
२९ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा आइतबारदेखि बाल हेल्पलाइन सञ्चालन आएको छ । वीरगञ्ज– ३ छपकैयामा वीरगञ्ज महानगरपलिका र आवर संसारको सहकार्यमा बाल हेल्पलाईन सञ्चालन गरिएको हो । सोही अवसरमा बाल हेल्पलाइनको पैसा नलाग्ने (टोल फ्री) नम्बर ०५१–५२०५३० पनि सार्वजनिक गरिएको थियो ।
बाल दिवसको अवसर पारेर सञ्चालनमा ल्याईएको बाल हेल्प लाईनको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले उद्घाटन गरे । नगर प्रमुख सरावगीले वीरगञ्जलाई बाल मैत्री नगर बनाउन बाल हेल्पलाईन सञ्चालनमा ल्याइएको बताए ।
‘वीरगञ्ज महानगरपालिकालाई बालमत्री नगर बनाउन हामीले काम गरिरहेका छौं, ३९ वटा सूचक मध्ये केहि मात्रै पुरा हुन बाँकी छ त्यही उद्देश्यलाई परिपूर्ति गर्न बाल हेल्पलाईन सञ्चालनमा ल्याएका हौं । ’ उनले भने ‘वीरगञ्जमा बाल श्रमिक थुप्रै छन्, बालबालिका माथि शोषण भईरहेको छ । उद्दार गरेर ल्याएपछि राख्ने ठाउँको अभाव थियो । बाल हेल्पलाईनले त्यसको अन्त्य गर्छ ।’
वीरगञ्ज महानगरपालिकाको सामाजिक महाशाखा प्रमुख अरुण महतोले हेल्प लाईन सञ्चालनमा आएपछि बाल श्रमिक तथा अन्य जोखिममा परेका बालबालिकालाई उद्दार गरेर राख्न सहज हुने बताए । आवस संसारका मुकेश साहले बालबालिकाको श्रम शोषण, बाल विवाह, वेचविखन वा बालबालिका दुर्घटनामा परेको वा पर्न लागेको अवस्थामा बाल हेल्प लाईनमा खबर गर्न सकिने बताए ।
आवर संसारले वीरगञ्जको परवानीपुरमा अनाथ बालबालिका राख्ने आवास गृह सञ्चालन गरिरहेको छ । ३० जना राख्न सक्ने आवास गृहमा अहिले १६ जना राखिएको छ । २४ जनालाई अभिभावक खोजेर जिम्मा लगाईसकिएको संस्थाले जनाएको छ ।
प्रतिक्रिया 4