Comments Add Comment

कांग्रेसले नेकपालाई भन्योः वैवाहिक अंगीकृत नागरिकतालाई नचलाऔं

२९ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित सत्तारुढ नेेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुलाई भेटेर वैवाहिक अंगीकृत नागरिकतामा २०६३ कै व्यवस्थालाई कायम राख्न माग गरेको छ ।

राज्य व्यवस्था समितिले वैवाहिक अंगीकृत नागरिकताबारे सहमति जुटाउने जिम्मा शीर्ष नेताहरुलाई दिएको भोलिपल्ट पुगेका कांग्रेस नेताहरु बालुवाटार पुगेका हुन् ।
उनीहरुले नागरिकता ऐन २०६३ मा भएको व्यवस्थालाई नै निरन्तरता दिनुपर्ने बताएका हुन् ।

जवाफमा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे आफ्नो दलमा छलफल गर्न बाँकी प्रतिक्रिया दिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

समितिमा विदेशी बुहारीलाई सुरुमा परिचयपत्र दिने र बिहेको सात वर्षपछि तथा विदेशी ज्वाइँलाई १५ वर्षपछि नेपाली नागरिकता दिने प्रस्ताव विचाराधीन छ । सरकारले सुरुमा ल्याएको विधेयकमा भने नेपाली नागरिकता प्राप्त गरेको ६ महिनाभित्र विदेशी नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएको भए त्यागेको र नलिएको भए त्यसको निस्सा पेस गर्नुपर्ने, अन्यथा पहिले लिएको नागरिकता रद्ध हुने दुई प्रस्ताव विचाराधीन छ ।

सत्तारुढ नेकपाका सांसदहरु विदेशी बुहारीलाई ७ र ज्वाइँलाई १५ वर्षे सीमा राख्ने पक्षमा देखिएपछि कांग्रेसले समितिमा लिखित असहमति समेत राखेको छ ।

उसले भने नेपाल नागरिकता ऐन २०६३ मा भएको व्यवस्थालाई नचलाउने प्रस्ताव गरेको छ । नागरिकता ऐन २०६३ मा नेपाली नागरिक पुरुषसँग बिहे गर्ने विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकता लिन अर्को मुलुकको नागरिकता त्याग गर्ने कारबाही चलाएको निस्सा पेश गर्नुपर्ने व्यवस्था छ ।

प्रधानमन्त्री निवासमा झण्डै दुई घन्टासम्म चलेको छलफलमा कांग्रेस नेताहरुले संसदमा विचाराधीन विधेयकहरुबारे समेत चासो व्यक्त गरेका थिए । सरकारले बहुमतका आधारमा अगाडि बढ्न खोजे समस्या आउने उसको चेतावनी थियो । प्रधानमन्त्रीले भने प्रतिपक्षसँग सम्वाद गरेर अगाडि बढ्ने आश्वासन दिएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

बाँके घटनामा संलग्नलाई कारबाही हुन्छ

बैठकमा कांग्रेस नेताहरुले बाँके घटनाबारे पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् । जवाफमा प्रधानमन्त्रीले भने दोषीहरुलाई कारबाही गर्ने बताएका छन् ।

राष्ट्रिय जागरण अभियान अन्तरगत बाँकेको खजुरा-२ सीतापुरमा भएको कार्यक्रममा नेकपाका कार्यकर्ताले आक्रमण गर्दा जिल्ला सभापति किरण कोइरालाको हात भाँच्चिएको छ भने अरु केही घाइते भएका छन् । यो घटनाको विरोधमा कांग्रेसले आइतबार प्रतिनिधिसभा बैठक समेत अवरुद्ध गरेको थियो ।

वडाध्यक्षविरुद्ध कांग्रेस पार्टी र सभापति कोइरालाले दिएको जाहेरी दर्ता हुनुपर्ने कांग्रेसको माग छ । खजुरा २ का वडाध्यक्ष सुमन मल्लकै निर्देशनमा आक्रमण भएको भन्दै कांग्रेसले उनीविरुद्ध ज्यानमार्ने उद्योगको किटानी जाहेरी दिएको छ ।

विपक्षी नेताहरुसँग भएको भेटमा प्रधानमन्त्री ओलीले गणतन्त्र, संघीयता लगायतका परिर्वतनमाथि खतरा बढेको भन्दै दलहरुबीच एकतामा जोड दिएका थिए ।

तर कांग्रेस नेताहरुले भने सरकारप्रति तीव्र असन्तुष्टि रहेको भन्दै त्यसलाई गम्भीर रुपमा लिन आग्रह गरे । जनतामा रहेको असन्तुष्टिलाई हरेक प्रवृत्तिले आफ्नो अनुकुल प्रयोग गर्नुपर्ने भन्दै उनले सरकार जिम्मेवार हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment