कात्तिकसम्म दशै‌, तिहार, छठलगायतका चाड पर्छन् ।

बिमानस्थल कर र इन्धनको मूल्यमा बाहेक बायुसेवा कम्पनीले लिने भाडामा छुट दिन लागिएको आयोनका अध्यक्ष क्या. रामेश्वर थापाको भनाइ छ । पछिल्लो समय वायुसेवा कम्पनीहरुले निरन्तर जहाज थप गर्दै गएका कारण दशैं, तिहार तथा छठ पर्वसम्म पनि आवश्यकता अनुसार हवाई टिकट उपलब्ध हुने कम्पनीहरुको बताएका छन् ।

‘जहाजको टिकट लिँदा ट्राभल एजेन्सी तथा अन्य माध्यमबाट छुट नपाइन सक्छ, त्यसकारण काउन्टरबाटै टिकट काट्न आग्रह गरिएको हो,’ सदस्य प्रज्वल थापाले भने ।

विगतका दशैंमा यसबेला सबै कम्पनीको उडानका टिकट सकिन्थे, अहिले भने नियमित उडानका टिकटसमेत बुकिङ हुने क्रम जारी छ ।

यसबाहेक कम्पनीहरुले दशैं–तिहारमा बढी चाप हुने समयमा अतिरिक्त उडान थपेर पनि टिकट काट्ने गर्छन् । यात्रुको माग अनुसार उडान थपघट हुने थापाले बताए ।

‘विगतमा झैँ टिकट पाउन मारामार हुँदैन,’ उनले भने, ‘फूलपातीदेखि दशमीसम्म काठमाडौंबाट बाहिर जाने र एकादशीदेखि २/३ दिनसम्म काठमाडौं आउने उडान अलि चाप हुन्छ ।’

दशैंको मुख पारेर श्री एयरलाइन्सले दुई र बुद्ध तथा यति एयरलाइन्सले एक/एक जहाज यसै वर्ष थपेका छन् । ती चारवटै जहाज ७० सीटभन्दा माथिका ठूला जहाज हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment