Comments Add Comment

आइफोनको ट्रिपल क्यामरासँग किन डराउँदै छन् केही मानिस ?

हुन त आफ्ना प्रोडक्टको गज्जब डिजाइनका लागि एप्पल अग्रस्थानमै छ । हालै लञ्च भएको नयाँ आइफोन ११ को डिजाइन तथा लुक्स पनि निकै आकर्षक रहेको छ ।

तर केही मानिसहरुलाई आइफोन ११ मा राखिएका ट्रिपल क्यामराको डिजाइन खासै रुचेको छैन । आइफोनको ट्रिपल क्यामरा सेटअप मन नपराउने मध्ये अधिकांश मानिस ट्राइपोफोयिबा नामक रोगबाट ग्रसित रहेका छन् ।

वास्तवमा ट्राइपो फोबिया एक प्रकारको डर हो । जसमा स–साना छिद्र तथा आयातले बनेका ज्यामितीय प्याटर्न अर्थात् ढाँचासँग मानिसलाई डर लाग्दछ ।

यही कारण आइफोन ११ को ट्रिपल क्यामराको डिजाइनले पनि केही मानिसलाई समस्यामा पारिरहेको छ ।

ट्राइपोफोबियाको सबैभन्दा गतिलो उदाहरण कमलको फूलसँग लाग्ने डर हो । कतिपय मानिसहरु कमलको फूलमा हुने स साना छिद्रहरु जुन खास प्याटर्नमा हुन्छन्, त्यससँग डराउँछन् । छिद्रको त्यो प्याटर्नले ट्राइपोफोबियाबाट पीडित मानिसलाई समस्यामा पार्दछ ।

त्यस्तै केही मानिसहरुलाई माहुरीको चाकाका प्वालहरुको प्याटर्नसँग पनि डर लाग्दछ ।

प्राध्यापक अर्नोल्ड विल्किंस तथा डाक्टर जिओफ कोल एसेक्स युनिभर्सिटीमा शोधकर्ता हुन् । उनीहरुका अनुसार कुनै खास प्याटर्नसँग डराउनु वा मन नपर्नु हाम्रो सरीरको एक खाले रक्षात्मक प्रतिक्रिया हो ।

कतिपय मानिसहरुलाई यस्तै प्याटर्नयुक्त शरीर भएका माकुरा, सर्प तथा विच्छी देख्दा पनि डर लाग्दछ । खतरनाक जनावर मात्र होइन उनीहरुलाई यस्तै प्याटर्नयुक्त सामान्य चिजहरू देख्दा पनि डर पैदा हुन्छ ।

यद्यपि, यस्तो डरलाई चिकित्सकीय हिसाबले पहिचान गर्न सकिँदैन र यसलाई प्याटर्न फोबिया पनि भनिन्छ ।

यो पटक लञ्च भएका आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्सको सबैभन्दा विशेष फिचर भनेकै यसको ट्रिपल क्यामरा हो । यी क्यामराबाट एकैपटकमा धेरै भिडियोहरु खिच्न सकिन्छ । आइफोन ११ को प्रो मोडेलमा टेलिफोटो, वाइड तथा अल्ट्रावाइड क्यामरा पनि रहेको छ । यसका साथै यसमा नाइड मोडकाा लागि अलग्गै अप्सन छ, जसको सहयोगले कम प्रकाशमा पनि राम्रो तस्वीर खिच्न सकिन्छ ।

तर आइफोन ११ का यी तमाम गज्जब फिचरहरु केही मान्छेका लागि डरलाग्दो सपना जस्तै छन् । जो मानिसहरु छिद्रको प्याटर्नसँग डराउँदछन् अर्थात् ट्राइपोफोबियाबाट ग्रसित छन् ।

यी मानिसहरुलाई आइफोनको ट्रिपल क्यामरा डिजाइन देखेर वान्ता आउला जस्तो हुने गरेको तथा मुटुको धड्कन बढ्नुका साथै रिंगटा समेत लाग्ने गरेको छ ।

यही कारण केही मानिसहरुले आइफोन ११ खरीद नगर्ने फैसला गरेका छन् । सोसल मिडियामा यस विषयमा धेरै मानिसहरुले प्रतिक्रिया दिइरहेका छन् र नयाँ आइफोनको ब्याक साइडमा रहेका तीनवटा क्यामरा देख्दा आफुलाई अप्ठेरो महसुस हुने गरेको बताइरहेका छन् । कतिपय मानिसहरुले त आइफोन ११ यस्तो हुँदा आइफोन १५ आउँदा कस्तो होला ? भनी काल्पनिक तस्वीरहरु पनि ट्वीटरमा पोष्ट गरेका छन् जसमा आइफोनको पछाडिको भागमा क्यामरै क्यामरा रहेका छन् ।

आइफोनका अघिल्ला डिजाइनहरुमा एकमात्र ब्याक क्यामरा रहेकोमा पछिल्ला आइफोनमा खास ढाँचामा राखिएका तीनवटा ब्याक क्यामरा हुँदा ट्राइपोफोबियाग्रस्त मानिसहरु अप्ठेरोमा परेका हुन् । नयाँ आइफोनमा ट्रिपल क्यामरा डिजाइन गर्ने बेलामा एप्पलले सायद आफ्ना प्रयोगकर्ताले यस्तो समस्या भोग्नुपर्ला भनेर सोँचेको थिएन ।

विज्ञका अनुसार हामीहरु सबैजना कुनै न कुनै किसिमको तथा स्तरको ट्राइपोफोबियाको सिकार हुन्छौँ । हामीले त्यसलाई कति सहन गर्न सक्दछौँ भन्ने कुरामा हाम्रो डर निर्भर गर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment