Comments Add Comment

कर्मचारीमा दोषारोपणको डंगुर

‘सक्षम निजामती प्रशासनः विकास, समृद्धि र सुशासन’ को नारा होस् वा ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय सोच । मनभरी विचारको हुरी चल्छ । प्यारो देशलाई कसरी रहरलाग्दो मुलुक बनाउन सकिन्छ । नेपालको म पनि एक सरकारी कर्मचारी हुँ । सर्वप्रथम, म आफैंबाट शुरू गर्छु ।

हो, हामी कर्मचारी पनि निकै आरोपित छौं । खुबै मेहनत गरेर खाएको जागिरसम्मको सम्मान गर्न जानिएन कि ? स्वार्थी बनेर राजनीतिक संरक्षण खोज्ने परम्परा पो बन्न पुग्छ कि ? सबैले त किन यसो गर्थे, तर धेरैले गर्छौं । गर्नु र नगर्नुका तर्क र कारण हुन सक्लान् । ठीक–बेठीकको कुरा नगरौं । सानाले ठूलो र एकले अर्कोतर्फ इशारा गर्छौं । यस्तो लाग्छ, राजनीति र प्रशासन आज दोषारोपणको दुश्चक्रमा परेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लेख्छन् ‘कुनै पनि राजनेता र कर्मचारी निदाएर तलब खान चाहँदैन । उसले निकै मेहनत गरेर त्यहाँ पुगेको हुन्छ ।’ नेता होस् वा कर्मचारी, ऊ विशेष हुनुपर्छ, उसको तौरतरिका विशेष हुन्छ र सेवामा यस्तो क्षमता परावर्तन हुनुपर्छ । जागरूक नागरिकले उसलाई कदापि कमजोर पर्न र गलत गर्न पनि सघाउनु हुँदैन । उनीहरू सम्मानयोग्य हुनुपर्दछ र अझ इमान्दारको ज्यादा सम्मान हुनुपर्दछ । मुलुकको अनुशासन पद्दतिमा त्यहाँका जनप्रतिनिधि र कर्मचारीको प्रत्यक्ष परोक्ष साथ, समर्थन र सहकार्य रहन्छ ।

यो पनि पढ्नुहोस निजामती सेवाभन्दा साहित्य सेवा ठूलो
आज शक्तिमा हुनेहरू किन आँखा नदेख्ने भएका होलान् ? समयले कसलाई छाडेको छ र ? राजतन्त्र त इतिहास बनेको मुलुकमा किन नचेतेका होलान् ? रोपेकै फल्छ, भन्ने तथ्य किन बोध नगरेका होलान् ? आश्चर्य लाग्छ । आफैं ठगिने व्यापार कहिलेसम्म र केका लागि ?

आजको नेपालमा अनुशासन पद्दतिका बारेमा भनेर र लेखेर साध्य छैन । न्यूनतम मूल्य र मान्यताहरू क्षयीकरण भएका छन् । बजारको अनुगमन र नियन्त्रण पटक्कै विश्वसनीय छैन । खासगरी दशैं र तिहारमा अझ मौलाउँछ यो वदमासी । ट्याक्सी चालकहरू मिटरमा गुड्न हिच्किचाउँछन् । मिठाई पसलेले पेट्रोल बेचिदिन्छ । तरकारी पसलेले मद्यपान बेच्छ । सुन व्यापारीहरूको कुरा उस्तै छ । पसलेहरू बिल काट्न रूचि गर्दैनन् । पसलमा विल माग्नु मानौं, असन्तुष्टिको प्रमाणपत्र हो । राजश्व प्रशासन पनि अजिब छ । बील–बिजक काट्न नजान्नेप्रति जति कठोर छ, नकाट्नेसँग बरू उति कठोर देखिँदैन, राजश्व प्रशासन ।

यस्तो लाग्छ, शासन र प्रशासन यस मामिलामा बेखबर छ । के ग्राहक, के व्यापारी, कर्मचारी र के राजनेता । हामीहरू किन यति बिघ्न हतारमा छौं ? स्वस्थ बजारको घाँटी रेट्न हामी सबै उद्दत छौ । यसबाट हामी आम नागरिक कोही पनि अछुतो छैनौं । कहलिएका समितिहरू कानूनभन्दा धेरै माथी छन् । आफूखुशी गर्न नपाउँदा जुनसुकै बखत आन्दोलन घोषणा हुन्छ । कानून त कुरै छाडौं, कसैलाई नटेर्ने दुष्चक्रतर्फ समाज उन्मूख छ । कसैले कसैलाई नमान्ने गरी सभ्यता मजाक बन्दैछ । नैतिकता र सदाचारका कुरै नगरौं, समाजमा दण्डहीनता बढेको अनुभूति हुन्छ । नजानिदो किसिमले हामी आफैंले रचेको दुश्चक्रको शिकार आफैं हुनु परेको छ । पद्दतिमा आधारित कार्यसंस्कृतिको अभावमा देश हारेको र भविष्य गुमेको चालै नपाउने अवस्थामा पुग्न नदिन सचेत र जागृत हुनुपरेको छ ।

स्वदेश र विदेशमा हाम्रा धेरै आफन्त र साथीहरू छन् । उनीहरू दिनहुँ पद्दतिको कुरा गर्छन् । मुस्कानसहित राष्ट्र सेवामा समर्पित राजनेता र कर्मचारीका आदर्श व्यवहारका कुरा गर्छन् । सार्वजनिक सेवा प्रवाह उम्दा र प्रभावशाली रहेको कुरा सामाजिक सन्जालमा शेयर गर्छन् । यस्तो अनुभव धेरै नेपालीले देखेभोगेका पनि छन् । आफ्नो मातृभूमि नेपाल उस्तै वा अझ उन्नत होस् यस्तो उनीहरूको चाहना छ । नेपालमा पनि समान ढंगले लागू हुने गरी विधिको शासन कायम होस् र मुलुकको समृद्धिको कामनासहित गुनासो गर्छन् । सामाजिक सन्जाल वा यस्तै अवसरमा केहीजसोले देशका बारेमा मर्मस्पर्शी लेख्छन् । कसैले चिमोटेर त कसैले दुखेसो पोखेर, तर लेख्छन् । सबैका आ–आफ्नै अवस्था अनुभव, शैली र तरिका छन् ।

अशोककुमार क्षेत्री

विडम्वना नै भन्नुपर्ला, हाम्रोमा हरेक कुराको केन्द्र राजनीति बनाइयो । दोषारोपणको डुंगुर कर्मचारीमा थोपरियो । अन्यथा अर्थ नलागोस् । समाजको मनोविज्ञान खोतल्दा यस्तो लाग्छ, विद्यमान राजनीति र कर्मचारी अर्थनीतिको वरपर घुमिरहेको छ । पत्रपत्रिकाका हेडलाइनमा जनप्रतिनिधिले नाम र दाम दुवै कमाउन खोजे । स्थानीय जनप्रतिनिधि ठेकेदारीमा परिणत हुँदैछन् । यसरी नै कार्यकर्ता र कर्मचारीले पनि सिके । आजको मान्छे यान्त्रिक, वैयक्तिक र ध्रुवीकृत हुँदै गयो ।

बालकृष्ण समको ‘इच्छा’ कवितामाझैं मृत्युवरणका लागिमात्र त्यो सुन्दर देश नेपाल जाने नियति बोकेका संसारभरका नेपालीहरू विहानैको चियासँगै नेपालकै समाचार र नेपाली अनलाइनको अम्मली छन् । सामाजिक सन्जाल र टेलिफोनमा अधिकांश साथीहरू पनि नेपालकै हुँदारहेछन् । नेपाली नागरिकता त्यागेकाले पनि इच्छा कवितामाझैं मृत्युवरणको देश नेपाल ठानेको छ । नितान्त गाउँघरकै सपना देख्छ र हरेक नयाँ बिहान फेरि नेपाली भएर ब्यूँझन्छ । कसैगरी माया मार्न नसकिने देश नेपाल । सुन्दर, शान्त र प्यारो नेपाल हेर्ने साझा रहर सम्भव छ ।

मुलुकमा पाइलैपिच्छे ठगिनुपर्ने नियतिलाई ठीक गर्न नसकिने होइन, सकिन्छ । पद्दतिको विकास र कानूनको शासन यसको एक मात्र उपाय हो । कानूनभन्दा माथी हुने अजिब रहरलाई निस्तेज पार्नुपर्छ । तर, बिरालाको घाँटीमा घण्टी कसले बाँध्ने ? कसले र किन शुरु गर्ने ? यक्ष प्रश्न यही हो । सम्माननीय, माननीय हुँदै क्रमशः उच्चपदस्थ राजनेता, कर्मचारी नागरिक समाजका अगुवा र आम नागरिकमा कानून एक नासले लागू गर्नुपर्छ ।

कानूनको शासनको सार भनेकै मुलुकको सर्वांगीण विकास, समृद्धि र सुशासन हो । आर्दश राजनीति अर्थात् सरकारको आधार पनि सुधारिएको सक्षम निजामती प्रशासन नै हो

राज्य सञ्चालन वा कार्यान्वयनमा मेरो फलानो छ, भनेर गौरव गर्नु अलग र वैयक्तिक कुरा हो । तर, अपराधका लागि टेन्सन लिनु पर्दैन भन्दै उक्साउनेहरूले राजनीति, अपराध र भ्रष्टाचारलाई नचिन्ने बनाइदिएका छन् । यथार्थमा देशमा आगो झोसिरहेका हुन्छन् । आज शक्तिमा हुनेहरू किन आँखा नदेख्ने भएका होलान् ? समयले कसलाई छाडेको छ र ? राजतन्त्र त इतिहास बनेको मुलुकमा किन नचेतेका होलान् ? रोपेकै फल्छ, भन्ने तथ्य किन बोध नगरेका होलान् ? आश्चर्य लाग्छ । आफैं ठगिने व्यापार कहिलेसम्म र केका लागि ? लालफित्ताधारी जस्ता प्रश्नले घोचिरहन्छ ।

संसार साघुँरिएको छ । इन्टरनेटको सन्जाल र प्रविधिले कमाल गरेको छ । पद्दतिको विकासमा संसार लागिपरेको छ । आफ्नो देश किन यसै छाडिदिएको ? पक्कै पनि मर्ने बेलासम्म कसैले त सोध्ने छ । संभवत, यो प्रश्न नयाँ पुस्ताले सोधेरै छाड्ने छ । आफ्नै सन्तानसँग झूठ बोल्न हामीलाई कठिन हुनेछ । उनीहरूको चित्त बुझाउन सजिलो हुने छैन । सबै नेपालीका लागि यो साझा सवाल हो । म नेपाली होइन भन्न निकै कठोर मुटु चाहिन्छ । यस्तो विचार बटुलेका केही मित्र (एलियन) हरू पनि निकै छिटो गलेको देखेको छु । राउटेहरू किन जंगलमा नै रम्छन्, यो जटिल सवाल थियो मेरालागि । धन, सम्पत्ति र सांसारिक वैभवभन्दा धेरै अलग हुँदोरहेछ आफ्नोपना । खासगरी देश, राष्ट्रसेवाको सिन्दुर र भाषा ।

निजामती सेवामा कार्यरत कर्मचारी मात्रैले होइन, हरेक सक्षम नेपालीको साझा योगदानबाट समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय सोच सम्भव छ । योग्यतामा आधारित नेपालको कर्मचारीतन्त्र भन्दैमा त्यसै सक्षम हुँदैन । हरसमय समक्षताको परीक्षा दिइरहन र सर्वोत्कृष्ठ भइरहन सक्नुपर्दछ । हरेक सम्भावनाहरू यहाँ आफैंले श्रृजना गर्नुपर्ने भएको छ ।

मुलुकमा पाइलैपिच्छे ठगिनुपर्ने नियतिलाई ठीक गर्न नसकिने होइन, सकिन्छ । पद्दतिको विकास र कानूनको शासन यसको एक मात्र उपाय हो

राजनीति र प्रशासन यही राष्ट्रप्रेम र जनसेवाप्रतिको जिम्मेवारीवोध र संकल्प पनि हो । सार्वभौम नागरिकको सेवामा निजामती प्रशासन सक्षम र निर्विकल्प छ भन्ने मान्यता र परम्परामा टेकेर २०१३ देखि हरेक वर्ष नेपालमा पनि योग्यतामा आधारित निजामती प्रशासन प्रारम्भ र परिमार्जित हुँदै आएको छ । संसारको कुनै पनि शासन व्यवस्था त्यहाँको कर्मचारीतन्त्र भन्दा पृथक हुन सक्दैन । संवय र समुन्नत राज्य र सरकारले आफ्नो निजामती सेवाको मर्यादा, रवाफ र जवाफदेहिता अभिवृद्धि गर्दै आएका छन् ।

संसारमा विकसित मुलुकहरू आफ्ना नागरिकले मायाले बनाएका हुन् । दुनियाँमा घृणाले देश विकास गर्न सकिँदैन । आपसी प्रेम र समभावले नै अपनत्व जागृत हुने हो । रोजगारी, मेहनत र आयश्रोतले स्वाभिमानको कसी लाग्छ । हाम्रो नयाँ पुस्ता लोभलाग्दो छ । जनसंख्याको ठूलो प्रतिशत युवा जनशक्ति छ । यो इतिहास निर्माण गर्ने विरलै अवसर हो । उनीहरू अवसरको खोजीमा छन् । उनीहरू हाम्रा भविश्य हुन् ।

यो पनि पढ्नुहोस ‘निजामती कर्मचारी श्रमिक हुन् भने मालिक को ?’

कृपया, सबै नेता र कर्मचारीहरू भ्रष्ट छैनन् । धेरैले देखासिकी गरेका भने पक्कै हो । राज्यले दिएको तलब र पूर्जाको सम्पत्ति तुलना गर्न सकिन्छ । श्रोत खुलाऊ भन्न सकिन्छ । पद्दति बसाउनु ठूलो कुरा छ । हाम्रो घर, परिवार, समाज र देश सानो छ । समाजमा कसको कति थियो र आज उसको के, कति र कसरी छ ? सबै कुरा घाम जत्तिकै छ ।

मिडिया जादुई छ । भ्रष्टाचारलाई नाङ्गेझार पार्न रत्तिभर लाग्नेछैन । पद्दतिको विकास भनेकै कानूनको शासन हो । कानूनको शासनको सार भनेकै मुलुकको सर्वांगीण विकास, समृद्धि र सुशासन हो । आर्दश राजनीति अर्थात सरकारको आधार पनि सुधारिएको सक्षम निजामती प्रशासन नै हो ।

(क्षेत्री सर्वोच्च अदालतका डेपुटी रजिष्ट्रार हुन्)

यो पनि पढ्नुहोस निजामती सेवा दिवसले के दियो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment