Comments Add Comment

मोदीको ८ सयको गम्छा ११ करोडमा बिक्यो ?

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उपहारमा पाएको ५ सय भारु मूल्य पर्ने गम्छा ११ करोड भारुमा लिलामी भएको छ । लिलामीमा प्राप्त उक्त रकमलाई भारतको प्रधानमन्त्री राहत कोषमा दान दिइएको छ ।

दक्षिणपन्थी रुझानका सयौँ फेसबुक तथा ट्वीटर प्रयोगकर्ताले यो दाबीसँगै केही तस्वीर र भिडियोसमेत पोष्ट गर्दै मोदीलाई ‘अवतार पुरुष’को उपमा दिएका छन् । यस विषयमा ह्वाट्सएपमा समेत सन्देश भाइरल बनिरहेको छ ।

समाचारअनुसार नयाँदिल्लीस्थित राष्ट्रिय आधुनिक कला संग्रहालयमा पछिल्लो एक वर्षमा मोदीलाई प्राप्त विभिन्न २७ सय ७२ थरीका उपहारहरुको प्रदर्शनी चलिरहेको छ र इन्टरनेटको माध्यमबाट यी वस्तुहरुको लिलामीसमेत चलिरहेको छ । प्रदर्शनीमा राखिएका वस्तुहरुमा चित्रकला, स्मृति चिह्न, मूर्ति, पछ्यौरा, पगरी, ज्याकेट, परम्परागत वाद्ययन्त्र लगायतका छन् । जसको सुरुवाती मूल्य २ सय भारुदेखि अढाई लाखसम्म तोकिएको छ ।

तर सोसल मिडियामा चाहिँ मोदीको ५ सय भारुको गम्छा ११ करोड भारुमा बिकेको हल्ला चलिरहेको छ ।

उता भारतको संस्कृति मन्त्रालयले भने त्यस्तो हल्लामा सत्यता नभएको जनाएको छ । अहिलेसम्म कुनैपनि सामान ११ करोड भारुमा नबिकेको मन्त्रालयले प्रष्ट पारेको छ ।

अहिलेसम्म सबैभन्दा धेरैमा बिकेको भनेको एउटा कलश रहेछ । जुन एक करोड तीन सय भारुमा लिलामी भएको छ । गुजरातका मुख्यमन्त्रीले उक्त चाँदीको कलश मोदीलाई उपहार दिएका थिए । त्यसको न्यूनतम मूल्य १८ हजार तोकिएको थियो ।

अहिलेसम्म सबैभन्दा महंगो मूल्यमा बिकेको गम्छाचाहिँ एउटा सुन्तला रङको गम्छा हो, जसको मूल्य ६० हजार परेको थियो ।

अधिकारीहरुका अनुसार प्राविधिक गडबडीका कारण केही समय उक्त प्रदर्शनी लिलामीको वेबसाइटमा एउटा गम्छाको मूल्य ११ करोड भारु देखिएको र त्यसैलाई केही सञ्चार माध्यमले समाचार बनाउँदा सोसल मिडियामा हल्ला फैलिएको हो ।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment