Comments Add Comment

साउदी आक्रमणका कारण कच्चा तेलको मूल्य बढ्यो

३० भदौ, काठमाडौं । साउदी अरबको सरकारी स्वामित्वका दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ । साथै विश्वभर तेल आपूर्ति पाँच प्रतिशतले घटेको छ ।

साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानका अनुसार हुथी विद्रोहीहरुले गरेको आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेलले कमी आएको छ । यो परिमाण साउदी अरबले गर्ने कुल तेल उत्पादनको झन्डै आधा हो ।

उत्पादन कटौती भएसँगै ब्रेन्ट कच्चा तेलको मूल्य १९ प्रतिशतले र बेस्ट टेक्सस इन्टरमिडिएट भनिने अर्को कच्चा तेलको मूल्य १५ प्रतिशतले बढेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यद्यपि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा सञ्चित तेल वितरणको अनुमति दिएपछि बढेको मूल्य केही घटेको बताइएको छ ।

साउदी अरब संसारको सबैभन्दा ठूलो तेल निर्यातकर्ता मुलुक हो । उसले दैनिक ७० लाख ब्यारलभन्दा बढी तेल निर्यात गर्दछ । साउदी अरबले पूर्ववत रुपमा तेल उत्पादन गर्न र निर्यात गर्न हप्तौं लाग्नसक्ने अनुमान विश्लेषकहरुले गरेका छन् । तेल उत्पादन र निर्यात सामान्य अवस्थामा नफर्किए नेपाल पनि प्रभावित हुन्छ ।

शनिबार साउदी अरबका अब्काइक र कुरिस प्रशोधन केन्द्रमा ड्रोन आक्रमणका कारण आगलागी भएको थियो । अब्काइक संसारकै सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र हो ।

आक्रमणको जिम्मा हुथी विद्रोहीले लिएको छ । विद्रोही समूहका एक प्रवक्ताले आक्रमणमा १० वटा ड्रोन प्रयोग गरिएको बताएका छन् ।

अमेरिकी आरोप र खण्डन

अमेरिकाले साउदी अरबमा भएको ड्रोन आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाएको छ । ड्रोन आक्रमण यमनबाट भएको भन्ने कुनै प्रमाण नभेटिएको दाबी गर्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ट्वीट गरेका थिए ।

इरानले भने अमेरिकी आरोपको खण्डन गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले अमेरिकाले लगाएको आरोप असत्य र अर्थहीन भएको बताएका छन् । इस्लामिक मुलुक इरानविरुद्ध आक्रमण गर्न अमेरिकाले पृष्ठभूमि तयार पार्न खोजेको इरानको आशंका छ ।

यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरुले आक्रमणकारीलाई चिनेको भन्दै साउदी अरबको निर्णयको प्रतीक्षा गरिरहेको बताएका छन् ।

प्रतिशोध

साउदी गठबन्धनले हुथी विद्रोहीलाई लक्षित गरी हवाई आक्रमण गरेको प्रतिशोध स्वरुप केही महिनायता साउदी अरबका तेलकुवा र कारखानाहरुमा ड्रोनबाट आक्रमण तीब्र भएको छ ।

साउदी अरबले सन् २०१५ देखि नै यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई समर्थन गर्दै हुथी विद्रोहीविरुद्ध हवाई आक्रमण गर्दै आएको छ । यस आक्रमणबाट यमनमा ठूलो जनधनको क्षति हुनुका साथै मानवीय संकट उत्पन्न भएको छ । इरान समर्थित हुथी विद्रोहीहरुले हाल यमनको राजधानी सानासहित अधिकांश क्षेत्रमा नियन्त्रण कायम गरेका छन् ।

राष्ट्रसंघका अनुसन्धाताहरुका अनुसार हुथी विद्रोहीसँग रहेका ड्रोनले एक हजार पाँच सय किलोमिटर दूरीसम्म यात्रा गर्न सक्छन् । यी ड्रोनबाट यमनका छिमेकी मुलुकहरु साउदी अरब र यूएईसम्म सहजै प्रहार गर्न सकिने राष्ट्रसंघको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment